निर्माण व्यवसायीले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र
हेटौंडा-निर्माण व्यवसायी महासंघ बागमती प्रदेश र निर्माण व्यवसायी संघ मकवानपुरले निर्माण व्यवसायीको काम गरेर रोकिएको रकम भुक्तानी तत्काल गर्नुपर्नेलगायतका माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।निर्माण व्यवसायी महासंघ बागमती प्रदेशले बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयमार्फत् र निर्माण व्यवसायी संघ मकवानपुरले मकवानपुरका प्रमुख जिल्ला अधिकारी मार्फत् मंगलबार ज्ञापनपत्र बुझाएको हो ।
सरकारले अमूर्तरुपमा म्याद थप गर्न गरेको निर्णय अस्वीकार्य भएको भन्दै निर्माण व्यवसायीहरुले सबै आयोजनाको एकमुष्ट म्याद थप गर्न माग गरेका छन् । निर्माण व्यवसायी महासंघ बागमती प्रदेशका सहकोषाध्यक्ष राजेश भेटवालले मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउँदै सरकारले निर्माण व्यवसायीलाई समयमा कामको भुक्तानी नगर्दा निर्माण उद्योग समस्यामा परेको बताए ।
यस्तै निर्माण व्यवसायी संघ मकवानपुरका कार्यबाहक अध्यक्ष सागर कटुवालले मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईलाई ज्ञापनपत्र बुझाउँदै पछिल्लो समय निर्माण सामग्रीमा भएको मूल्यवृद्धिलाई संवोधन गर्ने गरी मूल्य समायोजन गर्नुपर्ने बताएका छन् ।
प्रजिअसमक्ष ज्ञापनपत्र बुझाउन कावा अध्यक्ष कटुवालको नेतृत्वमा द्वितीय उपाध्यक्ष भवनाथ अधिकारी, महासचिव राजेन्द्रप्रसाद चौलागाई, उपमहाचिव सुरज बर्तौला, कोषाध्यक्ष अनल श्रेष्ठ, सहकोषाध्यक्ष प्रकाश लामासहितको टोली गएको थियो ।







