चट्याङ लागेर बकैयाका भ्लोनको मृत्यु

साझाकुरा
२०८० असार ११, सोमबार १०:०८

हेटौंडा- वर्षासँगै परेको चट्याङका कारण जिल्लाको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो साढे १ बजे चट्याङ लागेर बकैया गाउँपालिका–९, शिखरपुर घर भएका ३२ वर्षीय नवीन भ्लोनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए । उनका अनुसार मृतक भ्लोन आइतबार नै बकैयाको १० नम्बर वडास्थित देउबुजेमा रहेको मामाघर गएका थिए ।

मामाघर बाहिर पिँढीमा बसिरहेको अवस्थामा भ्लोनलाई चट्याङ लागेर मृत्यु भएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए । समाचार तयार पर्दासम्म चट्याङबाट भएका अन्य क्षतिको विवरण भने आउन सकेन । घटनास्थल विकट भएकाले बकैयाको हात्तिसुँढेबाट प्रहरी गएको घिमिरेले बताए ।

राक्सिराङ गाउँपालिकामा चट्याङ लागेर एकजना घाइते भएका छन् । आइतबार दिउँसो गाउँपालिका–८ लाच्योमा मेघ गर्जनसहित परेको चट्याङ लागेर स्थानीय गोपी प्रजा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । चट्याङ लागेर घाइते भएका उनको उपचारका लागि भरतपुर पठाइएको जनाइएको छ । चट्याङबाट मकवानपुरमा वर्षेनी मानिसको मृत्यु हुने गरेको छ ।

चट्याङले धेरैजसो राक्सिराङ, कैलाश, बकैया र बागमती गाउँपालिकामा बढी क्षति हुने गरेको विगतका घटनाले देखाएका छन् । हरेक वर्ष चट्याङका कारण घटना घटिरहँदा पनि स्थानीय तहले अर्थिङ जडानका कार्यक्रम कमै ल्याउने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*