मकवानपुर हुँदै चल्ने रेलमार्गः भारतले बुझायो डिपिआरको मस्यौदा
हेटौंडा- मकवानपुरको भूभागबाट चल्ने काठमाडौं–रक्सौल विद्युतीय रेलमार्गको भारतले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)को मस्यौदा नेपाललाई बुझाएको छ ।
नेपालको सुझाव लिने उद्देश्यसहित भारतले गत साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई उक्त रेलमार्गको डिपिआरको मस्यौदा बुझाएको हो । भारतीय कम्पनी कोंकण रले कर्पाेरेसन लिमिटेडले उक्त आयोजनाको डिपिआरको मस्यौदा नेपाललाई दिएको मन्त्रालयले जानकारी दिएको छ । भारतले आफ्नै लगानीमा उक्त रेलमार्गको डिपिआर बनाएको हो । साथै, मन्त्रालयले उक्त मस्यौदा रेल विभागलाई समेत पठाइसकेको छ । अब मन्त्रालय, विभाग र विज्ञहरुले उक्त मस्यौदामाथि अध्ययन गरेर भारतलाई
टिप्पणी तथा सुझाव पठाउनेछन् ।त्यसका आधारमा भारतले अन्तिम (फाइनल) डिपिआर नेपाललाई बुझाउनेछ । सम्झौताअनुसार भारतले गत चैत मसान्तभित्रै नेपाललाई अन्तिम डिपिआर बुझाउनुपर्ने थियो । तर, साढे दुई महिना ढिला गरेर भारतले डिपिआरको मस्यौदा मात्रै बुझाएको हो । नेपालले टिप्पणी तथा सुझाव पठाएर अन्तिम डिपिआर आउन थप समय लाग्ने देखिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले मस्यौदामा आवश्यक अध्ययन गरेर भारतलाई टिप्पणी तथा सुझाव पठाइने बताए । त्यसका आधारमा भारतले डिपिआरको अन्तिम फाइल पठाउने उनको भनाइ छ ।
मन्त्रालयका अनुसार डिपिआरमाथि आवश्यक अध्ययन गरेर सुझाव पठाउने काममा रेल विभागले नै नेतृत्व गर्नेछ । त्यसका लागि मन्त्रालयले विभागमा मस्यौदासमेत पठाइसकेको छ । रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले अब मस्यौदामाथि अध्ययन अघि बढाउने बताए । त्यसका आधारमा प्रतिवेदनले अन्तिम रुप पाउनेछ । काठमाडौं–रक्सौल रेलमार्गको फाइनल लोकेसन सर्भे १८ महिनाभित्र यो काम सकाउने गरी २२ असोज २०७८ मा नेपाल र भारतबीच द्विपक्षीय समझदारी (एमओयू) भएको थियो । एमओयू अनुसार रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन भारतले आफ्नै खर्चमा भारतीय सरकारी कम्पनीमार्फत तयार गरेको हो ।
मकवानपुरको भूमि हुँदै गुड्ने भनिएको रेलमार्ग निर्माणको प्रक्रियाले गति लिएको छ । दुई देशबीचको उच्च प्राथमिकतामा परेर रेलमार्ग निर्माण भएको अवस्थामा मकवानपुरको आर्थिक र सामाजिक विकासको ढोका खुल्नेछ । प्रस्तावित रेलमार्ग रौतहट र बारासँग सीमाना जोडिएको मकवानपुरको साविक धियाल गाविस हाल बकैया गाउँपालिकाको धियाल हुँदै सिस्नेरी पुग्ने जनाइएको छ । धियाल र सिस्नेरीको बीचमा शिखरपुरसँग पनि रेलमार्ग जोडिने भएको छ । मकवानपुरबाट रेलमार्ग मात्र नभई निजगढ–काठमाडौं फाष्ट ट्रयाक पनि निर्माणाधीन छ ।
रेलमार्ग र फाष्ट ट्रयाक निर्माण पश्चात मकवानपुर सडक पूर्वाधारले थप सुसज्जित हुने देखिएको हो । सरकारले गत आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा काठमाडौं–रक्सौल रेलमार्ग र काठमाडौं–रसुवागढी रेलमार्गको डीपीआर सम्पन्न गर्ने जनाएको थियो । काठमाडौं–रक्सौल रेलमार्गको फाइनल लोकेशन सर्भे (एफएलएस) का आधारमा रेलमार्ग मकवानपुरको धियाल–शिखरपुर–सिस्नेरी हुँदै काठमाडौं पुग्ने देखिएको हो । प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्गको लम्बाइ १३६ किलोमिटर हुने देखिएको थियो ।
प्रस्तावित रेलमार्गको करिब ४० किलोमिटर खण्डमा सुरुङ रहनेछ भने साना–ठूला गरी करिब ३५ वटा पुल पनि बनाउनुपर्ने देखिएको थियो । डीपीआर प्रतिवदेन प्राप्त भएपछि आयोजनाको निर्माणको मोडालिटबिारे छलफल अघि बढ्नेछ । रक्सौलबाट आउने क्रममा रेलबाराको जीतपुर, निजगढ, मनवानपुरको शिखरपुर, सिस्नेरी हुँदै काठमाडौं आइपुग्नेछ । यसबीचमा कुल १३ वटा रेल स्टेसन रहने छन् । जसमध्ये तीन वटा स्टेशन मकवानपुरमै पर्ने भएको छ । मकवानपुरमा रेलको स्टेशन धियाल, शिखरपुर र सिस्नेरीमा हुने जनाइएको हो ।
रेल रक्सौल, वीरगञ्ज, बगही, पिपरा, डुमरवाना, ककडी, निजगढ, चन्द्रपुर, धियाल, शिखरपुर, सिस्नेरी, साथीखेल र चोभारमा रोकिनेछ । रेलमार्गमा भारतीय प्रकारको ब्रोडगेज प्रयोग गरिने जनाइएको छ ।रेलमार्ग निर्माणको लागत नेपाली २ खर्ब ५४ अर्ब नेपाली रुपैयाँ (१ खर्ब ६५ अर्ब ५० करोड ४४ लाख ६० हजार भारु) लाग्नेछ । रेलमार्ग निर्माणका क्रममा भौगोलिक बनावट, भौगर्विक जटिलता, भूकम्पीय जोखिम र सञ्चालन असहजताका कारण जटिलता तथा चुनौती आउने अनुमान गरिएको छ । लोकेशन सर्भेबाट मकवानपुरको भूभागबाट गुड्ने भनिएको स्थान सबै भौगोलिक रुपमा विकट छन् । धियाल पनि विकट हो । शिखरपुर र सिस्नेरी पनि भौगोलिक रुपमा विकट रहेका छन् ।







