राजनीतिक दललाई व्यवसायीको ध्यानाकर्षण
हेटौंडा- हेटौंडा बजार क्षेत्रको सडक विस्तार सम्बन्धमा व्यवसायीहरुले मकवानपुरका राजनीतिक दलको ध्यानाकर्षण गराएका छन् । हेटौडाका व्यवसायीले शुक्रबार नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलाई सडक विस्तारको विषयमा ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
व्यवसायीले ध्यानाकर्षण पत्र नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नेकपा एमालेका अध्यक्ष एकालाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सर्केस घलान, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक भरत पराजुली, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला उपाध्यक्ष सागर थापालाई बुझाएका छन् । सडक डिभिजन कार्यालयको सूचनाविरुद्धमा व्यवसायीले कुनै सल्लाह नै नभई सूचना जारी भएको र सूचनाको म्याद भित्र व्यवसाय स्थानान्तरण गर्न समस्या भएको भन्दै ध्यानाकर्षण बुझाएका हुन् ।
राजनीतिक दलका प्रमुखहरुलाई बुझाइएको ध्यानाकर्षण पत्रमा सडकको हाल विद्यमान चौडाईलाई बढाएर विकल्प खोज्ने, वास्तविक लगत लिने, सडक विस्तार हुँदा व्यवसायीको उचित स्थानमा व्यवस्थापन तथा घरधनीलाई मुआब्जा दिनुपर्नेलगायत उल्लेख गरिएको छ । यसअघी व्यवसायीले सडक विस्तार सम्बन्धमा सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय मकवानपुर र हेटौंडा उपमहानगरपालिकालाई ध्यानाकर्षणपत्र बुझाएका थिए ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्मको सडक २५ मिटर विस्तार गर्न सडक डिभिजन कार्यालय हेटौंडाले असार १० गते सूचना जारी गरेको थियो । ३५ दिने सूचनाको म्याद साउन १५ गतेसम्ममा घर–टहरा हटाउन सम्बन्धित घर धनीलाई सार्वजनिक सूचना जारी गरेको थियो ।







