प्रदेशस्तरीय युवा सम्मेलन सुरु

साझाकुरा
२०८० असार १२, मंगलवार १०:३५

हेटौंडा- बागमती प्रदेशको हेटौंडामा प्रदेशस्तरीय पहिलो युवा सम्मेलन सुरुभएको छ । प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सोमबार सम्मेलनको उद्घाटन गरिन् ।सम्मेलनको उद्घाटन गर्दै मन्त्री मोक्तानले युवाको सवालमा काम गर्न मन्त्रालय सधैं तयार रहेको बताइन् । युवालाई स्वरोजगार बनाउन निरन्तर बजेट बिनियोजन गरेको उनले बताइन् । पहिलोपटक युवा सम्मेलन गर्न लागिएको र यसबाट धेरै सिकाइ हुने अपेक्षा मन्त्रालयले राखेको मन्त्री मोक्तानले बताइन् ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले करोडौं बजेट मन्दिर पाटीपौवा निर्माणमा छुट्याइएको तर, युवा उद्यमशीलताको लागि बजेट नभएको गुनासो गरे । नीति योजना र बजेट छुट्याउनु अघि नै युवाको यस्तो सम्मेलन गर्नुपर्ने उनले बताए । युवालाई बिदेश हैन, आफ्नो गाउँठाउँमा उद्यमी बनाउन स्थानीय र प्रदेश सरकारले ध्यान दिनुपर्ने उनले बताए । ‘युवाहरु विदेश पलायन भए पनि सीप दिएर पठाऔं’ उनले भने ‘यसतर्फ पनि प्रदेश सरकारले ध्यान दिनुपर्छ ।’

कार्यक्रममा प्रदेश सांसद प्रेमबहादुर पुलामीले युवाहरु सत्तामा पुग्ने भ¥याङ मात्रै नभएको बताए । सिर्जनात्मक कामको थालनी युवाले गर्नुपर्ने उनले बताए । देश विदेश घुमेर सीप, सिर्जनात्मकता र लगनशीलता सिक्नुपर्ने उनले बताए । सुन बनाउनेदेखि फोहोर संकलन गर्नसम्म विदेशीहरु हामीकहाँ आउँछन्, हामी नेपाली युवा चाहिँ किन बेरोजगार उनले प्रश्न गरे । कार्यक्रम बागमती प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष प्रा.डा नरबिक्रम थापाले देशको आर्थिक सामाजिक राजनीतिक विकास र परिवर्तन गर्न युवाको दायित्व र योगदान भएको बताए ।

दुई दिनसम्म चल्ने सम्मेलनले हेटौंडा घोषणापत्र जारी गर्ने छ । सम्मेलनमा प्रदेशको १३ जिल्लाका करिब २ सय जनाको सहभागी रहेका छन् । कार्यक्रममा प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले सम्मेलनको बारेमा अवधारणापत्र सार्वजनिक गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*