घरेलुहिंसा दुई वर्षदेखि दोब्बरले वृद्धि, एकैवर्ष ७४ जनाको आत्महत्या

प्रतिक्षा न्यौपाने
२०८० श्रावण ९, मंगलवार १०:३०

हेटौंडा-मकवानपुरमा चार आर्थिक वर्षको तथ्यांकलाई आधार मान्दा पछिल्लो दुई वर्षदेखि आत्महत्याको अवस्था एउटै बिन्दु अर्थात, बढेको अवस्थामा छ ।विगतका दुई वर्षमा भन्दा पछिल्लो दुई आर्थिक वर्षमा घरेलुहिंसा दोब्बरले बढेको देखिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरको महिला तथा बालबालिका सेवाकेन्द्रको तथ्यांक अनुसार आर्थिक वर्ष ०७६÷७७, ०७७÷७८ मा घरेलुहिंसाको उजुरी दर्ता क्रमशः २ सय ७७ र २ सय ७६ थियो । तर, आर्थिक वर्ष ०७८÷७९ र ०७९÷८० मा घरेलुहिंसाको उजुरी दर्ता क्रमशः ४ सय ३९ र ४ सय ३२ भएको महिला तथा बालबालिका सेवाकेन्द्रले जानकारी दिएको छ ।

आव ०७८÷७९ मा परेको ४ सय ३९ उजुरीमा ३ सय २६ वटाको मिलापत्र भएको थियो । आव ०७९÷८० मा परेको ४ सय ३२ उजुरीमा २ सय ५९ वटा मिलापत्र भएको छ । गत आवमा ७१ वटा उजुरी मिलापत्र हुन नसकेपछि थप कारबाहीका लागि जिल्ला अदालतमा पुगेको थियो ।विगत चार वर्षको तथ्यांकलाई हेर्दा पनि स्पष्ट हुन्छ की, घरभित्र हुने मानसिक, शारीरिक, सामाजिक तथा आर्थिक रुपमा हुने हिंसा कहालीलाग्दो अवस्थामा वृद्धि भइरहेको छ ।

घरेलुहिंसा महिला, पुरुष वा बालबालिकामाथि हुने गरेको छ । तर, अधिक घरेलुहिंसा भने महिला तथा बालिकामाथि हुने गरेको तथ्यांकले देखाउँछ । पुरुषमाथि पनि घरेलु हिंसा भएको उजुरी प्रहरीकोमा आउने गरेको छ । गत आव ०७९÷८० को साउनदेखि असार मसान्तसम्म महिलामाथि कुटपिट तथा अभद्र व्यवहारका अन्य हिंसाको विवरणले पनि घरेलुहिंसाबाट महिलाहरु धेरै पीडित भएको देखाएको छ ।

महिलामाथि कुटपिट र अभद्र व्यवहारसम्बन्धी उजुरी गत आवमा मात्रै २ सय २९ वटा परेको महिला तथा बालबालिका सेवाकेन्द्रकी इञ्चार्ज प्रहरीनिरीक्षक चुडाकुमारी खड्काले जानकारी दिएकी छन् । जसमध्ये दलित समुदायबाट मात्रै २४ वटा घरेलुहिंसा सम्बन्धी मुद्दा दर्ता भएको थियो । कुल २ सय २९ वटा उजुरीमा १ सय ४६ वटामा मिलापत्र गरेर पठाइएको सेवाकेन्द्रले जनाएको छ । जसमा ८९ वटा उजुरी कार्यान्वयन हुन बाँकी रहेको छ । दलित समुदायबाट परेको २८ वटा उजुरीमा १६ वटामा मिलापत्र तथा ८ वटा उजुरी कार्यान्वयनको चरणमा रहेको प्रहरीनिरीक्षक खड्काले बताइन् ।

यसैगरी, महिला तथा बालबालिकामाथि हुने अपराधका घटनामा पनि विगतको तीन वर्ष भन्दा गत आर्थिक वर्ष ०७९÷८० मा वृद्धि भएको तथ्यांकले देखाएको छ ०७६÷७७ मा १ सय ५६, ०७७÷७८ मा १ सय ७७, ०७८÷७९ मा १ सय ५२ वटा अपराधका घटना घटेका थिए । तर, ०७९÷८० मा भने घटना वृद्धि भएर करिब २ सय २० मा पुगेको छ । गत आव ०७९÷८० मा १ जना मानवबेचबिखन, ४५ जना जर्वजस्तीकरणी, जर्वजस्तीकरणी प्रयासमा ६ जना, १० जना बहुविवाह, बालयौन दुराचारबाट ७ जना पीडित भएका छन् । भवितव्य ज्यान मुद्दाबाट २१ जना, फुटकर ज्यान मुद्दाबाट ९ जना पीडित बनेको तथ्यांकले देखाएको छ ।

