वर्षौदेखि जनताले भोगे, ६ वर्षदेखि सांसदले नै हैरानी खेपे

हेटौंडा–काठमाडौं छोटोमार्गले दिएको पीडा
निशा गुरुङ
२०८० श्रावण १, सोमबार ११:२३

हेटौंडा- हेटौंडा–काठमाडौं जोड्ने छोटोमार्ग (भैंसे–कुलेखानी–फाखेल–फर्पिङ–बल्खु सडक)ले दिएको हैरानी र पीडाको कथाव्यथा सानोतिनो छैन ।तत्कालीन समयमा कुलेखानी जलविद्युत आयोजना निर्माणका क्रममा बनाइएको साँघुरो सडक नै अहिले संघीय राजधानी काठमाडौं र बागमती प्रदेश राजधानी हेटौंडा जोड्ने सबैभन्दा छोटो मार्ग बनेको छ । यस सडकबाट दैनिक सयौं सवारीसाधन गुड्ने गरेका छन् । ८० किलोमिटर दुरी रहेको छोटो मार्गअन्तर्गत् भीमफेदी–कुलेखानीको १६ किलोमिटर मात्रै कालोपत्रे छ तर, धेरै जोखिम युक्त । साँघुरो सडकमा अत्याशलाग्दो मोडले यात्रुहरुको ढुकढुकी बढाउने भीमफेदी–कुलेखानी सडक छ ।

त्यस बाहेक भैंसेदेखि भीमफेदीसम्म, कुलेखानीदेखि फाखेल हुँदै फर्पिङ र कुलेखानी हुँदै सिस्नेरी–छैमले र फर्पिङ सडक खण्डको कन्तबिजोगलाई धेरै यात्रुले पटक–पटक सम्झन चाहँदैनन् ।तर, जोखिमकै छोटोमार्ग प्रयोग गरेर हेटौंडा–काठमाडौं यात्रा गर्न यात्रु बाध्य छन् । विगतमा नागरिकले दैनिक गुनासो गर्दा पनि सरकारको चासो नपर्दा सडक स्तरीकरण हुन सकेको छैन । विगत ६ वर्षदेखि राज्य पुनःसंरचना पश्चात प्रदेश सरकार स्थापना भएपछि बागमती प्रदेशका सांसदहरु निरन्तर हेटौंडा–काठमाडौं यात्रारत् छन् । हाल जनता र सांसदहरुको दुःख, पीडा र हैरानी भने एउटै छ ।

यतिसम्मकी सांसदहरुले ६ वर्षदेखि छोटोमार्ग स्तरीकरणको आवाज सदनमा उठाए पनि हालसम्म अवस्था उस्तै छ ।विगतमा छोटोमार्ग तत्काल निर्माण गर्नुपर्ने आवाज उठाइरहने शालिकराम जम्कट्टेल बागमती प्रदेशको मुख्यमन्त्री छन् । बागमती प्रदेशको राजधानी हेटौंडा बनेपछि भने अधिकांश प्रदेश सांसदहरुको चिन्ता राजधानी आउजाउ गर्नुको हुन्थ्यो । काठमाडौंबाट हेटौंडा पुग्न धेरैमा ४ घण्टा लाग्ने गर्छ । तर, बर्खायाममा सडक अवरुद्ध हुँदा हेटौंडा पुग्न अझै बढी समय लाग्ने गर्छ । सडकमा पहिरोको जोखिम धेरै छ । जोखिम मोलेर सांसदलगायत प्रदेशका कर्मचारीहरु आउजाउ गर्छन् । अझ मनसुनको समयमा पहिरो खसिरहने र बाटो कच्ची भएकोले पनि संघीय राजधानीबाट

