हेटौंडा–मातातीर्थ–कलंकी सडक निर्माणमा ढिलाई
हेटौंडा-हेटौंडा र काठमाडौं जोड्ने सबैभन्दा छोटोमार्ग रहेको इन्द्रसरोबरको महालक्ष्मी खोला– मातातीर्थ–कलंकी सडक निर्माणमा ढिलाई भएको छ ।वर्षौदेखि ट्रयाक खोलेर सडक सञ्चालन भएपनि यो मार्ग जोखिमयुक्त थियो । हेटौंडा–काठमाडौं जोड्ने दुईवटा छोटोमार्ग भन्दा इन्द्रसरोबरको महालक्ष्मी खोला–मातातीर्थ–कलंकी सडक खण्ड झनै छोटो रहेको छ ।
हेटौंडा–काठमाडौं जोड्न छोटोमार्गअन्तर्गत् कुलेखानी–फाखेल–फर्पिङ र कुलेखानी–सिस्नेरी–फर्पिङ सडकखण्ड नियमित सञ्चालनमा आएका थिए ।
सिस्नेरी भन्दा फाखेल सडकखण्ड अझै छोटो छ । तर, सबैभन्दा छोटो सडकखण्ड भनेको महालक्ष्मी खोला– मातातीर्थ–कलंकी सडक थियो । यो सडकमा सवारीसाधन नियमित सञ्चालन भने भएका थिएनन् ।
साँघुरो सडक र चन्द्रागिरी डाँडामा व्यवस्थित सडक नबन्दा सवारीसाधनहरु नियमित सञ्चालन हुन सकेका थिएनन् । विगतदेखि यो सडकको स्तरीकरणमा सरकार लागिपरेको छ । तर, पनि हेटौंडाबाट भीमफेदी, कुलेखानी, महालक्ष्मी दोभान हुँदै काठमाडौँको सतुंगल–कलंकी जोड्ने सडकको काम निर्माण कम्पनीका कारण ढिलाइ हुँदै आएको छ । बागमती प्रदेश सरकारबाट दुईखण्डमा विभाजन गरी काम हुँदै आएको यो सडकको महालक्ष्मी दोभान–मकैबारी खण्ड प्रदेशको पूर्वाधार विकास कार्यालय चितवनमार्फत् र मकैबारीदेखि मातातीर्थ–सतुंगल खण्ड पूर्वाधार विकास कार्यालय ललितपुरमार्फत् काम भइरहेको हो ।
दुवै खण्डको काममा ढिलाइ भएसँगै लापरबाही भएको भन्दै स्थानीय जनप्रतिनिधि र महालक्ष्मी दोभान–घट्टेखोला–चखेल–देउराली–मातातीर्थ–सतुंगल सडक सरोकार समितिले असन्तुष्टि जनाउँदै आएका छन् । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ का वडाध्यक्ष दुतराज तितुङले दुवै खण्डका सडकको अवस्था र निर्माणमा गर्नुपर्ने सुधारबारे गत असारमा बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयलाई ध्यानाकर्षण गराइए पनि सुनुवाइ नभएको बताए । दुवै सडकखण्ड निर्माण कम्पनीसँग सम्झौता भएको मितिले १८ महिनामा सम्पन्न गर्नुपर्ने थियो ।
महालक्ष्मी दोभान–चखेल–मकैबारी खण्ड आर्थिक वर्ष २०७७÷७८ मा र मकैबारीदेखि मातातीर्थ–सतुंगल खण्ड २०७५÷७६ मा ठेक्का सम्झौता भएको हो । महालक्ष्मी दोभान–मकैबारी खण्ड एकपटक र मकैबारीदेखि मातातीर्थ–सतुंगल खण्डको तीनपटक म्याद थप भए पनि निर्माणको काम पूरा भएको छैन । मकवानपुरतर्फको तुलनामा काठमाडौंतर्फको काम ढिलो भएको छ ।
काठमाडौंतर्फको काम तेस्रो पटक म्याद थपिँदासमेत पूरा नभएपछि पुनः म्याद थपको दौडधुपमा निर्माण कम्पनी लागेको छ । पूर्वाधार विकास कार्यालय चितवनका प्रमुख वीरेन्द्रप्रसाद चौधरीले महालक्ष्मी दोभान–मकैबारी खण्डको एक पटक थपिएको म्याद गत जेठमा सकिएको भन्दै काम अन्तिम चरणमा पुगेको र साउनभित्र काम पूरा गरी कालोपत्र गर्ने योजना रहेकाले पुनः म्याद थप नभएको जानकारी दिए ।
उनकाअनुसार साढे ६ किमि लम्बाइको यो खण्डको तीन स्थानमा ह्युम पाइप हाल्ने र ६० मिटर ढलान गर्ने काम बाँकी छ । कालोपत्रे गर्न बोलपत्र आह्वान भइसकेको बताउँदै सात मिटर चौडा कालोपत्रेसहित ढल निर्माण हुने चौधरीले बताए । चालु आर्थिक वर्षका लागि यो सडक निर्माणमा प्रदेश सरकारले पाँच करोड रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए । इन्द्रसरोवर गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत रहेका समितिका संयोजक जीवन लामाले सडक निर्माणमा छिटो सक्न मन्त्रालयको ध्यानाकर्षण गराइएको जानकारी दिएका छन् ।







