उत्कृष्ट फिचर लेख्ने १२ पत्रकार पुरस्कृत
हेटौंडा- नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले आयोजना गरेको खुला फिचरलेखन प्रतियोगितामा १२ पत्रकार पुरस्कृत भएका छन् । आइतबार एक कार्यक्रमबीच ती पत्रकारलाई पुरस्कृत गरिएको हो । महासंघको आयोजना र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा भएको फिचरलेखनमा हेटौंडा उपमहानगरपालिका भित्रका शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटन लगायत विकासका क्षेत्रमा भएका कामकारवाहीलाई फिचर समाचार बनाउनु पर्ने थियो ।
लेखनमा सर्बोत्कृष्ट महिलातर्फ सुनिता विष्ट, पुरुषतर्फ सुमन दाहाल भएका छन् । उनीहरुले जनही १५÷१५ हजार नगद, प्रमाणपत्र र महासंघ अंकित झोला प्राप्त गरेका छन् । त्यस्तै उत्कृष्ट दशजनालाई पनि महासंघले जनही १० हजार प्रमाणपत्र र झोला प्रदान गरेको छ । उत्कृष्ट दशजनामा पत्रकार श्रीराम अर्जुन, अनिल पराजुली, नीशा गुरुङ, सुजन ढकाल, खेम बोलखे, रविन ढु·ाना, प्रिया पौडेल, प्रतिक्षा न्यौपाने, जमुना थिङ, स्मीता अर्याल रहेका छन् ।
फिचर समाचार लेखनको निर्णायक भूमिका नेपाल पत्रकार महासंघ बागमती प्रदेशका पूर्वअध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष नानीमैया कार्की (सम्झना) र प्रदेश सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले गरेका थिए । फिचरलेखनमा मकवानपुरका १७ जना पत्रकारले सहभागिता जनाएका थिए ।
पुरस्कृत पत्रकारलाई हेटौंडा उपमहानगरका प्रमुख मीनाकुमारी लामाले नगद प्रदान गरेकी थिइन् । महासंघका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख लामाको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा महासंघ बागमती प्रदेशका पूर्वअध्यक्ष विष्ट, उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारुमगर, जिल्लाका निवर्तमान अध्यक्ष हरि हुमागाई, पूर्वअध्यक्ष राममणि दाहाल, विभिन्न पत्रकार संगठनका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।







