किसानद्वारा हेटौंडाको बुद्धचोकमा २ घण्टा चक्काजाम
हेटौंडा- गाईंभैंसीमा महामारीको रुपमा देखापरेको ‘लम्पी स्किन’ रोगको नियन्त्रणमा सरकार उदासिन देखिएको भन्दै किसानहरु सडकमा उत्रिएका छन् ।आवश्यक परेको समयमा रसायनिक मल खेतबारीमा पु¥याउन पनि नसक्ने र ‘लम्पी स्किन’ रोग संक्रमणमा पनि सरकार उदासिन बनेकाले किसानहरु शुक्रबार हेटौंडाको मुख्य सडक क्षेत्रमा आन्दोलनरत् थिए ।
सरकारलाई किसानहरुको समस्यामा गम्भीर बनाउन सडकमै उत्रिनको विकल्प नभएको आन्दोलनलाई नेतृत्व गरेको अखिल नेपाल किसान महासंघ मकवानपुरका अध्यक्ष विष्णु दंगालले जानकारी दिए । किसानले हेटौंडाको मुख्य बजारक्षेत्रस्थित बुद्धचोकमा दुई घण्टासम्म चक्काजाम गरेर सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
मनहरी गाउँपालिकाको निवर्तमान अध्यक्ष एकराज उप्रेतीले किसानहरु सडकमा रहरले नभई बाध्यताले आउनु परेको बताए । किसानका पिरमर्का सरकारले सम्बोधन नगरेका कारण सडकमा आउन सरकारले बाध्य बनाएको उप्रेतीले दाबी गरे । किसानका मागहरु पटक–पटक सरकारसँग राख्दा पनि सुनुवाई नभएपछि सवारी आवगमनसमेत बन्द गरेर धर्ना दिइएको अखिल नेपाल किसान महासंघ मकवानपुरका अध्यक्ष दंगालले बताए ।
किसानहरुले पशुपन्छीमा लागेको ‘लम्पी स्किन’ रोगको महामारीले बिकराल बनाएको परिस्थतिमा पनि सरकार हराएको भन्दै चक्का जाम गरिएको हो ।बीमा कम्पनीहरुले पशुपन्छीको बीमा भुक्तानी र नवीकरण नगरेकोमा सरकारलेसमेत वास्ता नगरेपछि देशभर किसान आन्दोलित हुनपरेको किसान महासंघका अध्यक्ष दंगालले बताए ।







