ट्वाङग्रामा रापियो नरिवलको १ हजार २ सय विरुवा
हेटौंडा- मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकाको ट्वाङग्राको नदीउकास क्षेत्रमा नरिवलको विरुवा रोपिएको छ ।मनहरी–४ स्थित नदीउकास क्षेत्रको सार्वजनिक जग्गामा एक हजार दुई सयवटा नरिवलको विरुवा रोपिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रम र वडाको करिब ११ लाख रुपैयाँ बजेटबाट नरिवलको बिरुवा रोपिएको हो । पालिकाको ४ नम्बर वडामा सुरु गरिएको नरिवलको बिरुवा रोप्ने कार्यलाई गाउँपालिकाले विस्तार गर्दै लैजाने योजना बनाएको छ ।
जिल्लामै पहिलोपटक सुरु गरिएको नरिवल खेतीलाई निरन्तरता दिने मनहरी गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममै उल्लेख गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष ०८०÷८१ को नीति तथा कार्यक्रमको वन, वातावरण तथा विपत् व्यवस्थापन शीर्षकमा सामुदायिक वन तथा डिभिजन वनको सहयोगमा नदीउकास पर्ती जमिनमा स्थानीयलाई आर्यआर्जन गर्ने गरी नरिवलको बिरुवा रोप्ने कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।
पालिकाको ४ नम्बर वडा कार्यालयको अगुवाइमा करिब चार बिगहा क्षेत्रफल सार्वजनिक जग्गामा नरिवल खेती सुरु गरिएको हो । यस कार्यलाई निरन्तरता दिँदै जाने गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताए । कालाखेतीले नरिवल रोपेर नदीउकास जमिनको संरक्षण हुनुका साथै बस्ती जोगाउन र आयआर्जनमा सहयोग पुग्ने विश्वास लिए । ४ नम्बर वडाअध्यक्ष प्रकाश थापाले तटबन्धपछि रहेको नदीउकास जग्गामा वडा कार्यालयको अगुवाइमा एक हजार दुई सय नरिवलका बिरुवा रोपिएको जानकारी दिए ।
नदीउकास जग्गा अतिक्रमणमा पर्ने सम्भावना बढ्दै गएपछि संरक्षणसँगै वडा र पालिकाको आयआर्जनका लागि स्रोत बढाउने लक्ष्यसहित नरिवल खेती सुरु गरिएको उनले बताएका छन् । मनहरी–४ का स्थानीयले आफ्नो बारीमा नरिवल फलाएका छन् । नरिवल फल्ने निश्चित भएपछि परीक्षणको रुपमा लगाइएको वडाध्यक्ष थापाको भनाइ छ ।
नरिवल खेतीको गोडमेल, संरक्षणलगायतका काम वडा कार्यालयले नै गर्ने जनाइएको छ । नरिवलको बिरुवा हुर्किएपछि यस क्षेत्रको खोलाकिनारमा आन्तरिक पर्यटकीय स्थलका रुपमा विकास हुने सक्ने अपेक्षा स्थानीय सरकारको छ ।
डेङ्गीको प्रकोप बढेको समयमा नरिवल पानीको अभाव भएको थियो । मनहरी–४ मसिने र ट्वाङग्रा खोलाको किनारमा नदीउकास जमिनमा नरिवलको बिरुवा रोप्दा स्थानीयको आयस्रोत पनि बृद्धि हुने र खोला किनारमा हरियाली पनि बढ्ने भन्दै वडा कार्यालयले नरिवलको बिरुवा रोप्ने अभियान अगाडि बढाएको हो । खहरे खोलाको दायाँबायाँ नरिवलको बिरुवा रोप्दा खहरे नियन्त्रण पनि हुने र स्थानीयको आयआर्जन पनि हुने भएकोले यो अभियानलाई परीक्षणको रुपमा अगाडि बढाइएको वडा कार्यालयले जनाएको छ ।







