मत्स्य केन्द्र हेटौंडाको १३ विघा जग्गा अतिक्रमण
हेटौंडा- प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौंडाको नाममा रहेको जग्गा र भवन अतिक्रमण भएको खुलेको छ । मत्स्य प्रवद्र्धन केन्द्र हेटौंडा–५ को नाममा रहेको ४९ हेक्टर जग्गामध्ये १३ बिगा १३ कठ्ठा १० धुर जग्गा अतिक्रमण भएको खुलेको हो ।मत्स्य प्रवद्र्धन केन्द्र हेटौंडाले आफ्नो अतिक्रमित भएको जग्गाको विवरण जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई जेष्ठ ८ गते जानकारी गराएको छ ।
जानकारीपत्र अनुसार कित्ता नं. ९६ को ८ बिघा १३ कठ्ठा १८ धुर जग्गामा पिप्ले युवा क्लबले र·शाला निर्माण, हेल्थपोष्ट र कार्यालयको भवन समेत अतिक्रमण गरी रेष्टुरेन्ट सञ्चालन गरिएको जनाएको छ । पत्रअनुसार कित्ता नं. ९६ को २ कठ्ठा १.५ धुर अतिक्रमित जग्गामा उद्धव चौलागाईंले जस्ताको टहरा बनाई पसल सञ्चालन गरेका छन् भने सनम श्रेष्ठले १ कठ्ठा १.५ धुर जगमा जस्ताकै टहरा बनाइ रेष्टुरेन्ट सञ्चालन गर्न भाडामा दिएको उल्लेख छ ।
त्यसैगरी कृष्णप्रसाद पुरी, रामकृष्ण कुँवर, विष्णु दंगालले क्रमश ः १ कठ्ठा १२ धुर, १ कठ्ठा ३ धुर, २ कठ्ठा ५ धुर सरकारी जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गरी रेष्टुरेन्ट सञ्चालन गर्न भाडामा दिएको खुलेको हो । जीतलाल महर्जनले १ कठ्ठा ३ धुर जग्गा अतिक्रमण गरी जस्ताको टहरा बनाई पसल सञ्चालन गरेका छन्, भने प्रेमबहादुर परियारले १ कठ्ठा क्षेत्रफलमा रहेको केन्द्रको भवन नै अतिक्रमण गरी कुखुरापालन गरेको तथ्य बाहिर आएको छ ।
त्यसैगरी कार्यालयले जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रअनुसार कालु स्याङ्तान र पदमबहादुर खड्काले १ कठ्ठा ५ धुर र २ कठ्ठा चार धुर जग्गा अतिक्रमण गरी रेष्टुरेन्ट सञ्चालन गरिरहेको बताएको छ ।







