हेटौंडामा प्रदेशस्तरीय ‘नवप्रवर्तन उद्यमी विकास सम्मेलन’ गरिँदै
हेटौंडा- बागमती प्रदेशमा प्रथम नवप्रवर्तन उद्यमी विकास सम्मेलन आयोजना हुने भएको छ । उक्त सम्मेलन बागमती प्रदेश सरकारको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशको सहकार्यमा हुन लागेको हो ।
सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशका कार्यवाहक अध्यक्ष तारानाथ चौलागाईंले यही असार १४ र १५ गते हेटौंडा–४ मेनरोड स्थित रोयल पार्टी प्यालेसमा पहिलो पटक बागमती प्रदेशस्तरीय नवप्रवर्तन उद्यमी विकास सम्मेलन आयोजना हुन लागेको बताए ।
सम्मेलनमा नवप्रवर्तन उद्यमीहरु, इच्छुक लगानीकर्ताहरु र घरेलु तथा साना उद्योग महासंघका प्रदेश समिति तथा जिल्लासमितिका पदाकिारीहरु गरी करिब २ सय ५० जना उद्यमीको सहभागिता रहने नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश समितिका कार्यकारी अधिकृत शम्भु नेपालले जानकारी गराए ।
‘संसार अहिले नलेज बेस इकोनोमा आधारित छ । यसमा पनि सूचना प्रविधि र आधुनिक प्रविधिमा आधारित उद्यम व्यवसायले मात्र अहिलेका उपभोक्ताको चाहना परिपूर्ति गर्ने अवस्था बनिरहेको छ । नेपाल भौगोलिक हिसाबले र प्राकृतिक श्रोत सम्पदाको हिसाबले नवप्रवर्तन उद्यमीका विकासको लागि उर्वर भूमि हो ।’–कार्यकारी अधिकृत नेपालले भने । ‘त्यसैले पनि हामीले यो सम्मेलन आयोजना गर्न लागेका हौं ।
यो सम्मेलनबाट छानिएका नवप्रवर्तन उद्यमीलाई महासंघले राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय पालिकामार्फत् प्रबद्र्धन र विकास गर्न सहयोग पुयाउने हाम्रो लक्ष्य हो ।’
यो सम्मेलनले प्रदेशभित्र रहेतापनी अवसर नपाएका नवप्रवर्तक उद्यमीलाई एउटा मञ्च दिने र नवप्रवर्तनका विषयमा लगानी गर्न इच्छुक लगानीकर्तालाई पनि सहभागी हुन प्रेरित गर्ने कार्यवाहक अध्यक्ष चौलागाईं बताउँछन् । पत्रकार सम्मेलनमा बागमती प्रदेश महिला उद्यम समितिकी महासचिव गीता मैनाली, नेपाल घरेलु तथा साना उद्योग संघका अध्यक्ष गणेशहरि उप्रेती, वरिष्ठ उपाध्यक्ष सुवर्णलाल श्रेष्ठ, महासचिव कुमार पौडेल, सचिव राजु खतिवडा र महिला उद्यम समिति मकवानपुर सभापति सन्तोषी बानियाँ लगायतको उपस्थिति रहेको थियो ।







