हेटौंडा बस्न छाडे मन्त्री चित्रकार, ७० दिनदेखि जिम्मेवारीविहीन
हेटौंडा- बागमती प्रदेश सरकारका बीनाविभागीय मन्त्री रामकृष्ण चित्रकार ७० दिनदेखि जिम्मेवारी विहीन छन् ।नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेतासमेत रहेका चित्रकार हेटौंडा–२, स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एउटा कोठामा बसेर दिन कटाइरहेका छन् । आइतबार प्रदेशको मन्त्रिपरिषद् बैठकमा चित्रकारलाई छिट्टै जिम्मेवारी दिने विषयमा छलफल भएको जनाइएको छ । तर, उनलाई ७ जेठ २०७९ मा मन्त्रीको शपथ गराउँदा नै छिट्टै जिम्मेवारी तोकिने आश्वासन दिइएको थियो । सरकार गठनको सुरुवातदेखि नै भागबण्डाको किचलोमा बसेको शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा उनी ७० दिनसम्म मन्त्रालयविहीन भएर बसेका हुन् ।
बागमती प्रदेश सरकारको ६ वर्षे इतिहासमा यति लामो समयसम्म बीनाविभागीय मन्त्री बनेको पहिलो घटना हो । प्रदेशप्रमुख यादवचन्द्र शर्माबाट ७ जेठ २०८० मा बिनाविभागीय मन्त्रीको शपथ लिएका चित्रकारले ७० दिनसम्म मन्त्रालयको जिम्मेवारी त टाढाको कुरा बस्ने क्वाटरसमेत पाएका छैनन् । दुई महिनासम्म होटलमा बसेका उनले भर्खरै हेटौंडामा एउटा कोठा भाडा लिएको साझाकुरालाई जानकारी दिए । चित्रकार प्रदेशसभा निर्वाचनमा विजयी भएपश्चात मुख्यमन्त्रीको दाबेदार थिए । ललितपुर प्रदेशसभा क्षेत्र नम्बर २ (ख) मा ६ हजार ९ सय ९५ मतसहित निर्वाचित भएका उनलाई मन्त्रीको सथप खाए पनि मन्त्रालयका लागि भने संघर्ष गर्नुपरेको छ ।
७ जेठमा चित्रकारसहित ६ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ खाए । कांग्रेसबाट मसिना खड्का भण्डारी वन तथा वातावरण, पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी र उत्तम जोशी स्वास्थ्य मन्त्री बने । तर, दलको उपनेता नै बिनाविभागीय मन्त्री बन्न पुगे । पछि जिम्मेवारी तोकिने विश्वास दिलाएर पार्टीभित्रको विवाद समाधानका लागि तत्कालको लागि मन्त्री बनाइए पनि चित्रकार हालसम्म पनि जिम्मेवारीविहीन भएका हुन् । त्यतिबेला कांग्रेसभित्र मन्त्रीका लागि ठूलै लडाई चलेको थियो ।
बागमतीमा मुख्यमन्त्री जम्कट्टेलले १४ सदस्यीय मन्त्रिपरिषद्लाई ११ सदस्यीय बनाएका थिए । गठबन्धनमा भागवण्डा नमिल्दा उनी आफ्नै निर्णयबाट पछि हट्न बाध्य भएका थिए । जसकारण कांग्रेसका चित्रकारसहित १२ सदस्य मन्त्रिपरिषद् बन्न पुगेको थियो । मन्त्रालय संख्या बढाएर विवादित बन्न नचाहने मनसायमा मुख्यमन्त्री बसेका जम्कट्टेल छन् । चित्रकारलाई जिम्मेवारी नदिँदा भने गठबन्धनमा विवाद देखिन थालेको छ । चित्रकारले राजीनामा दिने चेतावनीसमेत दिएका छन् ।
आफूलाई मुख्यमन्त्री कार्यालयमा राखेर खरिदार कर्मचारीको हैसियतमा पु¥याएको भन्दै चित्रकार रुष्ट छन् । ‘मलाई जिम्मेवारी पछि तोकिने भनेर मन्त्रीको शपथ गराइयो । अहिले मुख्यमन्त्री कार्यालयमा राखेर खरिदार कर्मचारी जस्तो बनाइएको छ । कर्मचारीको दैनिकीले म दिक्क भइसकेँ । अब राजीनामा दिन्छु ।,’ साझाकुरासँग गुनासो पोखे । मुख्यमन्त्रीले तत्काल जिम्मेवारी नदिए राजीनामा दिन बाध्य हुने उनको भनाई छ । तत्कालीन एमाले र राप्रपासँगको गठबन्धन टुटेर नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) सँग मिलेपछि दोस्रोपटक विश्वासको मत लिएर सरकार चलाइरहेका जम्कट्टेल बजेटको तयारी देखाएर चित्रकारलाई पन्छाइरहेका थिए । बजेट पनि सकिएपछि भने चित्रकारलाई थुम्थुम्याउने ठाउँ नदेखिएकाले मुख्यमन्त्री जम्कट्टेल दबाबमा छन् ।
कांग्रेसको आँखा माओवादी केन्द्रका युवराज दुलालले सम्हालिरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयमा परेको छ । प्रदेशको सबैभन्दा ठूलो बजेट हिस्सा ओगटेको भौतिक मन्त्रालय फुटाएर चित्रकारलाई जिम्मेवारी दिनुपर्ने माग कांग्रेसले मुख्यमन्त्री जम्कट्टेल समक्ष राखेको हो । तर, मुख्यमन्त्री जम्कट्टेल भने भौतिक मन्त्रालय फुटाउने पक्षमा नदेखिएपछि कांग्रेसको अडान धरमरमा छ ।
भौतिक मन्त्रालय फुटाएर सहरी विकास तथा भवन हेर्ने गरी छुट्टै मन्त्रालय बनाउनुपर्ने प्रस्ताव कांग्रेसले राखेको हो । चालू आर्थिक वर्ष २०८०÷८१ का लागि सहरी विकास तथा भवनको शीर्षकमा छुट्टै बजेट बिनियोजन भएको छ । बजेटलाई मन्त्रालय विभाजनसँग हेरिएको छ । तर, माओवादीभित्रकै दबाबले यो कार्य रोकिनु पुगेको हो । बिनाविभागीय मन्त्री चित्रकारले हप्ता दिनभित्र मन्त्रालयको जिम्मेवारी पाउनुपर्ने बताएका छन् । सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले केही दिनभित्रै चित्रकारलाई जिम्मेवारी दिने विषयको टुंगो लाग्ने जानकारी दिए । जिम्मेवारी दिने विषयमा छलफल र गृहकार्य भइरहेको उनले बताए ।
बागमती प्रदेशसभामा कुल सातवटा दलको प्रतिनिधित्व छ । प्रदेशसभामा नेपाली कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ मत छ । मुख्यमन्त्रीसहित ४ वटा मन्त्रालय माओवादीसँग, कांग्रेसले आर्थिक मामिलासहित ५ वटा मन्त्रालय लिएका छन् । कांग्रेसले बीनाविभागीय मन्त्री चित्रकारका लागि थप एउटा मन्त्रालय लिन बाँकी छ । एकीकृत समाजवादीले श्रम रोजगार तथा यातायात र कृषि तथा पशुपन्छी विकास मन्त्रालय लिएको छ ।