प्रादेशिक राजधानी पुग्न निकै समय लाग्छ । त्यसैको मारमा परेका छन् सर्वसाधरणदेखि प्रदेशसभा सांसदसम्म ।२०७६ पुस २७ गते प्रदेश ३ को स्थायी राजधानी हेटौंडा घोषणा भएको थियो । बागमतीको राजधानी हेटौंडा राख्ने पक्षको मतदानमा हेटौंडाको पक्षमा १०५ मत र विपक्षमा ३ मत परेको थियो । सत्तारुढ नेकपासहित मुख्य दलले
राजधानी हेटौंडाको पक्षमा मतदान गरेपछि दुई तिहाइभन्दा धेरै मतले हेटौंडा राजधानीका रुपमा कायम भएको थियो । यसरी हेटौंडालाई नै राजधानी बनाउन मत दिने सांसदहरु नै हेटौंडामा बास बस्दैनन् । हेटौंडामा राजधानी भइरहँदा सडकको अवस्थाले काठमाडौंबाट आउने प्रदेश सासंदहरुलाई पनि निकै असहज भएको छ ।

मनसुनको समयमा ओहोरदोहोर गर्नुपर्ने सडकको बिजोग, बाटोमा पहिरो पनि त्यत्तिकै जाने सडक अवरुद्ध हुँदा प्रदेशको महत्वपूर्ण बैठकमा समेत सहभागी हुन नपाउनेजस्ता विभिन्न समस्या भएका छन् काठमाडौं, दोलखा, सिन्धुपाल्चोक र काभ्रेका सांसदहरु । नेपाल मजदुर किसान पार्टीका प्रदेश सांसद तथा दलका नेता सुरेन्द्रराज गोसाईले प्रदेशको राजधानी हेटौडा भईरहँदा सदनमा पटक–पटक सडक स्तरोन्नती गर्न कुरा उठाएको बताउँछन् । तर, पनि सडक स्तरीकरण नहुँदा सास्ती झेल्नुपरेको बताए । अघिल्लो कार्यकालमा सडक अवरुद्ध हुँदा बजेट अधिवेशनको समयमा १२ घण्टा जाममा बस्नुपरेको तितो भोगाई रहेको उनले सुनाए ।

‘राजधानी हेटौंडा भइसकेर दोश्रोपटकको निर्वाचित सरकार पनि आइसकेपछि सडक स्तरोन्नती पहिलो प्राथमिकता रहनुपथ्र्यो । तर, एउटा दलले अर्को दललाई दोष लगाउने परिपाटीले संघीय राजधानीबाट प्रदेशको राजधानी जोड्ने सडकको बिजोक कस्ले देख्ने ?’, उनले प्रश्न गरे, ‘यस विषयमा हामीले रचनात्मक सुझाव दिनुका साथै दवाव पनि दिँदै आएका छौं, हेरौं उहाँले के गर्नुहुन्छ ।’, राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापाले पनि हेटौंडा राजधानी भइसकेपछि पनि सडक स्तरोन्ती नहुँदा धेरै सांसदहरुले समस्या भोग्नु परेको बताए । उनले सडकसमेत राम्रो बनाउन नसक्दा बर्खाको बेला सडक अवरुद्ध हुने गरेको र त्यस कारण प्रदेशसभाको बैठकमा आउजाउ गर्ने सांसदलाई नै गाह्रो हुने बताए ।

बागमती प्रदेशसभामा समितिको महत्वपूर्ण बैठकहरु हुँदा बर्खामा बाटोमा पहिरो गएर घन्टौसम्म अवरुद्ध हुने गरेको र सांसदहरु बीच बाटोमा नै फस्ने गरेको उनले सुनाए । त्यस्तै नेपाली कांग्रेसका सांसद छिरिङ् दोर्जे लामाले पनि प्रदेशसभाको बैठकमा बर्खायाममा पहिरो जाँदा हिड्न डर भएको बताउँछन् । सबै सडक एकैपटक निर्माण कार्य भइरहेको हुनाले पनि त्यो समस्या भएको भन्दै स्तरोन्नती पनि एकैपटक सम्पन्न हुने उनले बताए । अघिल्लो कार्यकालमा हेटौंडामा राजधानी राख्ने विषयमा दलको आदेश आएपछि काभ्रेमा नभई हेटौंडामा नै मतदान गर्नुपरेको उनले बताए ।

