अझै रोकिएन सुमोको ठगी

साझाकुरा
२०७९ कार्तिक १९, शनिबार ०८:५३

हेटौंडा- हेटौंडा–काठमाडौं चल्ने टाटासुमोहरुले दीपावली र छठको मौका छोपेर खुलेआम यात्रुहरु ठगी गर्दै आइरहेको फेला परेको छ । हेटौंडाका नाम चलेका सुमो काउन्टरहरुले यात्रुहरुलाई ठगी गर्दै आएका हुन् । सुमोहरुले उपत्यकाबाट दीपावली र छठ मनाउन जिल्ला छिरेका यात्रुहरुलाई काठमाडौं जाने क्रममा मौका छोपेका हुन् । चाडपर्व अघि काठमाडौंबाट मकवानपुर आउने यात्रु बढी हुन्छन् भने चाडपर्व सकिएपछि काठमाडौं जाने बढी हुन्छन् । सुमोहरुले काठमाडौंबाट आउँदा र हेटौंडाबाट जाँदा यात्रुहरु ठगिँदै आइरहेका हुन् । सुमोहरुले कारबाहीबाट बच्न टिकटमा तोकिएकै भाडा दर कायम गर्ने र यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने गरेको तथ्य फेला परेको छ ।

हेटौंडाका सुमो काउन्टरहरुमा साझाकुराको टिम यात्रु बनेर पुगेको थियो । यात्रु बनेर पुग्दा उनीहरुले निर्धक्कसँग भाडा ६ सय ५० भए पनि १ हजार लिने गरेको बताएका छन् । साझाकुराको टिम यात्रु बनेर हेटौंडाको हरेराम हरेकुष्ण सुमो, हाम्रो सुमो सेवा, दक्षिणकाली दर्शन सुमो सेवा, बल्खु संयुक्त सुमो पार्क प्रालिमा पुगेको थियो । उनीहरुले दिनदहाडै यात्रुहरुसँग राज्यले तोकेको भन्दा ३ सय ५० रुपैयाँ बढी भाडा लिँदै आएको तथ्य फेला परेको हो ।साझाकुराले ‘स्टिङ अप्रेशन’गरेको सुमो काउन्टरहरुमध्ये ३ वटाले १ हजार भाडा लिने गरेको र एउटा सुमो काउन्टरले ८ सय ५० रुपैयाँ भाडा लिएको फेला परेको छ ।

‘उता (काठमाडौं)बाट दुई तीन जना बोकेर आउनु पर्छ, ६–७ सयमा त लगेको लग्यै हो भाइ’, बरु अन्तिम सिटमा राख्दिनु न भन्ने आग्रहपछि एक सुमो काउन्टरका कर्मचारीले भने, ‘अगाडि सिटमा बसेको २ हजार दिने हैन क्या रे । ९ सयमा पनि मिल्दैन । टूर जाने बेला लाष्ट सिट मन पर्छ काठमाडौं जाने बेलामा लाष्ट सिट मन पर्दैन’, हरेराम हरेकृष्ण सुमो काउन्टरका व्यक्तिले ६ सय ५० रेट हो तर, काठमाडौंबाट आउँदा मान्छे नपाउने भएकाले हेटौंडाबाट जाँदा ३ सय रेट बढाएर एक हजार रुपैयाँ बनाइको बताए ।

