मकवानपुरमा लागूऔषधको ओसारपसार नियन्त्रण गर्छुः एसपी रिजाल

साझाकुरा
२०८० श्रावण १७, बुधबार १२:१३

हेटौंडा-भारत र नेपालका ठूला सहरहरुमा लागूऔषध ओसारपसारको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै आएको मकवानपुरमा लागूऔषध नियन्त्रण अभियान चलाउने भर्खर सरुवा भएर आएका जिल्लाका प्रहरीप्रमुख प्रहरीउपरीक्षक सीताराम रिजालले बताएका छन् ।उनले मकवानपुर छिमेकी मुलुक भारत र नेपालका ठूला सहरहरुमा लागूऔषध ओसारपसार हुने ‘ट्रान्जिट प्वाइन्ट’को रुपमा मकवानपुर (हेटौंडा) देखिएको बताएका छन् ।

लागूऔषध ओसारपसारसँगै यहाँका युवापुस्तामा पनि लागूऔषध सेवनले ठूला समस्या निम्त्याइरहेको रिजालको भनाई छ । उनले आफ्नो कार्यकालमा लागूऔषध नियन्त्रणलाई प्रभावकारी ढंगबाट अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । एसपी रिजालले जिल्लामा प्रविधिको उच्चतम प्रयोग गरेर शान्ति सुरक्षा कायम राख्न हरसम्भव प्रयास गर्ने बताए ।

प्रहरी उपरीक्षक रिजालले मकवानपुरका सञ्चारकर्मीसँगको भेटका क्रममा यस जिल्ला लागूऔषध ओसार पसार गर्ने केन्द्र जस्तै भएकाले यसको नियन्त्रणका लागि सबैले सहकार्य गर्नु जरुरी रहेको बताए । मकवानपुर भएर गाँजा अफिम लगायतका लागूऔषध निकासी हुने र भारतबाट अरु औषधिजन्य लागूऔषध यहाँ भित्रने भएकाले यसको नियन्त्रणका लागि लागि पर्ने बताए ।

जिल्लाको शान्तिसुरक्षा कायम राख्ने, यहाँ सवारी दुर्घटना तथा गुण्डागर्दी नियन्त्रण आफ्नो प्राथमिकतामा रहेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका पूर्वअध्यक्ष प्रताप विष्टले जिल्लाको भौगोलिक अवस्था र लागूऔषध खेती नियन्त्रणमा विशेष योजना बनाएर अगाडि बढ्न सुझाए । पत्रकार महासंघ मकवानपुरका निबर्तमान अध्यक्ष हरि हुमागाईं, पूर्वअध्यक्ष भानुभक्त आचार्य, प्रेस युनियन मकवानपुर अध्यक्ष सुवास विडारी, पूर्वअध्यक्ष कुमार अधिकारीलगायतले सञ्चारकर्मीलाई सुरक्षित रुपमा समाचार लेख्ने वातावरण बनाउन जरुरी रहेको औंल्याउँदै लागूऔषध नियन्त्रणमा प्रहरी–सञ्चारकर्मी सहकार्य जरुरी रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*