भैंसे–भीमफेदी सडकको ६५ प्रतिशत भौतिक प्रगति
हेटौंडा- हेटौंडा–काठमाडौं जोड्ने छोटोमार्ग अन्र्तगत निर्माणाधीन भैंसे–भीमफेदी सडकखण्डको भौतिक प्रगति ६५ प्रतिशत भएको छ । सडक विस्तारको क्रममा भीमफेदी गाउँपालिका–४ र ६, स्थित व्यक्तिको घरजग्गा भत्काउनु पर्ने भएपछि मुआब्जाको समस्याले विगतमा सडक निर्माण रोकिएको थियो । सडक निर्माण कार्य रोकिँदै चल्दै आइरहेता पनि हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले जानकारी दिएको छ ।
विभिन्न कारणले सडक स्तरोन्नतिमा ढिलाइ हुँदै आएको भैंसे–भीमफेदी सडकखण्डको ११ दशमलव ५ किमि सडकको ६५ प्रतिशत काम सकिएको हो । क्षतिपूर्ति दिन बाँकी रहेको क्षेत्रबाहेक सडक फराकिलो गर्ने काम भने ९५ प्रतिशत सकिएको निर्देशनालयले जनाएको छ ।
यसैगरी पाँच किमि सडकमा ग्राभेल, ६ किमि सडकमा ढल निर्माण र ८ किमि सडकको दायाँबायाँ सडक संरक्षणलगायतका संरचना तयार भएको छ । ढोकाफेदीमा पुल निर्माण सम्पन्न भएको छ भने निबुवाटार पुल निर्माणाधीन अवस्थामा छ । मान्डुसहित दुईवटा पुल निर्माण गर्न सम्झौता भएको छ । गोल्पिङमा पुल निर्माणका लागि सूचना प्रकाशित गर्न बाँकी रहेको निर्देशनालयले जनाएको छ । आर्थिक वर्ष २०७६÷७७ देखि सडक स्तरोन्नतिको काम सुरु भएकोमा सडक निर्माणको म्याद पुनः आगामी चैत २३ सम्मका लागि थप गरिने भएको छ ।
निर्माण कम्पनीसँग यो सडकखण्ड ३८ करोड ७८ लाख रुपैयाँको लागतमा निर्माण गर्ने गरी सम्झौता भएको यातायात पूर्वाधार निर्देशनालयले जानकारी दिएको छ । भैंसे–भीमफेदी सडक सडकखण्डमा पर्ने भीमफेदी गाउँपालिकाको वडा नम्बर ४ र ६ मा सडक दायाँबायाँका घरजग्गा धनीले राहत र क्षतिपूर्ति पाउने भएपछि सडक विस्तारले गति लिने भएको छ । घरजग्गा धनीहरुले राहत, मुआब्जा र क्षतिपूर्ति माग गर्दै सडक विस्तारमा रोक लगाउँदै आएका थिए ।
बागमती प्रदेश सरकारले राहत र क्षतिपूर्ति दिन सुरु गरेसँगै सडक विस्तारको कामले निरन्तरता पाएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालय, हेटौंडाले जनाएको हो । अघिल्लो कार्यकालमै बागमती प्रदेशसभा सदस्यहरुले प्रदेश राजधानी आवतजावत गर्ने सडक साँघुरो र जोखिमयुक्त भएको भन्दै पटक–पटक प्रदेशसभामा आवाज उठाएपछि प्रदेश सरकार सडक विस्तारका क्रममा भैंसे–भीमफेदी सडकखण्डमा पर्ने घरजग्गा धनीलाई राहत र क्षतिपूर्ति दिने निर्णयमा पुगेको थियो ।
प्रदेश सरकारले सडक १० मिटर फराकिलो गर्ने क्रममा घरजग्गालगायतका संरचना पर्नेहरुलाई राहत र क्षतिपूर्ति दिन आर्थिक वर्ष २०७७÷७८ मा बजेट विनियोजन गरे पनि कार्यविधिको अभावमा राहत र क्षतिपूर्तिबापत रकम दिन सकेको थिएन । चालु आवमा निजी जग्गाको क्षतिपूर्ति दिन कार्यविधि बनाएसँगै राहत र क्षतिपूर्तिबापत रकम दिने निर्णय गरिएको हो । भैंसे–भीमफेदी–कुलेखानी सडक खण्डलाई दुई खण्डमा विभाजन गरी सडक स्तरोन्नतिको काम सुरु गरिएकोमा भीमफेदी–कुलेखानी सडकखण्डको काम पूरा हुँदा भीमफेदी गाउँपालिका–४ र ६ का सडक क्षेत्रको दायाँबायाँका घरजग्गाको राहत र क्षतिपूर्ति विवादका कारण भैंसे–भीमफेदी सडकखण्डका विभिन्न स्थानमा काम रोकिँदै आएको थियो ।
यातायात पूर्वाधार निर्देशनालय, हेटौंडाका प्रवक्ता हरिप्रसाद ओझाले भैंसे–भीमफेदी सडकखण्डमा पर्ने वडा नम्बर ४ र ६ मा ऐलानी जग्गामा घर बनाएर बस्दै आएका २२ परिवारलाई राहत÷क्षतिपूर्तिबापत रकम प्रदान गर्न चालु आव ०७९÷८० मा प्रदेश सरकारले विनियोजन गरेको रकम भीमफेदी गाउँपालिकामा निकासा गरिएको जानकारी दिए । उनले वडा नम्बर ४ का १७ र वडा नम्बर ६ का ५ परिवार गरी २२ परिवारलाई चालु आवमा राहत÷ क्षतिपूर्ति रकम उपलब्ध गराइएसँगै सडक निर्माणमा हुँदै आएको अवरोध हटेको र सो क्षेत्रको सडक स्तरोन्नतिको काम सुरु गरिएको जनकारी दिए ।
भैंसे–गोल्पिङ–भीमफेदी खण्डको सडक दायाँबायाँ ३८ वटा निजी घरजग्गा परेकामध्ये १४ जना घरजग्गा धनीले क्षतिपूर्तिबापतको रकमका लागि सम्झौता गरेपछि संरचना हटाएर अवरोध हटेसँगै काम सुरु भएको छ । चालु आवमा सडक सीमामा पर्ने प्रभावित परिवारलाई क्षतिपूर्ति प्रदान गर्न एक करोड ५० लाख रुपैयाँ प्रदेश सरकारबाट विनियोजन गरिएकोमा १४ जना घरजग्गा धनीलाई ४२ लाख ३६ हजार रुपैयाँ भुक्तानी गरिएको छ । क्षतिपूर्ति कार्यविधि अनुसार घरलगायतका संरचना हटाउन सम्झौताको समयमा २० प्रतिशत र संरचना हटाइसकेपछि बाँकी रकम भुक्तानी दिने व्यवस्था रहेको छ ।
प्रदेश सरकारले आगामी आवका लागि समेत भैंसे–भीमफेदी सडकखण्डमा पर्ने निजी घरजग्गा धनीलाई क्षतिपूर्ति प्रदान गर्न एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले वर्षौंदेखि बसोबास गर्दै आएको स्थानबाट स्थानीय बासिन्दा विस्थापित मात्र होइन घरबारविहीन हुने अवस्था आएपछि राहत, क्षतिपूर्ति र मुआब्जाका लागि पहल गरिदिएको बताए । राहत र क्षतिपूर्ति दिन सुरु गरेसँगै सडक विस्तारको काम सुचारु भएको उनले बताए ।







