पारिश्रमिकबाट सुत्केरीलाई पोषण सामग्री
हेटौंडा=पूर्वी मकवानपुरको बागमती गाउँपालिका–८ भित्र सुत्केरी हुने महिलालाई पोषण सामग्री उपलब्ध गराइएको छ ।
बागमती शान्तिपुर चारपट गाउँकी ३० बर्षीया माइलीमाया लोप्चनलाई शनिवार बिहान पोषण सामग्री उपलब्ध गराइएको हो । उनी साउन ३ गते बेतिनी स्वास्थ्यचौकी फापरवारीमा सुत्केरी भएकी थिइन् ।
उनलाई चार हजार बराबरको लोकल कुखुरा, तोरीको तेल, जिरा, धनिया, ज्वानु, मेथी, आयोनुन, मसला, सावुन वडाअध्यक्ष इन्द्रमणि तिमल्सिना (केशव) ले घरमै पुगेर हस्तान्तरण गरेका थिए ।
जनप्रतिनिधिले आफ्नै खर्चबाट घरमै आएर पोषण सामग्री दिएकोमा सुत्केरीका परिवार खुसी भए । यस्ता कार्यक्रमले आमा, नवजात शिशुको पोषण सुधार हुने भएकाले यो कार्यको प्रशंसा गरे । तिमल्सिनाले भत्तावापत प्राप्त हुने रकमले वडाभित्र सुत्केरी हुने महिलालाई साउन १ गतेदेखि सुत्केरी पोषण सामग्री उपलब्ध गराउन कार्यविधि बनाएरै काम सुरु गरेका थिए ।
सुत्केरी महिलाको पोषणमा सुधार ल्याउने उद्देश्यले मैले मेरो व्यक्तिगत खर्चबाट सुत्केरी पोषण सामग्री उपलब्ध गराउने निर्णय गरेको हुँ, वडाअध्यक्ष तिमल्सिनाले भने ।
उनले सुत्केरी भएको १५ दिनभित्र सम्बन्धित परिवारको सदस्यले वडा कार्यालयमा उपस्थित भएर जानकारी गराउनुपर्ने, स्वास्थ्य संस्थामा सुत्केरी गराएको प्रमाणपत्र (वर्थ सर्टिफिकेट) र बच्चाको जन्मदर्ता गराएको प्रमाणपत्र पेश गर्नुपर्ने बताए । गत बर्ष ८ नं. वडामा ६० जना सुत्केरी भएको वडाअध्यक्ष तिमल्सिनाले बताए ।







