पूर्वाधार क्षेत्रको टेण्डर तीन महिनाभित्र गरिसक्न निर्देशन

साझाकुरा
२०८० श्रावण १२, शुक्रबार १२:१०

हेटौंडा- बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रम बुधबारबाट हेटौंडामा सुरु भएको थियो । बिहीबारसम्म चलेकोे समीक्षा कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशका सबै जिल्लाबाट पूर्वाधारका काममा तीन महिनाभित्र टेण्डर गरिसक्न निर्देशन दिएका छन् । अन्तिम समय बैशाख जेठमा टेण्डर गर्ने र काम नगर्ने परिपाटीको अन्त्य गर्दै अब टेण्डरको काम सुरु गर्न उनले निर्देशन दिए । बजेट किताबमा रहेका योजना अहिले नै गर्न सकिने र कुन योजना गर्न नसकिने भनेर लेखेर पठाउन पनि उनले निर्देशन दिए । अब हचुवाको भरमा काम गर्ने भन्दा पनि पाँचवर्षे आवधिक योजना बनाएर काम गर्नुपर्नेमा उनले जोड दिए ।
यो प्रदेशलाई बनाउने जिम्मेवारी तपाइ हामी सबैको रहेको मुख्यमन्त्री जम्मकट्टेलले बताए ।

हेटौंडाबाट भैंसे–भीमफेदी सडक खण्डको काम ढिलो गतिमा भइरहेकाले छिटो सक्नेगरी काम गर्न पनि उनले आग्रह गरे । पूर्वाधार विकासको काममा आलटाल नगर्न आग्रह गर्दै मुख्यमन्त्री जम्मकट्टेलले भने–‘वन कार्यालयका लागि सहरी विकास कार्यालयले बनाएको भवन अहिले म बसेको छु त्यसको छत रोटी जस्तो उप्सेको छ । यसको गुणस्तर किन भएन ?’कार्यक्रमको अध्यक्षता गरेका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले कुनैपनि योजना व्यक्तिको नभएर जनता र सरकारको भएकाले काम थाल्न आग्रह
गरे । भौतिक पूर्वाधार मन्त्रालयको १५ अर्ब बजेट त बहुवर्षीय योजनामा छुट्याएर बजेट तयार गर्नुपरेको स्मरण गराए । अब बाँकी केही बजेट मात्र नयाँ योजनालाई प्राथमिकता दिएर काम गरिएको मन्त्री दुलालले बताए ।

चालु आर्थिक वर्ष र आउँदो आर्थिक वर्षसम्ममा हेटौंडाको बुद्धचोकदेखि काठमाडौंसम्मको सडक निर्माण भएर कालोपत्रे हुने दावि गरे । विकास निर्माणका काममा जहाँ समस्या छ त्यहाँको समाधान गर्न कार्यालयका प्रमुख र कर्मचारीहरु लाग्नुपर्ने बताए । कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य किरणप्रसाद गजुरेल, प्रदेशका प्रमुखसचिव घनश्याम उपाध्याय, भौतिक मन्त्रालयका सचिव शंकरप्रसाद पण्डित, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव महेश आचार्य, यातायात पूर्वाधार निर्देशनालयका निर्देशक लोकनाथ रेग्मीलगायतको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*