दुर्घटनामा ६१ जनाको मृत्यु, मोटरसाइकल यात्रा जोखिम बन्दै
हेटौंडा- मकवानपुरमा गत आर्थिक वर्ष २०७९÷८० भित्र ३ सय ६० वटा सवारीसाधन दुर्घटनामा परेका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको तथ्यांकअनुसार एक वर्षमा सडक दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६१ छ । अर्थात, जिल्लाभर एक वर्षमा ३ सय ६० वटा सवारीसाधन दुर्घटना हुँदा ६१ जनाले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा पुरुषको संख्या अधिक छ । ५१ जना पुरुषले ज्यान गुमाउँदा ९ जना महिला र १ जना बालकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । दुई आर्थिक वर्षको तथ्यांकलाई आधार मान्दा दुर्घटनामा पर्ने सवारीसाधन र मृत्यु हुनेको संख्या घटेको छ ।
आर्थिक वर्ष २०७८÷८९ मा ४ सय ६४ वटा सवारीसाधन दुर्घटना हुँदा ७० जनाको मृत्यु भएको तथ्यांक ट्राफिक प्रहरीको छ । एक वर्ष अगाडि पनि मृत्यु हुनेमा पुरुषको संख्या ६३, महिला ५ जना र बालक तथा बालिका १÷१ जना थिए । धेरै पुरुषको मृत्यु हुनुमा मोटरसाइकल दुर्घटना अधिक रहनु र सवारीसाधनका चालक पुरुष रहनाले हो । गत आव ०७९÷८० दुर्घटना भएका ३ सय ६० वटा सवारी साधनमध्ये १ सय ८७ वटा मोटरसाइकल छन् । जम्मा दुर्घटनाको झण्डै आधा संख्यामा मोटरसाइकल दुर्घटना देखिनुले यसको यात्रा जोखिमपूर्ण रहेको छ ।
मोटरसाइकल बढी दुर्घटना जिल्लाको पूर्वी क्षेत्रस्थित बकैया र बागमती गाउँपालिकामा हुने गरेको मकवानपुरका ट्राफिक प्रमुख बसन्त आचार्यले जानकारी दिए । बागमती र बकैयामा हेटौंडा–धरान–चतरा (मदन भण्डारी मार्ग)को फराकिलो सडकमा ठूला सवारीको चाप कम हुनु र मोटरसाइकल तीव्र गतिमा गुडाउने गर्दा बढी दुर्घटना हुने गरेको आचार्य बताउँछन् । यो सडकमा परमिट (सवारी सञ्चालन अनुमति) जारी भइनसकेकाले ठूला सवारीसाधनहरु नियमित सञ्चालन हुन नसकेको आचार्यले बताए ।
मकवानपुरका विभिन्न भित्री सडकहरु साँघुरा र अधिकांश कच्ची हुनुका साथै सवारीसाधनको चाप बढी रहेकाले दुर्घटना बढेको आचार्यले जानकारी दिए । उनले सडक स्तरीकरण अनिवार्य रहेको र स्तरीय सडकमा पनि ट्राफिक नियम पूर्णरुपले पालना नभएसम्म सडक दुर्घटनामा न्यूनीकरण आउन नसक्ने उनको भनाई छ । जिल्ला ट्राफिक कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६÷७७ मा कुल १ सय ६८ वटा सवारीसाधन दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६९ थियो । त्यसको एक वर्ष पश्चात अर्थात, आव २०७७÷७८ मा ३ सय ७७ वटा सवारीसाधन दुर्घटना हुँदा ५९ जनाको मृत्यु भएको थियो ।
यसैगरी, गत आव ०७९÷८० मा ४८ वटा ट्रक, ७ वटा टिपर, ३३ वटा यात्रुबाहक बस, २ वटा माइक्रो, ५१ वटा जिप÷कार, ११ वटा ट्याक्टर, १६ वटा टेम्पो र अन्यमा ५ वटा गरी कुल ३ सय ६० वटा सवारीसाधन दुर्घटनामा परेका हुन् । सबैभन्दा बढी दुर्घटना फागुन महिनामा ४५ वटा भएको तथ्यांकमा देखिन्छ । महिनागत रुपमा साउनमा ३२, भदौमा २२, असोजमा ३३, कार्तिकमा २७, मंसिरमा १९, पुसमा ३३, माघमा ३१, फागुनमा ४५, चैतमा ३१, वैशाखमा २६, जेठमा २६ र असारमा ३५ वटा सवारीसाधन दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । दुर्घटनामा परी गम्भिर घाइते २ सय ५ जना र सामान्य घाइते ४ सय ६ जना भएका छन् ।
यसैगरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले १ वर्षको अवधिमा ३ करोड ६९ लाख ६७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । ट्राफिक कार्यालय मकवानपुरले गत वर्ष २०७९÷८० को १ वर्षको अवधिमा मादकपदार्थ सेवन गरी सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, जथाभावी सवारी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिनेलगायतका कारवाहीबाट राजश्व संकलन गरेको हो । कार्यालयले ४७ हजार ८ सय ९९ सवारी साधन कारवाही गरे बापत यो रकम संकलन गरेको जनाएको छ ।
आव ०७६÷७७ मा कार्यालयले १ करोड ८ लाख ९१ हजार ५ सय, ०७७÷७८ मा २ करोड ४५ लाख ८८ हजार ५ सय र आव ०७८÷७९ मा २ करोड ३६ लाख ९० हजार ५ सय राजश्व संकलन गरेको थियो । गतवर्ष ०७९÷८० मा १ वर्षको अवधिमा संकलन भएको राजश्व गत वर्षको तुलनामा सबैभन्दा बढी हो ।
०७९÷८० मा मोटरसाइकल मात्रै १३ हजार ३ सय २७ कारबाहीमा परेका थिए । त्यसैगरी दोस्रो नम्बरमा जिप÷कार रहेका छन् । गत वर्ष १० हजार १ सय १२ वटा जिप कार कारबाहीमा परेको थियो । ९ हजार ३ सय ९ ट्रक÷ट्यांकर÷ टिपर कारबाहीमा परेर तेस्रोत नम्बरमा रहेको छ भने ८ हजार १ सय १४ टेम्पो÷ अटो÷ईरिक्सा र अन्य कारबाहीमा परेका छन् । त्यसैगरी गत वर्षमा ५ हजार ३ सय ९३ यात्रुवाहक बस कारबाहीमा परेका छन् भने १ हजार ६ सय ४४ ट्याक्टर कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रहरी निरीक्षक आचार्यले जानकारी दिए ।