प्रहरीनिरीक्षक खड्काले सामाजिक सञ्जालको बढ्दो दुरुपयोग, मदिरा तथा लागूऔषध सेवनले घरेलुहिंसा बढाउँदै लगेको बताइन् । उनले वैवाहिक सम्बन्धमा रहँदा पनि बाहिर सम्बन्ध बढाउने चरित्रका कारण घरेलुहिंसा बढेको बताएकी छन् ।सानै उमेमार हुने गरेको विवाह, देखावटी तथा अनावश्यक खर्च गर्ने व्यवहार, आत्मनिर्भर हुन नसक्नु र आर्थिक अवस्था कमजोर भएका कारण पनि हिंसा भइरहेको खड्कोका भनाई छ । हिंसा निरुत्साहनका लागि समाज, परिवार र व्यक्ति नै सचेत हुनुपर्नेमा जोड दिइन् ।
आत्महत्या गर्ने ७४ जना
महिला तथा बालबालिका सेवाकेन्द्रको तथ्यांकअनुसार गत आव ०७९÷८० मा मात्रै ७४ जनाले आत्महत्या गरेका छन् । दुई वर्षको तथ्यांक हेर्दा आत्महत्या गर्ने १२ जना बढेको देखिन्छ ।आव ०७८÷७९ मा आत्महत्या गर्नेको संख्या ६२ थियो । आव ०७६÷७७ मा आत्महत्या गर्ने ६४ जना, आव ०७७÷७८ मा ७१ जनाले आत्महत्या गरेका थिए । विगत तीन वर्षको तथ्यांकलाई हेर्दा पनि गत आवमा सबैभन्दा बढीले आत्महत्या गरेको पाइएको छ ।

चार वर्षको तथ्यांक अनुसार झुण्डिएर आत्महत्या गर्ने १ सय ५५ जना, हाम फोलर २ जना, विष सेवन गरेर १ सय १२ जनाले आत्महत्या गरेका हुन् । गत आव ०७९÷८० मा मात्रै झुण्डिएर ४४ जना, आत्मदाहबाट १ जना र विष सेवनबाट २८ जनाले आत्महत्या गरेको महिला तथा बालबालिका सेवाकेन्द्रले जानकारी दिएको छ ।

पछिल्लो दुई वर्ष हराउने पनि बढे

मकवानपुरमा चार आर्थिक वर्षको तथ्यांकलाई आधार मान्दा पछिल्लो दुई वर्ष महिला, बालबालिका र ज्येष्ठ नागरिकहराउनेको संख्यामा वृद्धि भएको पाइएको छ ।
विगतका दुई वर्षमा भन्दा पछिल्लो दुई आर्थिक वर्षमा हराउनेहरु बढेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको महिला तथा बालबालिका सेवाकेन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष ०७६÷७७ मा २ सय ७६ जना (१७४ महिला, २४ बालक, ७० बालिका र ८ ज्येष्ठ नागरिक) र आव ०७७÷७८ मा २ सय ८६ जना (१७४ महिला, २८ बालक, ७५ बालिका र ९ ज्येष्ठ नागरिक) हराएका थिए ।

यसैगरी, आर्थिक वर्ष ०७८÷७९ मा ३ सय २९ जना (१९४ महिला, बालक ४४, ७८ बालिका र १३ ज्येष्ठ नागरिक) तथा गत आव ०७९÷८० मा ३ सय ७ जना (१७८ महिला, ३४ बालक, ८५ बालिका र १० जना ज्येष्ठ नागरिक) हराएका हुन् ।आव ०७६÷७७ मा २ सय ७५ जना, ०७७÷७८ मा २ सय ७९ जना, ०७८÷७९ मा ३ सय २७ जना र गत आव ०७९÷८० मा २ सय ७१ जना फेलापरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवाकेन्द्रले जानकारी दिएको छ । गत आवमा हराएकामध्ये ३६ जना फेला पर्न बाँकी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*