प्रहरीको पहलमा राक्सिराङमा रोपियो ४ हजार कफीको विरुवा
हेटौंडा- मकवानपुरको राक्सिराङमा गाँजाको बिकल्पको रुपमा कफीको विरुवारोपण गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत राक्सिराङ गाउँपालिका–५ ठाडेचुरेमा गाँजाको बिकल्पको रुपमा कफीको विरुवा रोपण गरिएको हो ।बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरीनायव महानिरीक्षक किरण राणाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा ४ हजार कफीको विरुवारोपण गर्नुका साथै १५ हजार बिरुवा राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ललाई हस्तान्तरण गरिएको थियो ।
मास्के मल्टिप्रपोज एग्रिकल्चर एण्ड रिसर्च प्रा.लि. चितवनसँगको सहकार्यमा समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत कफीको बिरुवारोपण गरिएको मकवानपुरका निमित्त
प्रहरीप्रमुख प्रहरीनायव उपरीक्षक टेकबहादुर कार्कीले बताएका छन् । मास्के मल्टिप्रपोज एग्रिकल्चर एण्ड रिसर्च प्रा.लि. चितवनका प्रमुख धनबहादुर श्रेष्ठले गाँजाखेती प्रभाबित क्षेत्रका किसानको आयाआर्जनका लागि ५ लाख बिरुवा हस्तान्तरण गर्ने योजना रहेको जानकारी गराएका छन् ।
राज्यले स्थानीय किसानलाई गाँजाखेतीको बिकल्प दिन नसकेका कारण स्थानीय जनप्रतिनिधिलाई पनि समस्या भएको थियो । नेपालमा गाँजाखेती अबैध मानिन्छ । तर, मकवानपुरका पश्चिमी क्षेत्रका ग्रामीण बस्तीमा गाँजाको बिकल्पमा अन्य खेती नै पुग्न सकेको छैन ।







