हेटौंडामा सुर्तिजन्यपदार्थको अनुगमन सुरु, एक होटल कारबाहीमा
हेटौंडा- हेटौंडा उपमहानगरपालिकाले सुर्तिजन्यपदार्य बिक्री नियन्त्रण गर्ने अभियान सुरु गरेको छ । उपमहानगरको १३ औं नगरसभाको दोश्रो बैठकले नगरक्षेत्रमा सुर्तिजन्य पदार्थमा प्रतिबन्ध लगाउने निर्णय गरेअनुरुप अभियान सुरु गरिएको हो ।मंगलबार उपमहानगरका उपप्रमुख तथा बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक राजेश बानियाँको अध्यक्षातामा बसेको बैठकले अनुगमनलाई तिब्रता दिने निर्णय गरेको थियो ।
बैठकका क्रममा उपप्रमुख बानियाँले उपमहानगरले गरेको निर्णय कार्यान्वयनका लागि कडाईकासाथ लाग्नु पर्ने बताएका थिए । उनले अनुुुगमनलाई फितलो बनाउँने काम कसैले गर्न नहुँने भन्दै गलत गरेको पाइएमा कारवाही गरिने बताए । उनले अहिलेलाई विद्यालय, सरकारी कार्यालय, सार्वजनिकस्थल र धार्मिकस्थल
रहेका क्षेत्रलाई बिषेश कडाईका साथ हेरिने र अन्य क्षेत्रलाई बिस्तारै नियमन थालिने जानकारी दिए ।
अनुगमन समितिले हेटौंडा–२ नगरपालिकारोडमा रहेका १४ वटा व्यवसाय अनुगमन गरेको थियो । अनुगमनका क्रममा उपमहानगर अगाडि रहेको राजदेबी भोजनालय तथा खाजाघरमा सुर्तिजन्य पदार्थ बिक्री गरिहेको फेलापरेसँगै होटललाई २ हजार रुपैयाँ जरीवाना गरेको छ । उपमहानगरले साउन १ गतेबाट सुर्तिजन्यपदार्थको प्रतिबन्धका लागि माइकिङ गरेसँगै सार्वजनिकस्थलमा सुर्तीजन्यपदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन थालेको छ ।
उपमहानगरले सरकारले जारी गरेको सुर्तीजन्यपदार्थ नियन्त्रण एवं नियमन ऐनलाई टेकेर उपमहानगरपालिकाले २०७७ मा बनाएको निर्देशिकाका आधारमा सुर्तीजन्यपदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्न थालेको हो ।नियमन सार्वजनिकस्थल, विद्यालय क्षेत्र, सरकारी कार्यालय, अस्पताल, स्वास्थ्यकेन्द्र, चौकी रहेका क्षेत्रको एक सय मिटर क्षेत्रभित्र सुर्तीजन्यपदार्थको बेचबिखन र प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाउने निर्णय उपमहानगरले गरेको छ । उपमहानगरको निर्देशन नमान्ने जोकोहीलाई २ हजारदेखि २५ हजारसम्म जरिवाना हुने र निषेधित ठाउँबाहेकका होटेल तथा रेस्टुरेन्टमा छुट्टै स्मोकि· जोनको व्यवस्था गर्नु पर्ने व्यवस्था रहेको छ ।
उपमहानगरले थालेको अनुगमन टोलीमा हेटौंडा–२ का वडाअध्यक्ष बिष्णुगोपाल महर्जन, जिल्ला प्रशासन कार्यालयलका टिंकु श्रेष्ठ, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख टीका शर्मा, उपभोक्ता राष्ट्रिय हित संरक्षण मञ्चका अम्बिका बर्ताैला, नेपाल उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष बासु खतिवडा, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दाताराम अधिकारी, उपमहानगरका महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछाने, खाद्य तथा गुणनियन्त्रण कार्यालयका प्रमुख क्षितिज श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य संघका प्रतिनिधि रुपक बर्णवाल, उपमहानगर समाजकल्याण शाखाका प्रमुख भैरब कुमालको सहभागिता रहेको थियो ।







