मनहरीमा ट्रक जुधेपछि आगलागी, तीन जनाको मृत्यु

साझाकुरा
२०८० असार २४, आईतवार ११:२५

हेटौंडा- जिल्लाको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकास्थित पूर्व–पश्चिम राजमार्गमा शनिवार राती दुईवटा ट्रक एकआपसमा ठोक्किएर आगलागी हुँदा तीन जनाको ज्यान गएको छ ।रातको करिब साढे १ बजेको समयमा मनहरी गाउँपालिका–६ डिपाटबस्ती नजिकै ट्रक ठोक्किँदा लागेको आगोले ३ जनाको मृत्यु र ट्रक जलेर नष्ट भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । घटनाको प्रकृतिअनुसार मकवानपुरमा हालसम्मकै भयानक सडक दुर्घटना भएको हो ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरमा धेरै सवारी दुर्घटना हुने गरेता पनि आगलागीबाट चालकसहित सहचालक र सवारी साधन पनि जलेर नष्ट भएको घटना सम्भवतः पहिलो भएको ट्राफिक प्रहरीहरु बताउँछन् ।हेटौंडाबाट नारायणगढ तर्फ गइरहेको ना ६ ख ६६६७ नं को ट्रक र विपरित दिशाबाट हेटौंडातर्फ आइरहेको ना ६ ख ६३१ नम्बरको ट्रक एकापसमा ठोक्किएर आगलागी भएको थियो ।

चालक र सहसचालक गरी ३ जनाको मृत्यु भएको हो, २ जना घाइते छन् । ट्रक ठोक्किर आगलागी हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको र ट्रक जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरीक्षक (डिएसपी) टेकबहादुर कार्कीले जानकारी दिए । मृत्यु हुनेमा ना ६ ख ६६६७ नम्बर ट्रकका चालक चितवन राप्ती नगरपालिका–८ घर भएका २७ वर्षीय रिहान रुम्बा तामाङ, सोही ट्रकका सहचालक गोरखाको गण्डकी गाउँपालिका–२ गोर्दीटार बस्ने २० वर्षीय सुमन चेपाङको मृत्यु भएको प्रहरी प्रवक्ता कार्कीले जानकारीदिए ।

मृत्यु हुने अर्काब्यक्ति ना ६ ख ६३१ नम्बरको ट्रकका सहचालक मनहरी गाउँपालिका–३ बस्ने अमृत प्रजा रहेका छन् । शव पोस्टमर्टमका लागि भरतपुर अस्पताल पठाइएको छ । मृतकहरुको शव पहिचान हुन सकेको थिएन । आगलागीबाट शव पहिचान हुने अवस्थामा नरहेको र घाइतेहरुको जानकारीबाट शवको पहिचान खुलेको डिएसपी कार्कीले बताए । ‘शव सग्लो अवस्थामा छैन, घाइतेसँगको सोधपुछ गरेपछि उनीहरुको परिचय खुलेको हो ।’, कार्कीले भने ।

दुर्घटनामा परेर राप्ती नगरपालिका–३ का ३५ वर्षीय ना ६ ख ६६६७ नम्बरको ट्रकका सहचालक विवेक तामाङ र ना ६ ख ६३१ नम्बरको ट्रकका चालक मनहरी गाउँपालिका–३ का ३२ वर्षीय अर्जुनकुमार प्रजाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । तामाङ र प्रजाको दुवैको स्वास्थ्य अवस्था मध्यम रहेको डिएसपी कार्कीले जानकारी दिए । घाइतेहरुले ट्रक एकआपसमा ठोक्किएपछि एकैपटक आगलागी भएको जानकारी दिएको कार्की बताउँछन् ।

ट्रक पूर्णरुपमा जलेको छ । हेटौंडाबाट दुईवटा दमकलका साथ प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । आगो निभाइएपछि जेसीबी प्रयोग गरी जलेका ट्रक र शवहरु निकालेर राजमार्ग बिहान साढे ६ बजेतिर मात्रै सुचारु गरिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक कृष्णराज ढकालले बताए । राती घटनालगत्तै प्रहरीटोली घटनास्थलमा पुगेर स्थानीय बासिन्दाकोसमेत साथ लिएर आगलागी नियन्त्रण गर्न खोजेपनि दमकलको अभावमा नियन्त्रण सम्भव नभएको प्रहरी
निरीक्षक ढकालले जानकारी दिए ।

‘भनेको समयमा दमकल पाइएन, पछि २ वटा दमकल आएर बल्लबल्ल आगो निभाइयो ।’, प्रहरी निरीक्षक ढकालले भने, ‘भयंकर आगलागी भएका ट्रक र शवहरुलाई हटाएर अहिले राजमार्गमा सवारी साधन सञ्चालन सुचारु गरिएको छ ।’, दुर्घटनापछि करिब ५ घण्टा राजमार्ग अबरुद्ध भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*