मकवानपुरको बागमती बजेट नल्याउने देशका ४० पालिकाको सूचिमा
हेटौंडा-१० असारभित्र नीति, कार्यक्रम र बजेट नल्याउने देशभरका ४० वटा स्थानीय तहमा मकवानपुरको बागमती गाउँपालिका पनि परेको छ ।
देशका ७ सय ५१ वटा स्थानीय तहमध्ये ७ सय ११ वटाले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट सार्वजनिक गरेका छन् । जसमध्ये मकवानपुरको १ उपमहा नगरपालिका, १ नगरपालिका र १० वटा गाउँपालिकामध्ये जिल्लाको पूर्वी क्षेत्रस्थित काभ्रे, सिन्धुली र रौतहटसँग सीमाना जोडिएको बागमती गाउँपालिकाले भने नीति, कार्यक्रम र बजेट पनि ल्याउन नसकेको हो ।
बागमतीसहित देशभरका अन्य ४० वटा स्थानीय तहले बजेट पेश गर्न नसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ । स्थानीय सरकार सञ्चालन ऐन बमोजिम सबै स्थानीय तहले असार १० भित्र आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने कानूनी प्रावधान छ । यदि सो समयसम्म बजेट पेश नभए त्यसलाई अवैध मानिने मन्त्रालयका प्रवक्ता कमल भट्टराइले बताए ।
बागमती गाउँपालिकामा बजेट सिलिङबारे दलीय सहमति हुन नसक्दा नीति, कार्यक्रम र बजेट आउन नसकेको ८ नम्बर वडाअध्यक्ष इन्द्रमणि तिमल्सिनाले बताए । उनले नीति तथा कार्यक्रम र बजेटमा राजनीतिक खिचातानी भएको जानकारी दिए । यता बागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानले नीति तथा कार्यक्रमकै बिषयमै छलफल भइरहेको र १५ असारभित्र नीति तथा कार्यक्रम र बजेट आउने बताउँछन् । उनले यस पटकको बजेटमा पालिकाले आर्थिक विकासमा जोड दिने गरी बजेटको तयारी गरिरहेको बताए ।
जिल्लाको हेटौंडा, राक्सिराङ, कैलाश, इन्द्रसरोवर, भीमफेदी, मकवानपुरगढी, हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसकेका छन् । बकैया र मनहरी गाउँपालिकाले भने नीति तथा कार्यक्रम प्रस्तुत गरेपनि बजेट सार्वजनिक गर्न बाँकी छ ।
समयमा बजेट ल्याउन नसकेको स्थानीय तहका हकमा पछि महालेखा परीक्षक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उक्त बजेटको खर्चको वैधतामाथि प्रश्न उठाउन सक्ने भएकाले त्यसमा सम्बन्धित स्थानीय तह नै जवाफदेही हुनुपर्ने संघीय मन्त्रालयका प्रवक्ता भट्टराइको तर्क छ ।
मन्त्रालयका अनुसार माधवनारायण नगरपालिका, हरिवन नगरपालिका, हनुमाननगर नगरपालिका, राजविराज नगरपालिका, कमला नगरपालिका, मिथिला नगरपालिका, सिम्रौनगढ नगरपालिका, गढीमाइ नगरपालिका, हरिपुर्वा शहिद नगरपालिका, त्रिपुराशुन्दरी नगरपालिका, आठराइ गाउँपालिका, मेछ्याम गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, औराही गाउँपालिका, धनौजी गाउँपालिका, कालिकामाइ गाउँपालिका, छिपहरमाइ धोविनी गाउँपालिकाले बजेट नल्याएको हो ।
यसैगरी, विन्दबासिनी गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका, आदर्श कोटवाल गाउँपालिका, सोनमा गाउँपालिका, दुर्गाभगवती गाउँपालिका, यमुनामाइ गाउँपालिका, रुपनी गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, विगु गाउँपालिका, बागमती गाउँपालिका, नौकुण्ड गाउँपालिका, जलजला गाउँपालिका, विरुवा गाउँपालिका, मायादेवी गाउँपालिका, कोटहीमाइ गाउँपालिका, रोहिणी गाउँपालिका, सम्मरीमाइ गाउँपालिका, काइके गाउँपालिका, खत्याड गाउँपालिका, कुमाख गाउँपालिका, अदानचुली गाउँपालिका, कुश्मा नगरपालिका, फलेवास नगरपालिकाले बजेट ल्याउन नसकेको मन्त्रालयले जानकारी दिएको छ ।







