ट्राफिक कारबाहीबाट मकवानपुरमा ३ करोड ६९ लाख संकलन
हेटौंडा-जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले १ वर्षको अवधिमा ३ करोड ६९ लाख ६७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । ट्राफिक कार्यालय मकवानपुरले गत वर्ष २०७९÷८० को १ वर्षको अवधिमा मादकपदार्थ सेवन गरि सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, जथाभावी सवारी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिनेलगायतका कारवाहीबाट राजश्व संकलन गरेको हो । कार्यालयले ४७ हजार ८ सय ९९ सवारी साधन कारवाही गरे बापत यो रकम संकलन गरेको जनाएको छ ।
आर्थिक वर्ष २०७६÷७७ मा कार्यालयले १ करोड ८ लाख ९१ हजार ५ सय रुपैयाँ संकलन गरेको थियो । त्यसैगरी आर्थिक वर्ष २०७७÷७८ मा २ करोड ४५ लाख ८८ हजार ५ सय रुपायाँ र आर्थिक वर्ष २०७८÷७९ मा २ करोड ३६ लाख ९० हजार ५ सय राजश्व संकलन गरेको थियो । गत वर्ष २०७९÷८० मा १ वर्षको अवधिमा संकलन भएको राजश्व गत वर्षहरुको तुलनामा सबैभन्दा बढी हो ।
कार्यालयले चालु आर्थिक वर्षको साउन महिनामा २४ लाख ६ हजार ५ सय रुपैयाँ, भदौ महिनामा २५ लाख ४९ हजार रुपैयाँ, असोज महिनामा २५ लाख ५७ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । त्यसैगरी कार्तिक महिनामा २९ लाख ७५ हजार ५ सय रुपैयाँ, मंसिरमा २२ लाख ५२ हजार ५ सय रुपैयाँ, पुसमा २९ लाख १० हजार रुपैयाँ, माघ महिनामा ३० लाख ४७ हजार ५ सय रुपैयाँ, फागुनमा २७ लाख ९९ हजार ५ सय रुपैयाँ र चैत महिनामा ३० लाख ९२ हजार रुपैयाँ राजश्व संकलन गरेको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ ।
त्यसैगरी, कार्यालयले बैशाख महिनामा ३७ लाख ७८ हजार ५ सय रुपैयाँ संकलन गरेको छ भने जेठ महिनामा ४० लाख ४७ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । जिल्ला ट्राफिक कार्यालय मकवानपुर असार महिनामा भने सबैभन्दा धेरै ४५ लाख ४९ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको जनाएको छ । कारबाहीमा परेका सवारीमध्ये सबैभन्दा धेरै मोटरसाइकल रहेको कार्यालयले जनाएको छ ।
गत वर्ष २०७९÷८० मोटरसाइकल मात्रै १३ हजार ३ सय २७ कारबाहिमा परेको थियो । त्यसैगरी दोश्रो नम्वरमा जिप÷कार रहेका छन् । गत वर्ष १० हजार १ सय १२ वटा जिप कार कारबाहीमा परेको थियो । ९ हजार ३ सय ९ ट्रक÷ट्याङ्कर÷टिपर कारबाहीमा परेर तेश्रो नम्वरमा रहेको छ भने ८ हजार १ सय १४ टेम्पो÷ अटो÷ईरिक्सा र अन्य कारबाहीमा परेका छन् । त्यसैगरी गत वर्षमा ५ हजार ३ सय ९३ यात्रुबस कारबाहीमा परेका छन् भने १६ सय ४४ ट्याक्टर कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रहरीनिरीक्षक बसन्त आचार्यले जानकारी दिए ।
जिल्ला ट्राफिक कार्यालय मकवापुरका प्रमुख प्रहरीनिरीक्षक आचार्यले भने, ‘सवारी नियम उलङ्घन गर्ने सवारीलाई कारवाही गर्दा यो राजश्व संकलन भएको हो ।’ सवारीसाधन कारबाही गर्ने नाममा ट्राफिकले अनावश्यक दुःख दिने गरेको सार्वजनिक यातायात ब्यवसायीले बताउँदै आएका छन् । बढी राजश्व संकलन गर्ने होडबाजीमा ट्राफिक प्रहरीले बेलाबेलामा अनावश्यक झन्झट दिने गरेको र सामान्य कमीकमजोरीलाई पनि सम्झाउने कार्य नगरी जरिवाना तिराउने गरेको यातायात ब्यवसायीले आरोप लगाएका छन् ।







