बागमतीमा अतिरिक्त काम नगर्ने कर्मचारीले भत्ता नपाउने

साझाकुरा
२०८० श्रावण १३, शनिबार १४:५९

हेटौंडा- मकवानपुरको बागमती गाउँपालिकाले कर्मचारीलाई अतिरिक्त कार्य नगरेको अबस्थामा अतिरिक्त सेवासुबिधाबापत दिइने भत्ता रकम नदिने भएको छ । पालिकाको समिक्षा कार्यक्रममा बोल्दै पालिका अध्यक्ष सर्केश घलानले अतिरिक्त सेवासुबिधाको लागि अतिरिक्त कार्य गर्नको लागि निर्देशन दिए ।अध्यक्ष घलानले राष्ट्र सेवक कर्मचारी राष्ट्रको खम्बा भएको बताउँदै १० बजेदेखि ५ बजेसम्मको तलब सुबिधा बाहेक भत्ता रकम लिन शुक्रबार र शनिबार पनि कार्य गर्नुपर्ने स्पष्ट पारे । उनले भने ‘निर्धारित सेवाको लागि सुबिधा पनि निर्धारित नै छ भने अतिरिक्त सुबिधाको लागि अतिरिक्त खटिन जरुरी छ ।’

उनले बागमती गाउँपालिकामा कर्मचारीले उत्कृष्ट काम गर्दै आएको बताउँदै आगामी दिनमा झन् उत्कृष्ट कार्य गर्न आग्रह गरे ।राज्यले गरेको खर्चको उपलब्धी निकाल्न पनि उनले सुझाए । कर्मचारीलाई आफूले गरेको कार्यको प्रतिबेदन चुस्तदुरुस्त राख्न पनि आग्रह गरे । अध्यक्ष घलानले पालिकाको लगानीमा संचालित स्रोतसाधनले लगानीभन्दा दोब्बर कार्य प्रगति गराउने जिम्मेवारी पनि पालिकाको जनप्रतिनीधि सहित कर्मचारीको भएकोले त्यसतर्फ ध्यान दिन पनि उनले आग्रह गरे । यसको साथै सेवा दिने बिषयमा सम्झौता नगर्न पनि उनले आग्रह गरे ।

कार्यक्रममा वडा सचिवहरु, बिषयगत शाखा प्रमुखहरुले कार्य प्रगति विवरण, समस्या, चुनौतीको साथै सुझाव समेत प्रस्तुत गरेका थिए । प्रस्तुतीकरणमा वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायतले जिज्ञासा राख्नुको साथै सुझाब दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*