दक्षिणकाली दर्शन सुमो सेवा प्रालिले १ हजार रुपैयाँ भाडा तिनुपर्दा भाग्यमानी रहेको दाबी गरे । ‘हेटौंडाबाट मान्छे उठाउन ४ वटा गाडी खालि आएको छ के हिजो बेलुका, भाडा १२ सय थियो । आज १ हजार छ । भाग्यमानी रहेछौं ब्रदर’, दक्षिणकाली सुमो काउन्टरका कर्मचारीले भने । सुमो काउन्टरहरु खुलेआम १ हजार रुपैयाँ भाडा
रहेको भन्दै यात्रुसँग ठगी गरिरहेका थिए । उनीहरुले अघिल्लो दिनसम्म १ हजार २ सय रुपैयाँ रहेको र त्यो घटेर १ हजारमा आइपुगेका बताएका थिए । तर, नजिकैको जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले पत्तो पाएन । प्रशासन र प्रहरीले प्रभावकारीरुपमा अनुगमन नगर्दा यात्रुहरु निरन्तर ठगिएका छन् । साझाकुराले प्रत्यक्ष यात्रु ठगी गरिरहेको देख्नु न जिम्मेवारी निकायले नदेख्नुले सम्बन्धित निकायको अनुगमनमाथि नै प्रश्न खडा भएको छ । जिल्ला प्रशासन र प्रहरीले ठगी गर्नेलाई प्रश्रय दिइरहेको यात्रुहरुले आरोप लगाएका छन् ।

मकवानपुर प्रशासनले घटनाबारे कुनै उजुरी नआएको प्रतिक्रिया दिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले तोकिएको भाडा दर बढाएर चाडपर्वको नाममा लिन नपाउने बताउँछन् ।पाण्डेले प्रशासनमा यात्रुहरुको गुनासो आएपछि अनुगमन गर्ने र दोषीलाई कारबाही गर्ने गरेको बताए । उनले यात्रुहरुले बढी भाडा लिएको भनेर गुनासो नगर्ने गरेको बताए । गुनासो आएको अवस्थामा कारबाही गरिएको उनको भनाइ छ । सुमो काउन्टरहरुमा सुरक्षा संयन्त्रहरु खटिएको दाबी गरेका पाण्डेले पीडितले आफू ठगिएको बारेमा जानकारी नगराए सम्म प्रहरीले कसरी कारबाही गर्न सक्छ भन्दै प्रतिप्रश्न गरे । प्रशासन र प्रहरीलाई सहयोग गरेमा दोषीलाई कारबाही गरिने पाण्डे बताउँछन् ।
मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले प्रहरीबाट अनुगमन नै नभएको भन्न नमिल्ने बताए । प्रहरीले यसअघि यात्रुलाई ठगी गर्ने ५ जनालाई मुद्दा चलाएर धरौटी तिराएको कार्की बताउँछन् ।

उनले उजुरी परेको अवस्थामा प्रहरीबाट कारबाही हुँदै आएको दाबी गरे । आगामी दिनमा सिभिल प्रहरीहरु खटाएर यात्रु ठगी गर्ने सुमो काउन्टरलाई कानुनी दायरामा ल्याउने डीएसपी कार्कीले प्रतिबद्धता जनाए । सुमो काउन्टरहरुमा पत्रकारहरुको टोली पुगेको सुइँको पाएपछि मकवानपुर प्रहरीले शुक्रबार यात्रु ठगी गरेको आरोपमा ३ जनालाई कारबाही प्रक्रिया अगाडि बढाएको छ ।हेटौंडा–काठमाडौं जोड्ने छोटो मार्गमा दैनिक ५ सयको संख्यामा टाटासुमोहरु सञ्चालन हुने गरेका छन् । उनीहरुले हरेक वर्ष चाडपर्वको मौका छोपेर यात्रुहरुको ठगी गर्दै आएका छन् । हेटौंडा नगरभित्र ट्राफिक व्यवस्थापनलाई समेत अस्तव्यस्त बनाउँदै सञ्चालन भइरहेका सुमो काउन्टरहरुबाट सोझासाझा यात्रु अझै ठगिन हालसम्म पनि नरोकिएको हो ।

दशैं अगाडि काडमाडौंबाट आउने र दशैंपछि हेटौंडाबाट जाने यात्रुहरु पनि ठगिएका थिए । त्यतिबेला प्रहरीले सुमोहरुलाई कारबाहीसमेत गरेको थियो । तर, फितलो
कारबाहीका कारण सुमो काउन्टरहरुले यात्रुलाई ठगी गर्न छोडेका छैनन । यात्रुको चापले सुमोको कृत्रिम अभाव सृजना गरेर भाडा बढी लिने कार्यमा पनि सुमोहरु उद्दत छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*