हेटौंडा अस्पतालमा ‘छिट्टै मिर्गाैला प्रत्यारोपण’
हेटौंडा-हेटौंडा अस्पतालमा निकट भविष्यमै मिर्गौला प्रत्यारोपण सुरु हुने भएको छ । अस्पतालले आवश्यक पूर्वाधार र औजार व्यवस्था गरिसकेको भन्दै तयारी सक्काएर मिर्गौला प्रत्यारोपण सुरु गर्ने जनाएको हो । तर, हेटौंडा अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको प्रत्यक्ष सहयोग आवश्यक रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रामचन्द्र सापकोटाले बताएका छन् । अस्पतालमा पूर्वाधार तयार भइसकेको र प्राविधिक कामहरु बाँकी रहेकाले आगामी ६ महिनाभित्र मिर्गाैला प्रत्यारोपण सेवा दिन सकिने सापकोटाले बताएका हुन् । मंगलबार हेटौंडामा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको सहकार्यमा हेल्थपाटी डटकमले आयोजना गरेको अंगदान र प्रत्यारोपण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा अस्पतालबाट छिट्टै मिर्गौला प्रत्यारोपण गर्ने व्यवस्था मिलाउन सरोकारवालाले जोड दिएका छन् ।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. विश्वराज जोशी, प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ, निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, प्रदेशको स्वास्थ्य मन्त्रालयका दीपकप्रसाद तिवारी, अस्पतालका मेसू डा. सापकोटाले हेटौंडामा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न ढिलाई गर्न नहुनेमा जोड दिए । मेसू सापकेटाले प्रत्यारोपण सेवा सुरु गर्न अस्पतालमा पूर्वाधार निर्माणको साथै आवश्यक उपकरण खरिद गरी प्रत्यारोपण सेवा विस्तारको जग बसाउने काम भएको बताए । आगामी आर्थिक वर्षमा प्रत्यारोपण सेवाका लागि बजेट व्यवस्थापन भएकाले काम चाँडै गर्ने प्रतिबद्धता जनाए । प्रत्यारोपणका लागि अस्पताल र केन्द्रबीच यसअघि नै सम्झौतासमेत भइसकेको छ ।
विगत ३ वर्षदेखि हेटौंडा अस्पतालमा डायलासिस सेवा सुरु गरिएको थियो । हाल महिनामा करिव ५० जना मिर्गाैलाका बिरामी डायलासिसका लागि आउने गरेको अस्पतालले जनाएको छ । डायलासिसका लागि आउने
बिरामीको चापको तुलनामा अब १५ वटा डायलासिस मेशिन थप गर्नुपर्ने आवश्यक रहेको मेसू सापकोटाले बताए । अस्पताल सञ्चालन गरिरहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. विश्वराज जोशीले हेटौंडामा प्रत्यारोपण सेवा निरन्तर सुरु गर्ने गरी काम भइरहेको बताए । प्रत्यारोपण सेवालाई निरन्तरता दिन पूर्वाधार विकास, जनशक्ति व्यवस्थापनको विषयमा तयारी भइरहेको जानकारी दिए ।
हेटौंडाकी मेयर लामाले अंगदानको विषयमा जनचेतना फैलाउनपर्नेमा जोड दिइन् । लामाले हेटौंडालाई स्वास्थ्यको हब बनाउन लागिपर्ने प्रतिवद्धता जनाएकी छन । अस्पतालको सेवा विस्तारका लागि उपमहानगरपालिकाले जग्गा उपलब्ध गराउनेदेखि थुप्रै सहयोग गरिरहेको बताउँदै लामाले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले अंगदानबारे जनचेतना फैलाउनुपर्ने बताए । अंगदान सम्बन्धमा बिरामी तथा परिवारलाई कन्भिन्स गराउने काममा सबैको भूमिका बराबर रहेको उनको भनाई छ ।
