वनमा आधारित उद्यमलाई प्राथमिकता दिनुपर्छः सांसद पाठक
हेटौंडा- बागमती प्रदेशसभाका सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य भारती पाठकले जनतालाई आत्मनिर्भर र राज्यलाई समृद्द बनाउनको लागि वनमा आधारित उद्यमलाई प्राथमिकता दिनुपर्ने बताएकी छन् । ग्रिन फाउण्डेसन नेपालको आयोजनामा उद्यमशीलता विकास र सम्भाव्यता विषयक अन्तरक्रियालाई संबोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
बागमती प्रदेश सरकारले वन उद्यमको विकास गरेर जनता र प्रदेशलाई समृद्द बनाउन उनले वागमती प्रदेश सरकारलाई आग्रह गरिन् । यद्यपी सरकारले कर उठाउने तर, श्रोत बढाउन मदन नगर्ने हो भने बढाइएको कर निमुखा उपभोक्ताप्रति अन्याय हुने उनको भनाई छ । पाठकले भनिन् ‘जडिबुटीमा आधारित र अन्य गैरकाष्टजन्य बस्तुबाट भएका उत्पादनहरु भने स्थानीय र राष्ट्रिय बजारमा आउने गरेका छन् । तर, त्यसको प्रबद्र्दनको जिम्मा सरकारले लिनुपर्छ, श्रोत बढाएर मात्र कर बढाउनुपर्छ ।’
देशभरका ४ हजार जति वन समुहमा वनमा आधारित साना उद्यम संचालित रहेको उनले जानकारी दिइन् । उनका अनुसार गैरकाष्टजन्य, काष्टजन्य र प्रशोधन लगायतका साना उद्यम संचालनमा आएका छन् तर, काष्टजन्य वन पैदावार प्रशोधन गरी उद्यम संचालन गर्ने कार्य सोचेअनुरुप प्रभावकारी भएका छैनन् । प्राकृतिकश्रोतको क्षेत्रमा भएका श्रोतहरुलाई उपयोग गर्ने गरी बागमती प्रदेश सरकारले काम गर्नुपर्ने बताउदै वन उद्यमका लागि केन्द्रीय सरकारले पठाएको रकम पनि प्रदेश सरकारले अन्यत्रै खर्च गरेकोमा उनले आपत्ति जनाइन् ।
एमालेका वन तथा वातावरण बिभागको प्रमुख समेत रहेकी पाठकले बागमती प्रदेशमा मन्दिर मात्र बनाएर भन्दा पनि वन र वातावरणलाई जोडेर पर्यटक भित्रयाउन सकिने बताइन् । वनका पत्करलाई मल उत्पादनमा जोड दिन उनले आग्रह गरिन् । प्रदेशसभा सदस्य पाठकले वन धेरैवटा श्रोत भएको क्षेत्र भएकाले यसबाट काम हुन जरुरी रहेको बताइन् । वनबाट नयाँ संभावनाको खोजी गर्नका लागि सांसद पाठकले आग्रह समेत गरिन् । वनमा खाली काठ निकाल्ने र बिक्री मात्र गर्ने भन्दा पनि उद्यमतिरलाग्नका लागि आग्रह समेत गरिन् ।







