गाई पाल्दै चित्लाङ बाख्रा फार्म
हेटौंडा- गुणस्तरीय भेडा, बाख्रा र खरायो उत्पादनमा नाम कमाएको मकवानपुरस्थित चित्लाङ बाख्रा विकास फार्मले अब गाई पनि पाल्ने भएको छ ।जिल्लाको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका र इन्द्रसरोबर गाउँपालिकाको सीमाना चित्लाङमा रहेको सरकारी बाख्रा फार्मले जर्सी गाई पाल्ने तयारी गरेको हो ।
फार्मले चालू आर्थिक वर्ष २०७९÷०८० बाट गाई पालन गर्ने भएको हो । फार्मले किसानहरुलाई जर्सी गाईको शुद्ध नश्लको बाछाबाछी उपलब्ध गराउने उद्देश्यले गाई पालन गर्न लागिएको फार्मका प्रबन्धक विशेश्वर प्रसाद यादवले बताए । तत्कालीन राणा शासकले २००१ सालमा स्थापना गरेको भेडा फार्म (हाल बाख्रा विकास फार्म)ले माग अनुसार किसानहरुलाई बाख्रा, भेडा र खरायो उपलब्ध गराउँदै
आइरहेको छ ।
अब किसानहरुले फार्मबाटै शुद्ध नश्लको गाई पनि पाउने भएका हुन् । किसानहरुले बढी मुल्य तिरेर बाछाबाछी खरिद गरिरहनु परेको समस्या हट्ने विश्वास लिइएको छ । फार्ममा उत्पादन भन्दा तेब्बर बढीले किसानबाट बाख्राको माग आएको छ । यसकारण पनि फार्ममा गणस्तरीय बाख्रा उत्पादन हुने विश्वास गर्न सकिन्छ । गाई पालनबाट जीवीकोपार्जन गर्दै आएका किसानलाई शुद्ध नश्लको बाछाबाछी उपलब्ध गराउने फार्ममा प्रबन्धक यादवले बताए ।
सरकारी फार्ममा शुद्ध नश्लको बाख्रा पाइने विश्वासले किसान र व्यवसायिक बाख्रा पालन गर्दै आएकाहरुले माग धेरै गर्ने
गरेको यादव बताउँछन् ।उनका अनुसार फार्मले आगामी चैत महिनादेखि गाई पालन सुरु गर्न लागिएको जानकारी दिए । चित्लाङ चिसो ठाउँ रहेकाले मौसमलाई सुहाउँदो जर्सी गाई पालन गर्न लागिएको उनले बताए । फार्मले दूध पनि उत्पादन गर्ने सोच बनाएको छ । गाईबाट उत्पादित दूधको शुद्धता पनि जाँच गरिने यादव बताउँछन् ।
सुरुवाती चरणमा १५ वटासम्म गाई पालिने उनले बताए । जसका लागि फार्मले गोठ पनि तयार गर्ने भएको छ । यादवले दूध उत्पादनको दृष्टिकाणले एउटा होलिस्टशन जातका गाई बराबर दुई वटा जर्सी गाई पाल्न सकिने बताए । उनकाअनुसार जर्सी गाईले दैनिक २० देखि २५ लिटरसम्म दूध दिनेछ ।किसानलाई फार्मबाटै जर्सी गाई दिइने उनले बताए । फार्मबाट खरिद गर्दा कम मूल्य पर्ने भएपछि किसानहरुलाई पनि राहत हुने उनको भनाई छ ।
फार्मलाई गाई पालन गर्ने योजनासँगै घाँसको पनि चिन्ता बढेको छ । फार्मलाई चरिचरण क्षेत्रमा बाह्रै महिना हरियो घाँस नहुँदा बाख्रा, भेडा पालनमै समस्या हुँदै आएको थियो । जग्गा पर्याप्त भएपनि चरिचरण क्षेत्र थोरै भएकाले वर्षको ६ महिना अर्थात बर्खे समयमा मात्रै बाख्रा र भेडाले पोषिलो घाँस खान पाउँछन् । बाँकी ६ महिना हिउँदको समयमा खडेरी लाग्ने फार्मका प्रबन्धक यादव बताउँछन् । फार्ममा पालिएको भेडा र बाख्राले आवश्यक पोषिलो घाँस हिउँदको समयमा खान नपाएको उनले बताए ।
भेडा, बाख्राले पोषिलो घाँस खान नपाउनुको कारण फार्ममा पानीको स्रोत नहुनु हो । फार्म खुलेको ७८ वर्षपछि गतवर्ष फार्ममा डिपबोरिङबाट पानी निकालिएको थियो । वर्षायाममा चिसो कम, घाँसको पर्याप्तता र सिँचाई समस्या नभए पनि हिउँदमा भने तुषारोले भुइँघाँँस मर्ने, सुख्खा भएर डाले घाँसहरुको पात झर्ने, तुषारो नपर्ने फार्मको तल्लो भेगमा पानी अभावका कारण घाँसहरु सुक्ने, चिसोबाट बाख्रा विशेषतः पाठापाठीलाई बचाउन मुस्किल पर्ने जनाइएको छ ।
फार्मले वर्षायामको घाँसलाई सुकाएर राख्ने तथा नेपियर, मकै आदि घाँसलाई साइलेज (घाँसको गुन्द्रुक) बनाएर राख्ने र हिउँदको घाँस अभाव टार्ने गर्दै आएको थियो ।फार्मले सानन, सानन र खरीको क्रस तथा शुद्ध खरी गरी तीन थरीको बाख्रा उत्पादन गर्दै आइरहेको छ । फार्ममा गत आर्थिक वर्ष २०७८÷०७९ मा ३ सय ५० वटा मात्रै बाख्रा उपलब्ध रहेको यादव बताउँछन् । फार्मको कुल ३ सय ५ रोपनी क्षेत्रफलमा चरिचरण क्षेत्र मात्रै १ सय ८ रोपनी छ ।
फार्ममा बाख्रा मात्र हैन, भेडा र मासु खाने प्रयोजनका खरायो पनि पालिएको छ । तर, भेडा र खरायोको माग बाख्राको भन्दा कम रहेको छ । हाल फार्ममा बरुवाल जातको भेडा ७५ वटा छ । मासु खाने खरायो ३ थरी जातका १ सय वटा पालिएको प्रबन्धक यादवले जानकारी दिए । खरायो चिनचिला, क्यालिफोर्निया हाइलाइन र न्युजिल्याण्ड ह्वाइट जातको रहेको जनाइएको छ ।







