जिप्रका मकवानपुरमा ‘स्मार्ट कन्ट्रोल रुम’

साझाकुरा
२०८० जेष्ठ ३२, बिहीबार ०९:५०

हेटौंडा- बागमती प्रदेशका १० जिल्लामध्ये (काठमाडौं उपत्यकाबाहेक) मकवानपुरमा पहिलो पटक नेपाल प्रहरीले ‘स्मार्ट कन्ट्रोल रुम’ सञ्चालन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी कन्ट्रोल रुमको १०० मा फोन नलाग्ने जनगुनासोको अन्त्यका लागि स्मार्ट कन्ट्रोल रुम संचालनमा ल्याएको हो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रदेशका सबै जिल्लामा ‘स्मार्ट कन्ट्रोल रुम’ स्थापनाको योजना बनाएसँगै मकवानपुरबाट काम सुरुवात गरेको हो । यसअघि प्रदेश प्रहरी प्रमुख प्रहरी नायवमहानिरीक्षक (डिआइजी) किरण राणाले पत्रकारहरु सँगको भेटघाटमा ‘स्मार्ट कन्ट्रोल रुम’ स्थापना आफ्नो प्राथमिकताको काम भएको बताएकी थिइन् ।

काठमाडौंमा सेवारत् अवस्थामा ‘स्मार्ट कन्ट्रोल रुम’बाट प्रभावकारी काम गरेको अनुभव सुनाउँदै राणाले व्यवस्थित सुरक्षा प्रणालीलाई मद्दत पु¥याउन काम गर्न लागिएको बताएकी थिइन् । डिआइजी राणाले हरेक प्रहरी कार्यालयमा ‘स्मार्ट कन्ट्रोल रुम’ अत्यावश्यक रहेको बताएकी हुन् । उनकै योजना बमोजिम प्रदेशका १० जिल्लामा ‘स्मार्ट कन्ट्रोल रुम’ स्थापनाको सुरुवात मकवानपुरबाट सुरुवात भएको हो । जिप्रका मकवानपुरमा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) बामदेव गौतमले बुधवार ‘स्मार्ट कन्ट्रोल रुम’को उद्घाटन गरेका छन् । गौतमले स्मार्ट कन्ट्रोल रुमको सुरुवात भएपछि प्रहरी कन्ट्रोलमा फोन नलाग्ने, घटनास्थलमा समयमै प्रहरी नपुग्ने जस्ता जनगुनासोको अन्त्य हुने विश्वास दिलाए ।

सूचना प्रविधि पहुँचको विस्तार भएसँगै मकवानपुरमा हुने घटना, दुर्घटनामा प्रहरीको छिट्टै उपस्थिति रहन सहयोग पुग्ने योजनाअनसार प्रहरीको नयाँ प्रविधिसहित स्मार्ट कन्ट्रोल रुमको थालनी गरेको गौतमले बताए । प्रहरी उपरीक्षक गौतमले हाललाई ३ वटा फोन र कम्प्युटरसहित रुमको सुरुवात गरिएको र केही दिनमा यससँग सम्बन्धित एपबाट थप सेवा सुरु गरिने जानकारीदिए । उद्घाटनमा प्रहरी निरीक्षक राजु केसीले स्मार्ट कन्ट्रोल रुमबाट हुने फाइदा र यसको प्रयोगको बारेमा जानकारी गराएका थिए ।

प्रहरी निरीक्षक केसी काठमाडौं प्रहरी परिसरमा सुरु भइरहेको यस रुमको मकवानपुरमा पनि सुरुवात गरिएको बताए । स्मार्ट कन्ट्रोल रुम यसअघि काठमाडौंमा मात्रै थियो । उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरीक्षक टेकबहादुर कार्की, मकवानपुरका ट्राफिक प्रहरी प्रमुख प्रहरीनिरीक्षक वसन्त आचार्य, प्रहरीनिरीक्षक रामचन्द्र घिमिरे, पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतमलगायत संचारकर्मीको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*