बागमतीको भाडादर कागजमा घट्यो, व्यवहारमा घटेन
हेटौंडा- बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडादर सरकारले घटाए पनि व्यवसायीले घटाएका छैनन् । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारीका साधनको भाडादर घटाए पनि प्रदेशका अधिकांश जिल्लामा चल्ने यातायात व्यवासायीले पुरानै भाडादर कायम राखेका छन् ।प्रदेशको राजधानी हेटौंडामा नै व्यवासायीले भाडादर सरकारले तोकेअनुसार घटाएका छैनन् । प्रदेशका १३ वटै जिल्ला र स्थनीय तहमा सवारीको भाडादर नघटेको यात्रुहरुले गुनासो गरेका छन् । बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडादर घटे पनि काठमाडौं उपत्यकामा भाडादर घटेको छैन ।
नेपाल आयल निगम साउन १ गतेबाट ईन्धनको स्वचालित मूल्य प्रणालीमा गएपछि बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको भाडादर घटाएको थियो ।स्वचालित मूल्यप्रणाली अनुसार पाँच प्रतिशत इन्धनको मूल्यमा थपघट हुने बित्तिकै भाडादर सोही अनुसार थपघट हुने व्यवस्था छ । साउन ११ गते मन्त्रालयले भाडादर घटाए पनि उपत्यकाका यातायात व्यवसायीले भाडादर घटाएका छैनन् ।
सुन्धारामा भेटिएका कीर्तिपुर बस्ने विकास खड्काले यातायात व्यवसायीले भाडादर नघटाउँदा विद्यार्थीलाई दैनिक सवारी चढ्दा बढी भाडा तिरिरहनुपरेको बताए । उनले भने, ‘कीर्तिपुर बस्छु पढ्नका लागि कीर्तिपुरदेखि बानेश्वर जाँदा दुईवटा गाडी फेर्नुपर्छ । पुरानै भाडादर अनुसार नै भाडा तिर्दै हिँड्नुपरेको छ । पहिले घटेको भाडादर पनि लागु नहुँदा मजस्ता धेरै विद्यार्थीलाई समस्या भएको छ ।’
सवारी सहचालकले घटेको भाडादर अनुसार भाडा उठाउनु त परको कुरा पहिले रहेको भाडाभन्दा पनि बढी भाडा उठाउँदै आएका छन् । सर्वसाधारणले कीर्तिपुरदेखि सुन्धारासम्म सार्वजनिक सवारी चढ्दा घटेको भाडाअनुसार २६ रुपैयाँ तिर्नुपर्ने हो तर, सहचालकले ३० रुपैयाँ नै उठाउँदै आएका छन् । चानचुन पैसा
छैन भन्दै उनीहरुले भाडादर तोकिएको भन्दा बढी नै उठाउँदै आएका छन्
।नयाँ घटेको भाडादर अनुसार विद्यार्थीले आफ्नो परिचयपत्र देखाएपछि छुटसहित १६ रुपैयाँ तिरे पुग्छ । तर, सहचालकले विद्यार्थीबाट २० रुपैयाँ नै उठाउने गरेका छन् । यात्रु खड्काले भने, ‘दैनिक सार्वजनिक सवारीमा आवतजावत गर्नुपर्छ । कीर्तिपुरदेखि बानेश्वर आउजाउ गर्दा दैनिक १४ रुपैयाँ ठगिँदै आएको छु ।’सुन्धारादेखि बानेश्वरको भाडादर विद्यार्थीका लागि १२ रुपैयाँ हो ।
तर, सहचालकले १५ रुपैयाँ लिँदै आएको उनले बताए । यसरी दुवैलाई जोड्दा १४ रुपैयाँ दैनिक रुपमा ठगिएको उनको दुःखेसो छ ।उनी दैनिक १४ रुपैयाँ ठगिँदा मासिक चारसय २० रुपैयाँ ठगिनुपरेको छ । उनले भने, ‘विद्यार्थी जीवनमा पैसाको बचत गर्दै आफ्ना आवश्यकता परिपूर्ति गर्नुपर्ने हुन्छ । मासिक रुपमा चारसय बढी भएको अनावश्यक खर्च बचाउनसके तरकारी खर्च पुग्ने थियो ।’ सरकारले घटाएको भाडादर कार्यान्वयन नगर्ने सवारीलाई कारबाही गर्नुपर्ने उनको माग छ ।
काठमाडौ उपत्यकामा दैनिक सार्वजनिक यातायात चढ्नेको संख्या हजारौँ छ । यसरी सर्वसाधारण ठगिँदै जाँदा सरकारले घटाएको भाडादर आम सर्वसाधारणले महसुस गर्न पाएका छैनन् ।







