लागूऔषधविरुद्धको दिवसकै दिन हेटौंडाबाट ६ जना पक्राउ

साझाकुरा
२०८० असार १२, मंगलवार १०:३२

हेटौंडा-मकवानपुरका लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस सोमबार मनाइएको छ । हेटौंडामा सोमबार नै
गैरसरकारी संस्थादेखि लागूऔषध दुव्र्यसनको रोकथाम र नियन्त्रणमा काम गर्दै आइरहेका संघसंस्थाले कोठाभित्र लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध बहस छेडिरहेका थिए ।

तर, यता बहस चलिरहँदा सोमबार हेटौंडाको विभिन्न ठाउँबाट एकैदिन ६ जना लागूऔषध ओसारपसारमा संलग्न भएको आरोपमा पक्राउ परेका छन् । मकवानपुरमा लागूऔषध प्रयोगकर्ताहरु निरन्तर बढिरहेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाइरहेका छ । युवाहरु लागूऔषध दुव्र्यसनीमा फसिरहेका मात्रै छैनन्, छिटो धनी बन्ने महत्वकांक्षाले उनीहरु ओसारपसारमा पनि संलग्न भएपछि कारागार धाउनु परेको छ ।

लागूऔषध प्रयोग गर्न नहुने र ओसारपसारमा पनि नियन्त्रण गर्नुपर्ने विषयमा सोमबार हेटौंडामा चालू आर्थिक वर्ष २०७९÷०८० को अन्त्यतिर बजेट सक्काउन बहस जारी थियो । हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको दिवसको रुपमा मनाउने निर्णय संयुक्त राष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को १ सय १२ खण्डमा उल्लेख गरिएको छ । त्यस दिनको एउटा मात्र उद्देश्य भनेको विश्व समुदायलाई लागूऔषधको असर र कारोबारबाट मुक्त गराउनु हो ।

प्रहरीले भने हेटौंडा–१० बसर्पाकदेखि ८ नम्बर वडाको कमानेसम्म गरेर ६ जनालाई एकैदिन पक्राउ गरेको प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा ५९ जना थुनुवा छन् । जसमध्ये करिब २२ जना लागूऔषध मुद्दाका रहेको प्रहरी निरीक्षक घिमिरेले बताए । थुनुवामा सोमबार मात्रै थप ६ जना थपिएका थिए । मकवानपुर प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित २ जना
भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सोमबार बिहान हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट १४ किलो गाजाँसहित २ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले मकवानपुरले जानकारी दिएको छ । भारत उत्तर प्रदेश जिल्ला बलिया गरवार बिसुकियाका ३४ वर्षीय हनुमान विंद र सोही ठाउँकी ३५ वर्षीया शर्मिला मण्डललाई पक्राउ गरिएको हो ।

प्रहरी चौकी बसपार्कको प्रहरी टोलीले गस्ती गर्दै जाँदा बसपार्कस्थित बीरगञ्ज जाने काउण्टर नजिकै शंकास्पद रुपमा बसिरहेको अवस्थामा उनीहरुलाई जाँच गर्ने क्रममा उनीहरुले झोलामा बोकेको अवस्थामा १४ किलो लागूऔषध गाँजा फेला पारिएको प्रहरीले जनाएको छ । उक्त परिमाणको गाँजा बरामदसँगै दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको प्रहरीले जनाएको छ । यसैगरी मकवानपुर प्रहरीले ३० एम्पुल लागुऔषध डाईजेपामसहित १ जनालाई नियन्त्रणमा लिएको छ ।

डाइजेपामसहित हेटौंडा–११ का सागर घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सोमबार साझँ साढे ५ बजेको समयमा प्रहरीचौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५ रातोमाटेस्थित सडक खण्डमा सवारीसाधन जाँच गर्ने क्रममा बीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ग ३१५ नम्बरको माईक्रो बसमा सवार हेटौंडा–११ का १९ वर्षीय घिमिरेलाई शंका लागि जाँच गरेको थियो ।

घिमिरेले लुकाएर ल्याएको अवस्थामा लागूऔषध डाईजेपाम १० एम्पुल, फेनार्गन १० एम्पुल, ब्युनोर्फीन १० एम्पुल फेला परेको प्रहरीले जनाएको छ । घिमिरेलाई उक्त परिणामको लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।हेटौंडा उपमहानगरपालिका–८, कमानेबाट लागूऔषध खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले स्थानीय ३१ वर्षीय विशाल रावत, १८ वर्षीय सुमित वाइवा र हेटौंडा–१०, न्यूरेनी बस्ने ३२ वर्षीय बिमल भोलनलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय, पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले कमानेस्थित रावतको घरमा चेकजाँचको लागि पुगेको थियो । भोलनको साथबाट र रावतको घर कोठाको दराजबाट खैरो हिरोईन २५ ग्राम, जोख्ने काँटा, नगद ५ हजार र ५ थान मोवाइल बरामद गरिएको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । लागूऔषध सहित ३ जनालाई नै नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*