वाटर फाउन्टेन पार्क हस्तान्तरण
हेटौंडा- मनहरी बजारमा रहेको तत्कालीन रोटरी माध्यमिक विद्यालयलाई अन्यत्र सारेपछि निर्माण भएको रोटरी मार्केट (व्यवसायिक सटर) क्षेत्रमा वाटर फाउन्टेन पार्क निर्माण गरिएको छ ।
रोटरी क्लव अफ हेटौंडाले आन्तरिक कोष उपयोग गरी रोटरी मार्केट परिसरमा वाटर फाउन्टेन निर्माण गरी राष्ट्रिय रोटरी माध्यमिक विद्यालयलाई हस्तान्तरण गरेको हो । गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको उपस्थितिमा रोटरीको डिस्ट्रिक्ट एजी सुरेश सिंह ठकुरीसहितका रोटरियनहरुले वाटर फाउन्टेनलाई राष्ट्रिय रोटरी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम बानियाँ, प्रधानाध्यापक गोविन्द पौडेल लगायतलाई हस्तान्तरण गरेका थिए ।
कुल ९ लाख ७५ हजार रुपैयाँ लागतमा निर्माण भएको वाटर फाउन्टेन पार्कको हस्तान्तरणसँगै अब पार्कको संरक्षण, सञ्चालन र सम्वद्र्धनको जिम्मेवारी राष्ट्रिय रोटरी माध्यमिक विद्यालयको हुनेछ ।विद्यालयसँगको समन्वयमा निर्माण गरिएको वाटर फाउन्टेनले राजमार्ग छेवैको मनहरी बजारको सौन्दर्यमा वृद्धि गरेको रोटरियन एवम् व्यवसायी बिदुर रिजालले बताए । वाटर फाउन्टेन पार्कको हस्तान्तरण कार्यक्रममा बोल्दै मनहरी गाउँपालिका अध्यक्ष कालाखेतीले रोटरी क्लबले समग्र रुपमा सामाजिक हितका लागि गरेका कामहरुको प्रशंसा गरे । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पौडेल, रोटरीका डिस्ट्रिक्ट एजी ठकुरी, डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख विष्णुप्रसाद आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
रोटरी क्लव अफ हेटौंडाका अध्यक्ष सुशय पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा वाटर फाउन्टेनको निर्माण कार्यमा योगदान गरेका मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका निवर्तमान सभापति नारायण सुवेदीलाई धन्यवाद ज्ञापन गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधिहरु, रोटरी क्लवका सदस्यहरु, समाजसेवी, खेलाडी, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।







