मनहरीमा वडाध्यक्षले पिटे १७ वर्षीय युवक

साझाकुरा
२०८० श्रावण ४, बिहीबार १०:१६

हेटौंडा-मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष अनन्त प्रकाश अर्यालले वडा कार्यालयभित्रै सेवाग्राही पिटेका छन् । परिवारभित्रको लफडाका सम्बन्धमा घटनाबारे बुझ्न वडाकार्यालय आएका १७ वर्षीय युवकलाई वडाध्यक्ष अर्यालले हातपात गरेका हुन् । बुधवार बिहान किशोर प्रशान्त कार्कीलाई अर्यालले कुटपिट गरेको उनकी आमा सानो कान्छी कार्कीले जानकारी दिइन् । बाबुले आफ्नी आमा छँदै कान्छी श्रीमती ल्याएर परिवारमा कलह भएपछि घटना वडा कार्यालयसम्म पुगेको थियो ।

सानीआमा सम्झना कार्कीले वडा कार्यालयभित्रै आफ्नो आमालाई हातपात गर्न खोज्दा रोक्न जाने बेलामा वडाध्यक्ष अर्यालले ‘झगडा गर्न आएको हो’ भन्दै गर्धनमा हानेको पीडित किशोरको गुनासो छ ।कानुनद्वारा बन्देज बहुविवाहमा कान्छी श्रीमतीले वडा कार्यालयमा विवाह दर्ता गर्न आएकी थिइन् । कान्छी श्रीमतीतर्फ एउटा छोरी रहेको जनाइएको छ । विद्यालयमा पढ्न जन्मदर्ता मागेपछि कान्छी श्रीमती विवाह दर्ता गर्न आएको पीडित पक्षको भनाई छ । पीडित किशोरकी आमा अर्थात जेठी श्रीमती सानोकान्छी कार्कीले बच्चाको भविष्य बिगार्न नहुने भएकाले जन्मदर्ता बनाइदिने विश्वास दिलाएको बताएकी थिइन् ।

‘मैले जन्मदर्ता बनाइदिन्छु भनेकै थिएँ । मेरो श्रीमानमाथि सौता लाग्न पनि जाने । अहिले आएर मलाई पिट्ने, मेरो छोरालाई पिटाउन लगाउने कुरा राम्रो हुँदैन नी ।’, उनले भनिन् ।परिवारिक झैझगडा मिलाउने प्रयास गर्नुको सट्टा वडाअध्यक्ष अर्यालले सनकको भरमा उल्टै युवक पिटेर घटनालाई थप विवादित बनाइदिएको आरोप छ । घटनापछि जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोली पनि रमिते बनेर फर्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।

वडाध्यक्ष अर्यालले भने आफूले कार्कीलाई कुटपिट नगरेको बताए । पीडित किशोरको गर्धनमा हातको डाम नै रहेपनि वडाध्यक्ष अर्याल भने आफूले नकुटेको दाबी गरिरहेका छन् । वडा कार्यालय झगडा भएपछि आफूले छुट्याएको उनको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*