निर्माण संघद्वारा पाँच सरकारी कार्यालयको ध्यानाकर्षण

साझाकुरा
२०८० श्रावण १२, शुक्रबार ११:५७

हेटौंडा- निर्माण व्यवसायी संघ मकवानपुरले विभिन्न ९ बुँदे माग राख्दै जिल्लास्थित पाँच सरकारी कार्यालयको ध्यानाकर्षण गराएको छ ।कामको भुक्तानी र म्याद थपलगायतको मागसहित निर्माण व्यवसायी संघ नेपालले देशैभर आन्दोलनका विभिन्न कार्यक्रमहरु गरिरहेको छ । आन्दोलनको केन्द्रीय तालिका अनुसार निर्माण व्यवसायी संघ मकवानपुरले जिल्लामा रहेका सडक डिभिजन कार्यालय हेटौंडा, यातायात पूर्वाधार निर्देशनालय,सहरी विकास तथा भवन कार्यालय, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय र संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुखलाई भेटेर आफ्ना मागसहित ध्यानाकर्षणपत्र बुझाएको संघका महासचिव राजेन्द्र चौलागाईंले बताए ।

सरकारले असार २१ गते राजपत्रमा म्याद थप सम्बन्धमा सार्वजनिक खरिद ऐन बमोजिम बाधा अड्काउ फुकाउनका लागि जारी गरेको आदेशले हाल विद्यमान म्याद थप र भुक्तानी समस्या समाधान गर्न नसकेको हुँदा यसलाई सच्याइनु पर्ने चौलागाईंले बताए । संघले सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने, नेपाल सरकारबाट जारी म्याद थपको आदेशमा संशोधन गरी सम्पूर्ण आयोजनाको एकमुष्ट रुपले म्याद थप र पुनः आदेश जारी गर्नुपर्ने, अत्याधिक र अप्रत्याशित रुपले भएको मूल्यवृद्धिलाई सम्बोधन हुने गरी मूल्य समायोजन गरिनुपर्ने, रुग्ण आयोजनाहरु अन्यौलग्रस्त र बजेट नभई काम हुन नसक्ने एवं काबु बाहिरका निर्माण कार्य सुविस्ताको आधारमा अन्त्य गर्नुपर्ने माग
गरेको संघका उपमहासचिव दिनेश पनेरुले जानकारी दिए ।

त्यसैगरि संघले चेक बाउन्स र बैक ग्यारेण्टी जफत गर्ने लगायतका कार्वाही रोकिनुपर्ने, बीमाको प्रिमियम दरमा भएको वृद्धिलाई खारेज गरिनु पर्ने, श्रोतमा कट्टा गरेको अग्रीम आयकर र मूल्य अभिबृद्धि करको बाँकी बक्यौता रकम समयमा नियोक्ताले राजस्व खातामा दाखिला गरिनु पर्ने, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था खारेज गरिनु पर्ने र कानूनमा संशोधन गरिनु पर्नेलगायतको माग गरेको पनेरुले जनाए ।सरकारले मागको उचित सम्बोधन नगरे निमार्ण समाग्रीसहित काठमाडौंमा थप सशक्त सडक आन्दोलनको कार्याक्रम घोषणा गरिएको संघले जनाएको छ ।

कार्यक्रममा निर्माण व्यवसायी संघ मकवानपुरका कार्यवाहक अध्यक्ष सागर कटुवाल, द्वितीय उपाध्यक्ष भवनाथ अधिकारी, तृतीय उपाध्यक्ष भीमसेन श्रेष्ठ, कोषाध्यक्ष अनल श्रेष्ठ, कार्यसमिति सदस्य चेतबहादुर थापालगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*