६७ दिने आधारभूत ब्युटीपार्लर तालिम सकियो
हेटौंडा-जिल्लाको पूर्वीक्षेत्रस्थित बागमती गाउँपालिकामा सञ्चालित ६७ दिने आधारभूत ब्युटीपार्लर तालिमको समापन भएको छ ।गाउँपालिकाको आयोजना र हेटौंडा उपमहानगरपालिका–२, स्थित सुष्माज ब्युटीपार्लरको व्यवस्थापनमा गत २९ चैतदेखि ७ असारसम्म तालिम आयोजना गरिएको थियो । सुस्मा थापा मगर, कुमारी तितुङ र अन्जु तुम्सिङले प्रशिक्षण दिएको तालिममा बागमती गाउँपालिकाको २० जना महिलाको सहभागिता थियो । तालिममा सहभागीमध्ये उत्कृष्ट प्रशिक्षार्थीको रुपमा दीपा राउत र अनुशासित प्रशिक्षार्थीमा सरस्वती विक र उमा मोक्तानलाई सम्मान गरिएको छ । गाउँपालिकाले स्थानीय महिलालाई सीप प्रदान गर्दै स्वरोजगार बनाउने उद्देश्यले ब्युटीपार्लर तालिमको आयोजना गरेको गाउँपालिका अध्यक्ष सर्केश घलानले बताए ।
उनले पालिकामा भएका युवालाई विदेश जानबाट रोक्न शिक्षालाई सीप र सीपलाई जीवनसँग जोडेर विदेश पलायन हुनबाट रोक्ने योजना बनाएको बताए । घलानले गाउँलाई सहर बनाएर गाउँको युवालाई गाउँमै रोक्ने अभियान चलाइरहेको बताएका हुन् । युवालाई सीप सिकाएर स्वरोजगार बनाउनको लागि उनीहरुको ईच्छा अनुसारको तालिम दिने र तालिमपछि स्वरोजगार बनाएर गाउँमा नै बसाउन कार्यक्रम ल्याइने बताएका छन् । गाउँमा नै गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार सृजना गरिने योजना सुनाए ।
पालिकाका उपाध्यक्ष फणिन्द्र तिमल्सिनाले तालिमबाट केही भएपनि आत्मनिर्भर बन्न मद्दत पुग्ने बताए । पालिकाले नयाँ उद्यमी सिर्जना गर्न तालिम आयोजना गरेको उनको भनाई छ । ३ नम्बर वडाध्यक्ष कमानसिं पाख्रिनले तालिमले जीविकोेपार्जनका लागि सहज हुने बताएका छन् । शिक्षालाई सीपमा जोडेर जीवनोपयोगी बनाएर आत्मनिर्भर बन्नुपर्ने उनको भनाई छ । पालिकाको प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानले तालिममा सिकेका सीपलाई प्रयोग गरेर लाभ लिन आग्रह गरे । कार्यक्रममा पालिकाका रोजगार संयोजक नागेन्द्र महतो, प्राविधिक दिनेश बानियाँलगायतको उपस्थिति थियो ।







