सञ्चालनमा आयो हेटौंडा कृषि बजार
हेटौंडा- हेटौंडा उपमहानगरपालिका–४ मा हेटौंडा कृषि बजार सञ्चालनमा आएको छ । सोमवार त्रिवेणी भेजिटेबल मल्टी प्रालिद्वारा सञ्चालित हेटौंडा कृषि बजारको हेटौंडाकी मेयर मीनाकुमारी लामाले उद्घाटन गरेकी थिइन् ।कृषि बजारको उद्घाटन गर्दै मेयर लामाले विषादियुक्त तरकारी तथा फलफूलका कारण मान्छे अस्वस्थ हुनुका साथै लाखौं खर्च भइरहेको हुँदा स्वस्थ्य, सफा र विषादिमुक्त फलफूल आजको आवश्यकता रहेको बताइन् । मेयर लामाले हेटौंडामै उत्पादन भएका फलफूल ब्रान्डिङ गरेर राष्ट्र तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन आवश्यक रहेको पनि बताइन् ।
उनले कृषि बजार सञ्चालनमा ल्याउने त्रिवेणी भेजिटेबल मल्टी प्रालिका सञ्चालकलाई बधाई दिँदै उपमहानगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
अभ्यास भुजेल, प्रिन्स लामा बल, राजीव गोले, सुरोज गोङ्वा र अजय स्याङतानको संयुक्त ३ करोड लगानीमा सञ्चालित हेटौंडा बजारको मेनरोड, हेटौंडा–४ स्थित नारायणी मलको उत्तरी क्षेत्रमा रहेको यस कृषि बजारमा तरकारी, फलफूल, किराना सामग्रीदेखि माछा–मासुसम्म एकै ठाउँका पाइने सञ्चालक अभ्यास भुजेलले जानकारी दिए । १ सय ६० वटा स्टल रहेको बजारमा कृषि सामग्री मात्रै नभई यहाँ तरकारी पसलदेखि खाजाघर तथा घरायसी सम्पूर्ण समानको स्टल रहेको भुजेलले जानकारी दिए ।
हेटौंडाका अव्यवस्थित तरकारी बजारलाई व्यवस्थित बनाएर हेटौंडाका मानिसलाई सबै सामान एकै ठाउँमा उपलब्ध हुने सुविधा सहित कृषि बजार सञ्चालनमा ल्याएको उनको भनाई छ । उद्घाटन समारोहमा भूमि आयोग मकवानपुरका अध्यक्ष विष्णुप्रसाद दाहाल, हेटौंडा उपमहानगरपालिका–१३ का वडाअध्यक्ष पेम्बा लामा, जिल्ला खेलकुद विकास समितिका निर्वतमान अध्यक्ष सानु लामा दोङ लगायतको उपस्थिति रहेको थियो ।







