भैरबडाँडामा बाघ आतंक, स्थानीय त्रसित, रातभर गस्ती
हेटौंडा, १४ कात्तिक÷ हेटौंडा उपमहानगरपालिका–१ भैरबडाँडा क्षेत्रमा पाटे बाघले आतंक मच्चाएको छ । भैरबडाँडाबासी बाघको आतंकले त्रसित भएका छन् ।स्थानीय विनोद सापकोटाका अनुसार आइतबार दिउँसो बाघले दुई वटा बाख्रा खाएको थियो । स्थानीय नवराज तिमल्सिनाले पालेको बाख्रा बाघले खाएको सापकोटाले जानकारी दिए । ‘नवराज तिमल्सिनाको बाख्रा हरायो भनेर खोजी गर्दा हामीले प्रत्यक्ष पाटे बाघ देखेका हौं । बाघले थप क्षति पु¥याउने डरले हामीहरु चिन्तामा बसेका छौं’, सापकोटाले साझाकुरासँग भने । उनले आइतबार दिउँसो देखिएको पाटे बाघ सोमबार साँझसम्म पनि भैरबडाँडामा नै देखिएको जानकारी दिए । ‘सोमबार साँझ पनि बाघ देखियो । कहाँबाट आयो थाहा छैन । हामीलाई डर भयो’, त्रसित मुद्रामा सापकोटाले घटना सुनाए ।
आइतबार बाघले आतंक मच्चाएपछि भैरब डाँडाबासीले सामूहिकरुपमा रातभर गाउँमा गस्ती गरेको सापकोटा बताउँछन् । स्थानीयले बाघ नियन्त्रणमा लिईदिन जिल्ला वन कार्यालय मकवानपुरलाई खबर गरेका थिए । वनको टोलीले सोमबार बिहान गाउँमा खोजी गर्दा पनि बाघ नभेटिएको उनले सुनाए । बिहान नभेटिएको बाघ साँझ गाउँमै देखा परेको सापकोटाले बताए । ‘पाटे बाघ नै हो । मेरो आँखाले प्रत्यक्ष देखेको हो । यो बाघलाई तत्काल नियन्त्रणमा नलिए थप क्षति नहोला भन्न सकिन्न’, उनी बताउँछन् । हेटौंडा–१, स्थित पाथिभारा मन्दिर नजिक रहेको डाङडुङे सामुदायिक वनमा पाटे बाघ घुमिरहेको स्थानीयहरुले बताएका छन् ।
डाङडुङे सामुदायिक वनमा स्थानीयहरु घाँस, दाउरा गर्न आउने भएकाले थप खतरा बढेको छ । बाघ हिँडडुल गरिरहेको खबरपछि घाँस, दाउरा गर्न स्थानीयहरु वन जान छोडेको जनाइएको छ । सापकोटाका अनुसार पाटे बाघको माउ १ वटा र बच्चा बाघ २ वटा वस्तीमा छिरेको हो । बाघ विगतका वर्षमा पनि देखिने गरेको उनले बताए । सौराहबाट बाघ बस्तीसम्म आइपुगेको स्थानीयहरुको अनुमान छ । चितवनको सौराहदेखि हेटौंडासम्मै जंगल क्षेत्र रहेको छ । बाघ जतिबेला पनि बस्तीमा पस्न सक्ने भएकाले स्थानीयहरु सामूहिक रुपमा भेला भएर बसेको उनले बताए ।