नेकपा एकीकृत समाजवादका नेतृ रमा आलेमगरले पनि काठमाडौंदेखि हेटौंडा आउने क्रममा बर्खाको समयमा निकै समस्या झेल्नु परेको बताइन् । आलेले बैठकको सूचना पाए एक दिनअघि नै हेटौंडा आउने गरेको बताइन् । यता धादिङ, सिन्धुली, चितवन र मकवानपुरका सासंदहरुलाई भने हेटौंडा आउन सहज देखिन्छ । हाल १ सय १० जना सांसद रहेको प्रदेशसभामा केन्द्रीय राजधानी हुँदै हेटौंडा आउने सासंदहरुको संख्या ८० जनाभन्दा बढी रहेको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

प्रदेशसभाको बैठक दिनँहु चल्दा भने ओहोरदोहोरमा समस्या आउँछ भन्दै कतिपय सांसदहरुले हेटौंडा डेरा लिएर बसेका छन् । नेकपा एमाले सांसद सुकमाया तामाङ्, माईली तामाङ्, उर्मिला सुनुवार, कृष्णप्रसाद सिलवाल, जयराम थापा, आनन्दकुरमार श्रेष्ठलगायत धेरै सांसदहरु हेटौंडामा डेरामा बस्छन् । ‘बाटोमा पहिरो जाँदा बाटोमै रोकिनु पर्छ । बिहान २÷३ बजेसम्म बाटोमै बिजोग हुने अवस्था आउने गरेको छ । राति अबेर हुँदा होटल नखुल्ने कहिल्यै समयमा बैठक नपुग्ने हुनाले डेरा लिनु परेको छ’, एमाले सांसद कृष्णप्रसाद सिलवाल बताउँछन् ।
के भन्छन् मुख्यमन्त्री ?
यस विषयमा साझाकुराले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सोधेको छ, ‘यसरी संघीयता चल्छ ?’, उनले चल्दैन भन्ने जवाफ दिए ।‘हेटौंडा राजधानीका रुपमा टाढै पर्छ । सांसदहरु त्यही बस्न नि त्यहाँ सबै सुविधा विकास भएको छैन । पूर्वाधार विकास गर्न कठिन छ । केही डेरा गर्न बाध्य छन् । अरु धेरैजना काठमाडौं र अन्य जिल्लाबाट आउनेजाने गर्छन् । सर्वसाधरणलाई पनि गाह्रो छ ।’, उनले भने । मुख्यमन्त्री जम्कट्टेल काभ्रे सबैका लागि पायक पर्ने भएपनि हेटौंडा राजधानी कायम भइसकेको अवस्थामा त्यहाँ विकास कसरी गर्ने भन्ने बारेमा सरकारले विषेश प्राथमिकताका साथ अगाडि बढिरहेको बताउँछन् ।

‘हामीले काठमाडौं–हेटौंडा जोड्ने मुख्य सडकको काम तीब्रगतिमा अगाडि बढाइरहेका छौं । हेटौंडा–काठमाडौंका वैकल्पिक मार्गको मंसिरसम्म कालोपत्रे गरेर सम्पन्न गर्ने तयारीमा छौं ।’, मुख्यमन्त्री जम्कट्टेलले भने, ‘भैंसे–भीमफेदीमा मुआब्जाको विषयमा केही विवाद भएको थियो तर, हामीले त्यहाँका स्थानीयलाई २२ लाखका दरले अनुदान दिएपछि काम अघि बढेको छ ।’, मुख्यमन्त्री जम्कट्टेलले आफूले अघिल्लो कार्यकालमा पनि सडक स्तरोन्नतीको विषयमा संसदमा आवाज उठाउँदै आएको भन्दै आफू नेतृत्वमा पुगिसकेपछि सडक स्तरीकरणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*