उपाध्यक्ष कप भलिबलको उपाधि वडा ३ को कब्जामा

साझाकुरा
२०८३ असार ८, सोमबार १०:५७

हेटौंडा- गतवर्षको साविक विजेता वडा नं. ५ लाई हराउँदै वडा नं. ३ ले चौथो उपाध्यक्ष कप रनिङ शिल्डको उपाधि कब्बा गरेको छ । आइतबार भएको फाइनल खेलमा वडा नं. ३ ले वडा नं. ५ लाई २५–१२, २२–२५, २५–२३, २५–२१ सेटले पराजित गर्दै उपाधि हात पारेको हो । खेलकुद विकास समितिका अध्यक्ष मोहन वाईबाको अध्यक्षतामा भएको फाइनल खेलमा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष बालकुमार मल्ल ठकुरीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा सात विधामा खेलाडीलाई पुरस्कृत गरिएको थियो । जसमा उत्कृष्ट प्रशिक्षकमा वडा ३ का श्रीराम महर्जन, उत्कृष्ट खेलाडीमा वडा ३ का नवराज मुक्तान, उत्कृष्ट ब्लकर वडा ५ का हीरा लो, उत्कृष्ट स्पाईकर वडा ३ का नवीन रिजाल, उत्कृष्ट डिफेन्डर वडा ५ का विजय तामाङ, उत्कृष्ट सेटर वडा ५ का गोविन्द मुक्तान र उदयमान खेलाडीमा वडा ८ का विधान थिङलाई पुरस्कृत गरिएको थियो ।

कैलाश–३ भवानी माध्यमिक विद्यालयको खेलमैदानमा भएको प्रतियोगितामा विजेताले ७५ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र, उपविजेता ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा ९ वटा वडाको सहभागीता रहेको समितिका अध्यक्ष मोहन वाइबाले बताए । भलिबल खेल पहिलोचरणमा लिग र दोस्रोचरणदेखि नकआउटमा खेलाइएको थियो । गाउँपालिका अध्यक्ष मुक्तानले गाउँपालिकाले खेलकुद स्वास्थ्य, अनुशासित र सक्षम समाज निर्माणको महत्वपूर्ण आधार रहेकाले यसलाई मध्यनजर गर्दै गाउँपालिकाले खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर विभिन्न खेलकुदका कार्यक्रम तथा पूर्वाधार निर्माणका कार्य गरिरहेको बताए । गाउँपालिकाभित्र रहेका खेलमैदानको स्तरोन्नति, नयाँ खेलपूर्वाधार निर्माण, विद्यालयस्तरीय तथा पालिकास्तरीय खेलकुद प्रतियोगिताको आयोजना, खेलसामग्री वितरण तथा प्रतिभावान खेलाडीको प्रोत्साहनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको अध्यक्ष मुक्तानले बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मल्लले युवालाई खेलकुदमार्फत् सकारात्मक गतिविधिमा संलग्न गराउने उद्देश्यले गाउँपालिकाले विभिन्न खेलविधाको विकास र विस्तारमा विशेष ध्यान दिइएको बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सीताकुमारी खत्री, वडा १ का वडाध्यक्ष तेज ब्लोन, २ का वडाध्यक्ष राजेन्द्र तामाङ घिसिङ, ३ का वडाध्यक्ष देवलाल बल, ७ का वडाध्यक्ष उदासकुमार भोलन, ८ का वडाध्यक्ष आशिष प्रजा, ९ का वडाध्यक्ष भुवनसिं घलान, कार्यपालिका सदस्य गोरीमाया भुलुन, गाउँपालिका वरिष्ठ लेखाअधिकृत टीकाराम अधिकारी, भलिबलका राष्ट्रिय रेफ्री विनोद श्रेष्ठ, भवानी माविका प्रअ बालचन्द्र मल्ललगायतको अतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*