पराजुलीको मोम्चो कथा संग्रहमाथि अन्तरक्रिया

साझाकुरा
२०८० असार ३१, आईतवार १०:०३

हेटौंडा- पत्रकार तथा साहित्यकार बसन्त पराजुलीको कथा संग्र्रह मोम्चोमाथि अन्तरक्रिया गरिएको छ । किताबघर हेटौंंडाको आयोजनामा शनिबार साहित्यकार हरि पौडेल र नीरा शर्माले पराजुलीको कथा सङग्रहमाथि समालोचनात्मक टिप्पणी गरेका थिए ।साहित्यकार पौडेलले संग्र्रहका अधिकांश कथामा महिला केन्द्रित समस्यालाई उठान गरिएको बताए । ‘समाजका हरेक क्षेत्रमा महिला विभिन्न कारणले उत्पीडित भइरहेका छन् ।

त्यही क्षेत्रमा रहेका पुरुषको पीडा पनि कमछैन । तर, कथाकारले महिलाका मात्रै समस्यालाई कथामा उतार्नु भएको छ ।’ पौडेलले भने ।त्यस्तै साहित्यकार पौडेलले सग्र्रहका अधिकांश कथा नारीवादी भएको बताइन् । कथाका अधिकांश मुख्य पात्र नारी भएको र कथामा नारीले विद्रोह गरेको कुरालाई मार्मिक ढंगले उतारिएको उनले बताइन् । कथाकारले प्रकृति र मानिसको जीवनलाई बिम्बमा उतारेका छन् । शर्माले अगाडि भनिन्, कथामा समसामयिक प्रसंशाको व्याख्या भए पनि कौतुहलता भने आउन सकेको छैन । कार्यक्रममा मन्तव्य राख्दै कवि सामना पहाडले एकजना पुरुष लेखकले महिलाको संवेदनालाई मिहिनत गरेर कथामा उतारेको भन्दै प्रसंसा गरिन् ।

कथाकार पराजुलीले संग्र्रहमा भुइँमान्छेका कथालाई समावेश गरेको बताए । ‘मकवानपुर, चितवन र धादिङ जिल्लामा बसोबास गर्ने सीमान्तकृत चेपाङ समुदायको जनजीवनलाई कथामा उतारेको छु’ पराजुलीले भने । आफू पत्रकारिताको विद्यार्थी भएको र खोजमूलक सामग्री संकलन गर्ने क्रममा देखेका भोगेका कुरालाई कथामा उतारेको उनले बताए ।कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाली लेखक संघका केन्द्रीय सदस्य हयग्रीव आचार्यले मोम्चो शब्दले चेपाङ समुदायका महिलालाई सम्बोधन गर्ने भएकोले यो पुस्तकले चेपाङ समुदायलाई सम्मान गरेको बताए । गाउँमा कथालाई किताबमा उतार्नु सानो काम नभएको भन्दै आचार्यले लेखक पराजुलीको साहसलाई धन्यवाद दिए ।

कार्यक्रमका प्रमुख अतिथि निमेष निखिलले कथामा आधुनिक आमाहरुका चरित्रलाई उजागर गरिएको बताए । सामान्य भाषागत त्रुटि र वर्णविन्यासले पाठकलाई कहिँकतै बिझाउने निखिलले बताए । कार्यक्रमलाई किताबघरका सञ्चालक साहित्यकार छवि अनित्यले सहजिकरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*