बागमतीमा मन्त्रालय फुटाउने तयारी
हेटौंडा- गठबन्धन दलको नेतृत्वमा रहेको बागमती प्रदेश सरकारमा भागबण्डा पु¥याउन मन्त्रालय फुटाउने तयारी भइरहेको छ ।मन्त्रालय भागबण्डा अनुसार नेपाली कांग्रेसबाट नियुक्त बिनाविभागीय मन्त्री रामकृष्ण चित्रकारलाई जिम्मेवारी दिन मन्त्रालय फुटाउने तयारी भइरहेको हो । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको मन्त्रालय संख्या नबढाउने अडानले ७ महिना पनि टिक्ने नसक्ने देखिएको छ । जम्कट्टेल ११ वटाबाट मन्त्रालय संख्या बढाउन चाहँदैन थिए । राजेन्द्रप्रसाद पाण्डेको कार्यकालमा ८ वटाबाट १४ वटा पुगेको मन्त्रालय संख्यालाई जम्कट्टेलले कार्यदल बनाएर सुझावको आधारमा ११ वटामा झारेका थिए ।
कार्यदलले ९ वा ११ वटा मन्त्रालय उपयुक्त रहेको सुझाव सरकारलाई दिएको थियो । तर, ९ वटा मन्त्रालय बनाउँदा गठबन्धनमा भागबण्डा नपुग्ने भएपछि जम्कट्टेलले ११ वटामा सहमति जनाएका थिए ।अहिले त्यही ११ वटा मन्त्रालय पनि अपुग बनेको छ । बागमती प्रदेशका बिनाविभागीय मन्त्री चित्रकारको जिम्मेवारीको छिनोफानो आज बिहीवार साउन १८ गते हुँदैछ । चित्रकारलाई जिम्मेवारी दिने सहमति सत्ता गठबन्धनका नेताहरुबीच भएको छ । जसअनुसार प्रदेशमा अब १२ वटा मन्त्रालय हुनेछन् । गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा भएको अनौपचारिक छलफलमा मुख्यमन्त्री जम्कट्टेलले १८ गते बिहीबार जिम्मेवारी तोक्ने जनाएको स्रोतले जानकारी दिएको छ ।
बिनाविभागीय मन्त्रीको जिम्मेवारी तोक्ने विषयमा प्रदेशमा कायम रहेको मन्त्रालय विभाजनका विषयमा सत्ता गठबन्धनबीच दलीय सहमति जुट्न सकेको छैन । सहमति जुटाउन काठमाडौँमा सत्ता गठबन्धनको बैठक बस्ने तय भएको हो । बैठक कहाँ र कति बजे बस्ने भन्ने विषयमा जानकारी गराइएको छैन । प्रदेशबाट टुंग्याउनुपर्ने यो समस्या प्रदेशस्तरबाट समाधान हुन सक्ने अवस्था नरहेकाले काठमाडौंमा बैठक राखिएको हो । यसअघि मन्त्रालय भागबण्डा लगाउँदा पनि काठमाडौंमा पटक–पटक बैठक बसेको थियो ।
एक मन्त्रीका अनुसार साउन १८ गते बिनाविभागीय मन्त्रीले जिम्मेवारी पाउने गरी तयारी भइरहेको हो । चित्रकारलाई जिम्मेवारी दिने गरी १८ गते छलफल गर्ने सत्ता गठबन्धनका दलहरुबीच सहमति बनेको थियो । चित्रकारलाई पछि विभाग तोकिने गरी जेठ ७ मा मन्त्री नियुक्त गरिएको थियो । जिम्मेवारी नतोकिएकै कारण मन्त्री नियुक्त भएदेखि हालसम्म उनी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्दै आएका छन् ।
बागमती प्रदेश सरकारको ६ वर्षे इतिहासमा यति लामो समयसम्म बिनाविभागीय मन्त्री बनेको पहिलो घटना हो । प्रदेशप्रमुख यादवचन्द्र शर्माबाट ७ जेठ २०८० मा बिनाविभागीय मन्त्रीको शपथ लिएका चित्रकारले मन्त्रालयको जिम्मेवारी त टाढाको कुरा बस्ने क्वाटरसमेत पाएका छैनन् । दुई महिनासम्म होटलमा बसेका उनले भर्खरै हेटौंडामा एउटा कोठा भाडा लिएको साझाकुरालाई जानकारी दिए । चित्रकार प्रदेशसभा निर्वाचनमा विजयी भएपश्चात मुख्यमन्त्रीको दाबेदार थिए । ललितपुर प्रदेशसभा क्षेत्र नम्बर २ (ख) मा ६ हजार ९ सय ९५ मतसहित निर्वाचित भएका उनलाई मन्त्रीको सथप खाए पनि मन्त्रालयका लागि भने संघर्ष गर्नुपरेको छ ।
कांग्रेसको आँखा माओवादी केन्द्रका युवराज दुलालले सम्हालिरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयमा परेको छ । प्रदेशको सबैभन्दा ठूलो बजेट हिस्सा ओगटेको भौतिक मन्त्रालय फुटाएर चित्रकारलाई जिम्मेवारी दिनुपर्ने माग कांग्रेसले राखेको हो । तर, मुख्यमन्त्री जम्कट्टेल भने भौतिक मन्त्रालय फुटाउने पक्षमा नदेखिएपछि कांग्रेसको अडान धरमरमा छ । भौतिक मन्त्रालय फुटाएर सहरी विकास तथा भवन हेर्ने गरी छुट्टै मन्त्रालय बनाउनुपर्ने प्रस्ताव कांग्रेसले राखेको हो । चालू आर्थिक वर्ष २०८०÷८१ का लागि सहरी विकास तथा भवनको शीर्षकमा छुट्टै बजेट बिनियोजन भएको छ । बजेटलाई मन्त्रालय विभाजनसँग हेरिएको छ । तर, माओवादीभित्रकै दबाबले यो कार्य रोकिन पुगेको हो ।







