हेटौंडामा स्वीप अपरेशनमार्फ्त ३ जना खैरो हेरोइनसहित पक्राउ
हेटौंडा- मकवानपुर प्रहरीले स्वीप अपरेशन मार्फत् हेटौंडामा ३ जनालाई खैरोहेरोइनसहित पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको विशेषटोलीले लागूऔषध बिक्री तथा कारोबार भइरहेको सूचनाका आधारमा शनिबार हेटौंडाका विभिन्न स्थानमा अपरेशन सञ्चालन गरेको थियो । प्रहरीकाअनुसार हेटौंडा उपमहानगरपालिका–४ नारायणीमल नजिकको भित्री गल्लीबाट शनिबार दिउँसो करिब १ बजे हेटौंडा–१ पानसुके चोकमा डेरा गरी बस्ने १८ वर्षीय अशोक गुरुङलाई पक्राउ गरिएको हो । उनको साथबाट खैरोहेरोइन ५२० मिलिग्राम धुलोपदार्थ र नगद ९ हजार ६ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी शनिबार दिउँसो करिब १ः४० बजे हेटौंडा–४ मा डेरा गरी बस्ने ४६ वर्षीय रामजी बानियाँको कोठामा गरिएको खानतलासीका क्रममा खैरोहेरोइन १२ ग्राम ३८० मिलिग्राम धुलोपदार्थ तथा नगद १२ हजार ६ सय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । शनिबार साँझ करिब ७ बजे हेटौंडा–५ पिप्लेक्षेत्रबाट सोहीस्थानमा डेरा गरी बस्ने २४ वर्षीया अन्जली तामाङ उर्फ क्रान्तीदेवी घलानलाई पक्राउ गरिएको छ । उनको साथबाट खैरोहेरोइन ५ ग्राम १७० मिलिग्राम र नगद ४ हजार ५ सय रुपैयाँ बरामद भएको छ ।पक्राउ परेका तीनै जनामाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिको पहिचान तथा खोजतलास कार्यसमेत जारी रहेको प्रहरीले जनाएको छ ।







