थाहानगरमा खानेपानीको ६७ किमि पाइप बिछ्याइयो
हेटौंडा- मकवानपुरको थाहानगरमा निर्माणाधीन पालुङ वृहत खानेपानी आयोजनाको काम करिब ७० प्रतिशत सकिएको छ । दुईवर्ष भित्र सम्पन्न गर्ने लक्ष्यकासाथ निर्माण भइरहेको आयोजना वडा नम्बर १, २, ३ र ४ मा संचालन भइरहेको छ ।करिब १ सय किलोमिटर मुख्य पाइपलाइनमध्ये हालसम्म ६७ किमि पाइप विछ्याइ सकिएको छ भने ३३ वटा ट्याङ्की निर्माण गर्ने लक्ष्य रहेकोमा २१ वटा निर्माण भैसकेको छ ।
थाहा नगरपालिका वडा नम्बर १ मा २१ किमि मुख्य पाइपलाइन विस्तार गरिएको छ । वडा नम्बर १ मा स्किम–१ अन्तर्गत भाटखोलामा ५० हजार लिटर क्षमताको एउटा ट्याङ्की, स्किम–२ अन्तर्गत केदार गोपालीको घरमाथि २० हजार लिटरको, भुटि·ल डाँडा, भवानी घरमाथि र सिस्टन्ड डाँडामा ५÷५ हजार लिटरको ट्याङ्की निर्माण भएको छ ।
त्यस्तै वडा नम्बर १ कै स्किम–३ अन्तर्गत एफएम डाँडामा १५ हजार लिटरको एउटा पानी ट्याङ्की निर्माण सम्पन्न भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्राविधिक प्रकाश पन्तले जानकारी दिए । वडा नम्बर २ मा ६ वटा पानी ट्याङ्की निर्माण सम्पन्न भएको छ भने १४ किमि मुख्य पाइपलाइन विस्तार भएको छ । वडा नम्बर २ मा स्किम–७ अन्तर्गत काफलचौरमा १५ हजार लिटरको ट्याङ्की निर्माण सम्पन्न भएको छ ।
स्किम–६ अन्तर्गत ल्होत्सेपाखा, भोटखोरिया र ठूलोखोरमा १०÷१० हजार लिटरको ३ वटा तथा काइलाबाजेको तगारो र देउराली डाँडामा २०÷२० हजार लिटरको दुईवटा ट्याङ्की निर्माण सम्पन्न भएको छ ।थाहा नगरपालिकाको वडा नम्बर ३ मा ५ वटा ट्याङ्की तथा १२ किलोमीटर मुख्य पाइपलाइन विस्तार भएको छ । यस वडामा स्किम–१२ अन्तर्गत बाउन्ने चौर, गुफाडाँडा, गोपाली गाउँमा ५०÷५० हजार लिटरको ३ वटा, स्किम–८ अन्तर्गत राम्चे खोलामा एउटा र स्किम–१० अन्तर्गत बाहुनगाउँ माझाचौरमा ५०÷५० हजार लिटरको दुईवटा ट्याङ्की निर्माण भएको छ ।
वडा नम्बर ४ मा ४ वटा ट्याङ्कीको काम सम्पन्न भएको छ भने २० किलोमीटर पाइपलाइन विस्तार भएको प्राविधिक पन्तले जानकारी दिए । ४ नम्बर वडाका स्किम–१३ अन्तर्गत आइतबारे डाँडा र तुल्सीचौरमा ५०÷५० हजार लिटरको दुईवटा, चौडालपाखामा ३० हजार लिटरको एउटा तथा स्किम–१४ अन्तर्गत भूपिनडाँडामा ५० हजार लिटर क्षमतको एउटा ट्याङ्की निर्माण सम्पन्न भएको छ ।
त्यसैगरी ४ वटा ट्रिटमेन्ट प्लान्ट निर्माण गर्ने लक्ष्य अनुसार ३ वटाको पूर्वाधार निर्माण कार्य सम्पन्न भएको छ । स्किम–१२ अन्तर्गत पर्ने बाउन्नेचौर, स्किम–१३ अन्तर्गतको तुल्सीचौर र स्किम–१४ अन्तर्गतको कारुलखोला ट्रिटमेन्ट प्लान्टको निर्माण कार्य सम्पन्न भएको पन्तले बताए । स्किम–८ अन्तर्गतको राम्चेखोला मुहानको ट्रिटमेन्ट प्लान्ट भने निर्माण शुरु भएको उनले जानकारी दिए ।
प्राविधिक पन्तका अनुसार–वडागत रुपमा हेर्ने हो भने, वडा नम्बर २ को सबैभन्दा बढी काम सम्पन्न भएको छ भने दोस्रोमा वडा नम्बर ४, तेस्रोमा वडा नम्बर १ र सबैभन्दा कम काम भएको वडा ३ नम्बर रहेको छ । यद्यपि तुलनात्मक रुपमा थाहानगरमा खानेपानीको काम द्रुतगतिमा भैरहेको प्राविधिक पन्तको भनाइ छ । निर्माण व्यवसायीको कामको गतिसँगै उपभोक्ताको तर्फबाट पनि संचालन गर्नुपर्ने कार्यलाई क्रमशः अघि बढाउनुपर्ने उनको भनाइ छ ।







