‘अन्यायमा पारे’ सडक विभागलाई प्रतिकारको घोषणा
हेटौंडा-राष्ट्रिय राजमार्गको केन्द्रबिन्दुबाट दायाँबायाँ २५ मिटर खाली गरी सडक बिस्तार गर्ने अभियानमा सरकारी निकाय र नागरिक समाज दुबैले बिना गृहकार्य अभिब्यक्ति दिइरहेका छन् । सरकारी निकायले पनि पर्याप्त गृहकार्य नगरी सूचना प्रकाशन गरेर त्राशदीपूर्ण वातावरणको सृजना गरेको छ । डिभिजन सडक कार्यालयले पनि हेटौंडा बजारमा कति घर भत्कने ? कति क्षति हुने ? कति परिवार पूर्णरुपमा बिस्थापित हुने ? आदि विवरण सार्वजनिक गर्न सकेको छैन ।
नागरिक समाजले पनि २०२० देखि ३० को दसकमा मुआब्जा बितरण भएको जग्गाधनी कति छन् ? मुआब्जा लिन बाँकी कति छन् ? मुआब्जा लिइसकेपछि दोस्रो पक्षलाई जग्गा बिक्री गर्ने कति छन ? आदि विवरण तयार गर्न सकेको छैन । नेपालको संविधानले कुनैपनि नागरिकलाई सुकुम्बासी बनाउने कल्पना गरेको छैन । यदि राजमार्ग बिस्तार गर्दा सुकुम्बासी बन्नुपर्ने अवस्था आयो भने त्यसमा राज्यले पूर्ण जिम्मेवारी लिनुपर्छ ।
हेटौंडाको मुख्य बजारक्षेत्रका २५ गजभित्र पर्ने घरटहर बिनामुआब्जा भत्काउन नहुने र नदिने भन्दै ब्यवसायी र घरधनीले शनिबार हेटौंडाको मुख्यचोकमा विरोध प्रदर्शन गरेका छन् । हेटौंडाको भीमसेन मन्दिरचोकमा भेला भएर हेटौंडाको मुख्य बजारक्षेत्रका २५ गजभित्र पर्ने घरटहर बिनामुआब्जा भत्काउन नहुने भन्दै व्यावसायी र घरधनीले विरोध प्रदर्शन गरेका छन् । राष्ट्रिय राजमार्गको मापदण्ड हेटौंडाका लागि २५ गज र अन्य क्षेत्रका लागि २५ मिटर भनेर अदालतको फैसला आफैंमा बिरोधाभाषपूर्ण छ ।
मकवानपुर उद्योग वाणिज्य संघ र हेटौंडा बसोबास संरक्षण समितिको संयुक्त आयोजनामा विरोध प्रदर्शन गरिएको हो । विरोध प्रर्दशनमा बोल्दै मकवानपुर उद्योग वाणिज्य संघ पूर्वअध्यक्ष, घरधनी र हेटौंडा बसोबास संरक्षण समितिका पदाधिकारीले विरोधसभामा लालपूर्जा भएका घर, जग्गाको क्षतिपूर्ति दिएर मात्र सडक विस्तार गर्न चेतावनी दिएका थिए । यहाँ सरकारले २५ मिटरको क्षेत्र राजमार्गको हुने पनि भनिरहने र त्यसको कर पनि जनतासँग लिइरहने कार्य पनि बिरोधाभाषपूर्ण छ ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ताअग्रवालको अध्यक्षता भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य लक्ष्मीदेवी श्रेष्ठ, मउवा संघका पूर्वअध्यक्ष भुवनलाल श्रेष्ठ, उत्तम शर्माढकाल, मकवानपुरका विभिन्न दलका प्रमुखहरु, विभिन्न व्यवसायी सहभागी थिए । विरोधसभामा सहभागीले बिनामुआब्जा घर भत्काए त्यसको प्रतिकारमा उत्रने चेतावनी दिएका छन् । डिभिजन सडक कार्यालयले १६ साउनबाट हेटौंडा–१५ रातोमाटेदेखि हेटौंडा–१० को राप्ती पुलसम्म एकैसाथ जुनसुकै स्थानबाट सडक विस्तार सुरु गर्ने बताएको छ ।
हेटौंडाको मुख्य बजार क्षेत्रका घरहरु बिनामुआब्जा भत्काउन नदिन उद्योगी, व्यावसायी र घरधनीको शक्ति प्रदर्शन लगातार चलिरहने छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पथलैया–हेटौंडा र हेटौंडा–नारायणगढ सडक खण्डको विस्तारको विषयले यतिबेला हेटौंडा तातिएको छ । हरेकदिन सडक विस्तारको विषयमा कुनै न कुनै बिषयले चर्चा पाइरहेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडाको मुख्य बजार क्षेत्रमा सडक दायाँ, बायाँ २५ गज सडक विस्तार गर्ने सूचना जारी गरेपछि यहाँका घरधनीले लालपूर्जा आफूसँग भएकाले त्यसको मुआव्जा दिएर मात्र भत्काउनका दवाब सृजना गरिरहेका छन् ।
हरेक वर्ष हेटौंडा सरकारलाई कर तिर्दै आएको र त्यो लालपूर्जामा उल्लेख भएको जग्गा बिनाक्षतिपूर्ति भत्काउन नपाउने माग सरकारी निकायले सुन्नुपर्छ । मुआब्जा विवाद र व्यवसायीको व्यवस्थापनको विषयमा हेटौंडा बजार क्षेत्रका नागरिक तथा व्यवसायी सडक तताउने पक्षमा छन् । हेटौंडा बजारक्षेत्रको घरटहराकै कारण सडक विस्तारमा समस्या हुँदै आएको थियो । हेटौंडा बजार क्षेत्रका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गतको पथलैया–नारायणगढ सडक खण्डको विस्तार हुन सकेको छैन ।
हेटौंडा बजार क्षेत्रमा मात्र सडक फराकिलो बनाउने काम अड्किएको हो । यो सडक फराकिलो बनाउने कार्यका लागि एसियाली विकास बैंक र विश्व बैंकले ऋण तथा अनुदान दिन तयारी अवस्थामा रहेका छन् । ३७ वटा देश जोड्ने सडक संजाल ‘एसियन हाइवे’ को ‘ख’ बर्गको रुट नेपालको पूर्वपश्चिम राजमार्ग हो । यो सडक बिस्तार गर्ने चासो एडीबी र वल्र्ड बैंकको अभियानसँग जोडिएको समाचार स्रोतले बताएको छ । सडक बिस्तार गर्न सरकारले नागरिक समाजसँग सम्बाद र छलफल गर्न कन्जुस्यार्इं गरिरहेको पीडित घरधनीहरुले आरोप लगाइरहेका छन् ।







