हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द

साझाकुरा
२०८० श्रावण ७, आईतवार ११:१८

हेटौंडा-सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगमा सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योगमा क्लिङ्कर उत्पादनका लागि आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएकाले बाध्यतावश उत्पादन बन्द गर्नुपरेको उद्योग व्यवस्थापनको महाशाखाले जनाएको छ ।

उद्योगमा अहिले पर्याप्त कोइलाको अभाव भएकाले पनि क्लिङ्कर उत्पादन गर्ने कार्यलाई तत्काल सञ्चालन गर्न कठिनाइ भएको उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले जानकारी दिए ।

उद्योगमा बाह्य देशबाट गुणस्तरीय कोइला करिब दुई हप्ताभित्र ल्याइने तयारी भइरहेको र प्रथम चरणमा एक हजार मेट्रिकटन केही दिनभित्रै उद्योगमा आइप’ग्ने महाप्रबन्धक पाण्डेले जानकारी दिए । कोइला आइपुगेपछि सिमेन्टको उत्पादन कार्य सुरु गरिने महाप्रबन्धक पाण्डेले बताए ।

पाण्डेका अनुसार अहिले सिमेन्ट उद्योगको भण्डारणमा करिब आठ सय मेट्रिकटन कोइला रहेको भएपनि पर्याप्त कोइला नहुँदासम्म क्लिङ्कर उत्पादन गर्न समस्या आइपरेको छ । महाप्रबन्धक पाण्डेले उद्योगमा अहिले दुई लाख ५० हजार बोरा सिमेन्ट मौज्दात रहेको र त्यसलाई काठमाडौंलगायत विभिन्न सहरमा खपतको लागि तयारी अवस्थामा राखिएको जानकारी दिए ।

उद्योगको क्लिङ्कर उत्पादन गर्ने आगो बाल्ने भट्टीको केही उपकरणको आगामी एक हप्ताभित्रै मर्मतसम्भार गर्ने लक्ष्य रहेको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए । करिब चार दशक पुरानो हेटौंडा सिमेन्ट उद्योगबाट विसं २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरिएको थियो ।

२०७५ देखि हालसम्म उद्योगले १ अर्ब ५२ करोड १४ लाख ५७ हजार रुपैयाँ दायित्व तिर्न बाँकी छ । यो दायित्वअन्तर्गत उद्योगमा काम गरेका कार्मचारीको उपदान, कच्चापदार्थ आपूर्ति गर्ने पार्टीलाई दिनुपर्ने भुक्तानी, मेसिनरी औजारको भुक्तानीलगायत छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*