व्यवसायीलाई सडकको ताकेता, ‘निरंकुश कार्यशैली स्वीकार्दैनौं’

साझाकुरा
२०८० श्रावण १२, शुक्रबार ११:४९

हेटौंडा- सडक डिभिजन कार्यालयले हेटौंडाले जर्वजस्ती रुपमा सडक भत्काउन खोज्नु निरंकुश कार्यशैली भएको व्यवसायीहरुले आरोप लगाएका छन् । तर, डिभिजन सडकले राजमार्गको केन्द्रबिन्दुबाट २५ मिटर दायाँबायाँका घरटहरा, पसल, ब्यवसाय खाली गर्न बिहीबार पम्प्लेटिङ र माइकिङ गरेको छ । सर्वोच्च अदालतको आदेशविपरित सडक विस्तारको सूचना निकालेको दाबी गर्दै आएका हेटौंडाका व्यवसायीहरुले सडक डिभिजनको निरंकुश कार्यशैली असह्य हुने बताएका छन् ।

बिहीवार मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा बिहीबार भएको पत्रकार सम्मेलनमा व्यवसायीहरुले घरधनीलाई मुआब्जा र व्यवसायीलाई क्षतिपूर्ति दिएर मात्रै सडक विस्तार गर्न माग गरेका छन् । घरधनी र व्यवसायीहरु त्रसित बनिरहेको र सडक डिभिजनले सर्वोच्च अदालतको प्रष्ट फैसला हुँदाहुँदै पनि फैसलाको नै अवहेलना हुने कार्यशैली अपनाइएको संघका अध्यक्ष कृष्णकुमार गुप्ताले बताए ।

‘सडक डिभिजन हेटौंडाले २०८० आषाढ १० गतेको कान्तिपुर दैनिक पत्रिकामार्फत राष्ट्रिय राजमार्गका अतिक्रमित संरचना हटाउने बारेको अत्यन्त जरुरी सूचना शिर्षकमा प्रकाशित सूचना र सडक डिभिजन हेटौंडाको पछिल्लो गतिविधिले राजमार्ग छेउका घरधनी तथा व्यवसायीहरु चिन्तित र त्रसित छन् ।,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ । जर्वजस्ती सडक विस्तार गर्न खोज्नु कानूनी राज्य र लोकतन्त्रमा जनता सर्वोपरी हुने तथ्यलाई खिल्ली उडाएको आभाष हुने व्यवसायीहरुको आरोप छ ।

नागरिकको घरजमिन माथि स्वामित्व हुने प्रमाण भनेकै लालपूर्जा र सोको वार्षिक राजश्व भुक्तानीको कागजात मात्र भएको संघले दाबी गरेको छ । ‘राज्यको जुनसुकै स्थानका घरजग्गा धनिको हुने भनेकै त्यही लालपूर्जा र राजश्व भुक्तानीको कागजात हो जुन अहिले सडक डिभिजन हेटौंडाले अतिक्रमण भनेको क्षेत्रका घरजग्गा धनिहरुसँग पनि त्यही प्रमाण दुरुस्त छ । तसर्थ अपव्याख्या गरी अतिक्रमणको नाम दिई नागरिकलाई सुकुम्बासी बनाउने प्रपञ्चमा हाम्रो गम्भीर आपत्ति रहँदै आएको सबैमा सर्वविदित नै छ ।’, संघले भनेको छ ।

सर्वोच्च अदालतबाट फैसला भएमुताविक सडक विस्तार गर्दा नागरिकको निजी सम्पत्तिको उचित रकम थपेर दिनुपर्ने र क्षतिपूर्ति तथा मुआब्जा दिनुपर्ने स्पष्ट आदेशको पूर्ण खिलापमा गई पछिल्लो समय क्षतिपूर्ति तथा मुअब्जाको कुनै उच्चारण नै नगरी सडक डिभिजन हेटौंडाले माइकिङ गर्ने, सूचना टाँस गर्ने जस्ता त्रास फैलाएर सनसनी मच्चाउने कार्य गरेको संघका अध्यक्ष गुप्ताले गुनासो गरे । उनले सर्वोच्चबाट सडक विस्तार गर्नुपूर्व क्षति हुने घरजग्गाको जाँचबुझ गरी विवरण संकलन गर्न भएको आदेशको समेत परिपालना नगरिएको बताए ।

सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभाव पार्ने गरी फैसलाहरुको मर्म र भावना विपरित सडक डिभिजन कार्यालयले गरिरहेको क्रियाकलापले सम्पूर्ण घरधनी र व्यवसायीहरुमा असुरक्षाको महशुश भएको दाबी व्यवसायीहरुको छ । मानवीय संवेदनाहीन, राज्यशक्तिको दुरुपयोगपूर्ण र निरंकुश कार्यशैली असह्य रहेको उनीहरुले बताएका छन् ।

निरंकुश कदमको विरुद्ध विरोध र संघर्ष जारी रहने संघ अध्यक्ष गुप्ताले चेतावनी दिए । ‘घरधनी तथा व्यवसायीको हकमा एकसूत्रीय माग पूरा गरी निर्वाध सडक विस्तार गर्न सडक डिभिजन हेटौंडालगायत अन्य सबै तालुक निकायहरुमा जोडदार माग गर्दछौं ।,’ व्यवसायीहरुले भनेका छन् ।

मकवानपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष भुवनलाल श्रेष्ठले राप्तिरोडमा मात्रै १ सय १ घर भत्किने र २ सय ५० व्यवसायी विस्थापित हुने दाबी गरे । संघका पूर्वअध्यक्ष तथा बस्ती संरक्षण समितिका सहसंयोजक उत्तम शर्मा ढकालले अदालतको आदेश पालना गर्न र संविधानप्रदत्त नागरिकको बसोबासको अधिकार संरक्षण गर्न सबैपक्ष एक हुनुपर्नेमा जोड दिए ।

१५ साउनभित्र सामान हटाउन व्यवसायीलाई ताकेता

सडक डिभिजन कार्यालय हेटौंडाले साउन १५ गतेभित्र हेटौंडा मुख्य बजारक्षेत्रको २५÷२५ गज सडकसीमा भित्र परेका घर तथा संरचनामा संचालित व्यापार, व्यवसायका आफ्नो सामान सुरक्षित स्थानमा सार्न व्यवसायीलाई आग्रह गरेको हो । सडक डिभिजन हेटौंडाका प्रमुख राजेशप्रसाद यादवले यसपटक सडक विस्तार कार्य
नरोकिने भन्दै सूचना नै निकालेर हेटौंडा मुख्य बजारक्षेत्रको २५÷२५ गज सडकसीमा भित्र परेका व्यापार र व्यवसायका आफ्नो सामान सुरक्षित स्थानमा सार्न व्यवसायीलाई आग्रह गरिएको बताएका छन् ।

यादवले सडक विस्तार हुँदैन भनेर हाम्रो सूचनालाई अटेर गरेर अझै पनि व्यवसायीले आफ्नो व्यवसाय स्थानान्तरण नगरेको पाइएकोले सूचना प्रकाशित गरेर साउन १५ भित्र समाना स्थानान्तरण गर्न भनेको कुरा स्पष्ट पारेका छन् । उनले सर्वोच्च अदालतले १५ दिनभित्र जवाफ दिन बोलाएको र २ जना घरधनीका लागि मात्र अल्पकालीन आदेश आएकोले भ्रममा नरहन भन्दै सबैलाई सडक विस्तार कार्यमा यसपटक सहयोग गर्न भनेका छन् ।

डिभिजन सडक कार्यालयले यही साउन १६ गतेबाट हेटौंडा–१५ रातोमाटेदेखि हेटौंडाको राप्ती पुलसम्म एकैसाथ जुनसुकै स्थानबाट सडक विस्तार सुरु गर्ने बताएको छ । यसका लागि जेसिबि, डोजर र अन्य उपकरण तयारी अवस्थामा रहेको सुनाए । सडक कार्यालयले केही दिनअघि क्षेत्राधिकार भित्र पर्ने हेटौंडा–१५ को वडा कार्यालय र जनजागृति माविको पर्खाल र त्यहाँ बनेको संरचना भत्काइसकेको छ । मनहरी गाउँपालिकाको ६, ७, ८, ९ वडा कार्यालयलाई पनि पत्राचार गरी सडकको केन्द्रबिन्दुबाट दायाँबायाँ २५ मिटरभित्र पर्ने घरटहरा, रुख खाली गर्न आग्रह गरेका छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*