स्वास्थ्य मन्त्रालयका अधिकारी तिवारीले हेटौंडा अस्पताललाई २ सय बेडमा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए । २०७१ देखि ०७४ सम्म मकवानपुरको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख रहेका तिवारीले विगत सम्झिँदै अस्पताल बल्ल सुधारतर्फ अघि बढेको बताए । उनले हेटौंडासहित प्रदेशका ५ वटा अस्पताललाई प्रदेशस्तरको अस्पतालका रुपमा विकास गरेर अघि बढाउनुपर्नेमा जोड दिए । बागमती प्रदेशमा विशिष्ठकृत सेवातर्फ केन्द्रित रहने गरी काम भइरहेको बताए । बागमती प्रदेशको १३ वटै जिल्ला अस्पतालमा ब्रेनडेथको कार्यक्रम लागू गर्न सकिने बताएका छन् ।
कार्यक्रमका सभाध्यक्षता समेत रहेका राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ र नेफ्रोलोजिष्ट डा. शुरेश महर्जनले कार्यपत्र प्रस्तुत गरेका छन् । नेपालका पहिलो मिर्गौला प्रत्यारोपण डाक्टरसमेत रहेका निर्देशक डा.श्रेष्ठले हेटौंडा अस्पतालमा प्रत्यारोपण सुरु गर्ने गरी तालिम प्रदान गर्ने बताए । उनले अस्पतालका जनशक्तिलाई तालिम दिएर प्रत्यारोपणका लागि तयार पार्ने प्रतिबद्धता जनाए । हेटौंडामा उनै श्रेष्ठले चुरेहिल अस्पतालमा पहिलो पटक डायलासिस सेवा सुरु गराएका थिए । निर्देशक डा.श्रेष्ठले नेपालमा ब्रेनडेथ भएका व्यक्तिहरुको अंग प्रयोग गर्न सके हजारौंले पुनर्जीवन पाउने बताए ।
नेपालमा वार्षिक १ हजार जनाको बे्रनडेथ हुने गरेको अनुमानित तथ्यांक रहेको बताउँदै वार्षिक ८ हजार जना मिर्गाैला र कलेजो प्रत्यारोपण गर्न सकिने अवस्था रहेको बताए । तर, जनचेतनाको कमीका कारण खेर जाने ८ हजार अंगको उपयोग गर्न नसकिएको र हालसम्म नेपालमा जम्मा ५ ब्रेनडेथ भएका व्यक्तिको अंग उपयोग भएको बताए । अंगदान बारे खासै नबुझेकै कारण ब्रेनडेथ भएका व्यक्तिको अंगदानको सवाल निकै जटिल र चुनौतीपूर्ण बनेको उनको भनाई छ । हालसम्म केन्द्रमा १ हजार ७८ जनाको मिर्गाैला प्रत्यारोपण भएको र सबै प्रत्यारोपण शतप्रतिशत सफल भएको बताए ।
कार्यक्रममा नेफ्रोलोजिष्ट डा. शुरेश शाहले विदेशमा ८० प्रतिशत अंग प्रत्यारोपण मस्तिष्क मृत्यु भएका व्यक्तिहरुको अंगबाट हुने गरेको बताए । जीवित व्यक्तिको शरीरबाट अंग झिकेर प्रत्यारोपण गर्नुभन्दा मस्तिष्क मृत्यु भएकाहरुको अंग प्रत्यारोपण गर्दा जोखिम कम हुने भएकाले पनि मस्तिष्क मृत्यु भएकाहरुको अंग उपयोग गर्नेतर्फ जोड दिए । ब्रेनडेथ भएका व्यक्तिको अंग अर्काे जीवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ भन्ने कुरा स्वास्थ्यकर्मीलाई समेत थाहा नभएको अवस्था हालको रहेको उनले बताए । नेपालमा वर्षेनी ३ हजार जनाको मिर्गाैला र १ हजार जनाको कलेजो फेल हुने गरेको तथ्यांक केन्द्रको अभिलेखमा छ ।







