मोटरसाइकल दुर्घटना हुँदा थापाको मृत्यु

साझाकुरा
२०८० असार २७, बुधबार ०९:४४

हेटौंडा-जिल्लाको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिका–६ नयाँबस्तीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा मोटरसाइकल चालक रामेछाप नगरपालिका–८, घर भएका चितवन खैरेनी नगरपालिका–८ बस्ने अन्दाजी ४५÷५० बर्षीय नरबहादुर थापा रहेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००३ प ८६५८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर सडकको पोलमा ठोक्किएर दुर्घटना हुँदा थापा गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुर चितवनमा मृत्यु भएको मकवानपुरका प्रहरी नायवउपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

यसैगरी, हेटौंडा उपमहानगरपालिकाको दुई छुट्टाछुट्टै स्थानमा मंगलबार भएको सवारी दुर्घटनामा परी दुई जना घाइते भएका छन् । जसमध्ये एक बालिकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । हेटौंडा–१९ र हेटौंडा–१ मा सवारी दुर्घटना भएको थियो । बस्तिपुरस्थित पूर्व–पश्चिम सडकखण्डमा हेटांैडाबाट नेवारपानीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ त ५८५९ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको ना ५९ प ५७२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना घाइते भएका छन् ।

डिएसपी कार्कीका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक हेटौंडा–१९, बस्तिपुर बस्ने २६ वर्षीय सुशन बानियाँ घाइते भएका छन् । उनलाई उपचारको लागि हेटौंडातर्फ ल्याइएको प्रहरी नायवउपरीक्षक कार्कीले बताए । घाइते बानियाँ पशुपतिनाथ माविका शिक्षक हुन् । डिएस्पी कार्कीका अनुसार बानियाँको दाहिने कुम, खुट्टा, छातीमा चोट लागेको र अवस्थामा मध्यम रहेको छ ।

दुर्घटनापश्चात ट्याक्टर हाँडीखोलाको खहरेमा छोडेर चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले बताएको छ । यस्तै, मंगलबार साँझ करिब ६ बजेको समयमा हेटौंडा–१, तरकारी बजार नजिकै तरकारी बजारबाट चौकीटोलतर्फ जाँदै गरेको बा प्र–०३–००१ त ०४९० नम्बरको ट्याक्टरले ठक्कर दिँदा एक बालिका गम्भीर घाइते भएकी छन् ।

ट्याक्टरको ठक्करबाट पैदलयात्री स्थानीय कान्छीमाया घलानको छोरी ८ वर्षीया रिया मोक्तान घाइते भएको डिएसपी कार्कीले बताए । ट्याक्टरको ठक्करबाट घाइते भएकी उनलाई हेटौंडा अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको छ । उनका अनुसार, घाइते बालिकाको टाउकोमा चोट लागेको र अवस्थामा गम्भीर रहेको छ । प्रहरीले उक्त ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई घटनाको आवश्यक अनुसन्धान गरिरहेको कार्कीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*