मित्रमिलनको पूँजी १३ प्रतिशतले बृद्धि
हेटौंडा- हेटौंडा उपमहानगरपालिका–४, स्थित मित्रमिलन बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं साधारणसभा भएको छ । साधारण सभामा प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार सहकारीको शेयर पूँजी साढे १३ प्रशितले बृद्धि भएको छ । सहकारीको शेयर पूँजी आर्थिक वर्ष २०७७÷०७८ मा भन्दा गत आव ०७८÷०७९ मा १३ दशमलव ४८ प्रतिशतले बृृद्धि भएको छ । सहकारीको चुक्ता शेयर पूँजी १ करोड ३६ लाख २ हजार ३ सय रुपैयाँ रहेको छ ।
आर्थिक वर्ष २०७७÷२०७८ मा सहकारीको शेयर पूँजी १ करोड १९ लख ८६ हजार रुपैयाँ रहेको थियो । सहकारीमा १ हजार ६३ जना शेयर सदस्य छन् । सहकारीको हेटौंडामा शनिबार भएको वार्षिक साधारणसभामा सहकारीका अध्यक्ष भोलाप्रसाद शर्मा खरेलले वार्षिक प्रतिवेदन प्रस्तुत
गरेका थिए ।खरेलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देल, हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिमप्रसाद पौडेल, राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रमुख रामेश्वर अर्याललगायतको आतिथ्यता थियो । सहकारीले ज्येष्ठ नागरिकमा कृष्णप्रसाद सुवेदी र तिलकुमारी तामाङ, असल बचतकर्तामा मनोज रिजाल र बासुदेव श्रेष्ठ, असल ऋणीमा पंकज ठाकुर र राजुकुमार श्रेष्ठ, उत्कृष्ट जेहेन्दार तथा गरिब विद्यार्थीमा अनुभव ढुंगाना र रोजी लामालाई नगद सहित पुरस्कार प्रदान गरेको छ ।
यसैगरी, मित्रमिलन बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा फेरि भोलाप्रसाद शर्मा खरेल चयन भएका छन् । सहकारीको उपाध्यक्षमा निर्जा उप्रेती, सचिवमा भोगेन्द्र लुईटेल, कोषाध्यक्षमा बुद्धीनाथ खतिवडा चयन भए । सदस्यहरुमा त्रैलोक्ये मोहन ठिके, उत्तम घिमिरे, जयराम अधिकारी, हरिकृष्ण केसी, लक्ष्मी गौतम, केदार पुडासैनी र शम्भुप्रसाद बास्कोटा चयन भएका छन् । सहकारीको लेखा समिति संयोजकमा पुनः हरिप्रसाद रिजाल चयन भएका छन् । लेखा समितिको सदस्यमा बन्दना सुवेदी र राजकुमार जोशी चयन भए ।







