बागमतीमा ‘लम्पी स्किन’ नियन्त्रण गर्न अभियान चलाईंदै

साझाकुरा
२०८० श्रावण १८, बिहीबार १२:४२

हेटौंडा- बागमती प्रदेश सरकारले लम्पी स्किन रोग नियन्त्रणका लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ । प्रदेशमा लम्पी स्किन रोगको बढ्दो संक्रमण दर र पशु मृत्युदर न्यूनीकरणका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सप्ताहव्यापी खोप अभियान सुरु गर्ने तयारी गरेको हो ।मन्त्रालयले साउन २५ गतेदेखि ३१ गतेसम्म प्रदेशको १३ जिल्लामा एकैपटक खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

खोप अभियान अन्तर्गत प्रदेशका करिव ४० हजार गाई भैंसीमा लम्पी स्किन रोगविरुद्धको खोप लगाउने मन्त्रालयको लक्ष्य छ । मन्त्रालयले गत साउन १० गते मन्त्रीस्तरीय बैठकबाट ‘लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामको लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन, २०८०’ कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ ।

बागमती प्रदेशका १३ जिल्लामा रोगको संक्रमण फैलिन नदिन र संक्रमणको जोखिम नियन्त्रण गर्न खोप अभियानको तयारी गरिएको मन्त्रालयकी पशु चिकित्सक डा. सृजा वाग्लेले जानकारी दिइन् । उनका अनुसार रोगको संक्रमणको जोखिम तथा संक्रमणबाट हुने सम्भावित क्षति न्यूनीकरण गर्न खोप अभियान सञ्चालनमा मन्त्रालयले जोड दिएको हो ।

लम्पी स्किन रोगको ठोस उपचार नभएकाले रोग नियन्त्रणका लागि खोप अभियान महत्त्वपूर्ण कदम हुने उनले बताइन् । अभियान मन्त्रालयअन्तर्गत रहेका भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रमार्फत सञ्चालन गरिने र दैनिक रुपमा खोप लगाइएका पशुहरुको तथ्याङ्क संकलन गरी सार्वजनिकसमेत गरिने उनको भनाइ छ ।

तीब्र गतिमा फैलिरहेको लम्पी स्किन रोगबाट आर्थिक, सामाजिक क्षेत्रमा सिर्जना भएका नकारात्मक असर नियन्त्रणका लागि मन्त्रालयले प्राथमिकताका साथ प्रतिकार्यका लागि खोप अभियान सञ्चालन गर्न लागेको उनले बताइन् । गाईभैंसीमा लाग्ने संक्रामक विषाणुजन्य लम्पी स्किन रोगको संक्रमणका कारण दुध उत्पादन र पशुको उत्पादकत्वमा उल्लेख्य ह्रास आउने र कृषकहरुले ठूलो आर्थिक क्षतिको सामना गर्नुपरेको वाग्लेले बताइन् ।

लम्पी स्किन रोग झिँगा, लामखुट्टे, कीर्ना जस्ता कीराको टोकाईबाट सर्ने रोगका कारण गाईभैंसीमा अत्यधिक ज्वरो आउने, दानापानी नखाने, छालामा गिर्खा आउने लगायत लक्षण देखापर्ने उनको भनाइ छ ।

खोप अभियान सञ्चालनका लागि मन्त्रालयले तालिका नै बनाएर काम गरिरहेको डा. वाग्लेले बताइन् । मन्त्रालयले खोप अभियान सञ्चालनका लागि भ्याक्सिनेटर नियुक्तिको लागि ७ दिने सूचना प्रकाशन गरी सम्बन्धित स्थानीय तहको समन्वयमा सम्बन्धित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रले साउन २० गतेभित्र भ्याक्सिनेटर छनोट तथा नियुक्ति गरिसक्ने कार्यतालिका बनाएको छ । साउन २५ गते मन्त्रालयले रोगविरुद्ध खोप अभियानको औपचारिक उदघाटन गर्ने र यो कार्यलाई ३१ गतेसम्म निरन्तरता दिइने छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*