मनहरीको नदीउकास क्षेत्रमा नरिवल खेती

साझाकुरा
२०८० श्रावण १९, शुक्रबार १२:०२

हेटौंडा- मकवानपुरको मनहरी गाउँपालिकाले नदीउकास क्षेत्रको सार्वजनिक जग्गामा नरिवल खेती सुरु गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम तथा गाउँपालिकाको संयुक्त पहलमा मनहरी–४ बनकरिया खेलमैदान नजिकै एक हजार ३६० थान नरिवलको विरुवा रोपेर नरिवल खेतीको सुरुवात गरिएको हो ।नदीउकास क्षेत्रको सार्वजनिक जग्गा संरक्षण गर्न, वातावरण हरियाली बनाउन तथा स्थानीयलाई आयआर्जनसँग जोड्न नरिवलको खेती थालनी गरिएको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताए ।

‘नरिवल खेतीलाई निरन्तरता दिने गरी गाउँपालिकाको नीति तथा कार्यक्रममै समेटेर अगाडि बढेका छौं ।’ उनले भने–गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रमको वन, वातावरण तथा विपत् व्यवस्थापन शीर्षकमा सामुदायिक वन तथा डिभिजन वनको सहयोगमा नदीउकास पर्ती जमिनमा स्थानीयलाई आर्यआर्जन हुने गरी नरिवलको बिरुवा रोप्ने कार्यक्रम सञ्चालन गरेको उल्लेख छ ।

गाउँपालिका अध्यक्ष कालाखेतीले नरिवल रोपेर नदीउकास जमिनको संरक्षण हुनुका साथै बस्ती जोगाउन र आयआर्जनमा जोड्न सहयोग पुग्ने विश्वास लिए । गाउँपालिकाको ४ नम्बर वडा कार्यालयको ३ लाख बजेटमा करिब दुई विगाह १० कठ्ठा क्षेत्रफल सार्वजनिक जग्गामा नरिवल खेती गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको ६ लाख ५० हजार रुपैयाँमा तारजाली, घेराबारा र खेतीको संरक्षण गर्न दुईजना कर्मचारी नियुक्त गरेर संरक्षणको जिम्मा दिएको छ ।

नरिवल खेतीले आर्थिक र वातावरणीय दुवै हिसाबले फाइदा हुन्छ, अध्यक्ष कालाखेतीले भने–‘स्थानीयलाई रोजगारी र आम्दानीको श्रोत पनि बढ्छ ।’ उनले पालिकामा आगामी दिनमा वडा नं ७ मा लिची र अम्बा र ८ मा एभोकाडोको वृक्षरोपण गर्ने तयारी गरिएको जानकारी दिए । नदीउकास जग्गा अतिक्रमणमा पर्ने सम्भावना बढ्दै गएपछि संरक्षणसँगै वडा र गाउँपालिकाको आयआर्जनका लागि स्रोत बढाउने लक्ष्यसहित नरिवल खेती सुरु गरिएको ४ नं. वडा अध्यक्ष प्रकाश थापाले बताए ।

उनले भने ‘अहिले परीक्षणका लागि लगाएका छौं, नरिवल खेतीको गोडमेल, संरक्षणलगायतका काम वडा कार्यालयबाटै हुन्छ ।’ दुईवर्ष पुगेका विरुवा रोपिएको छ, तीन वर्षभित्र नरिवल फल्ने अनुमान छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*